काठमाण्डौमा वायु प्रदूषण बढ्यो : तिहारका बेला पटका पड्काउनु मुख्य कारण

 कात्तिक १७, २०८१ शनिबार १२:१२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौका वायु प्रदूषण बढेको छ । मुख्य कारण तिहारका बेला पड्काउने पटका रहेको विज्ञले बताएका छन् । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० देखाएको थियो । आज बिहान काठमाण्डौको एक्यूआई एक सय ५६ रहेको छ । अस्ति बिहीवार दिउँसोसम्म काठमाण्डौको एक्यूआई एक सयभन्दा कम थियो ।

एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई पहेँलो अनि एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थकर मानिन्छ । यसले मुख्यगरी श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर पार्ने हुन्छ । दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थकर मानिन्छ ।

काठमाण्डौ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआईको मान तीन सयभन्दा धेरै भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रह गरेका छन् ।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै जलवायुका विज्ञ डा. धर्मराज उप्रेतीले पनि तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।   

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया