गाडीमा नक्कली विद्यार्थी

 पुष ११, २०७५ बुधबार १५:४१:४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

भक्तपुरबाट कोटेश्वर, सातदोबाटो, बल्खु हुँदै कलंकी चल्ने बा २ ख ८४३५ नम्बरको बसमा चालकको सिटभन्दा अगाडि लहरै विद्यार्थी परिचयपत्र झुण्ड्याएको देखेर चालकलाई सोधेँ, ‘हैन गुरुले विद्यार्थी परिचयपत्र पनि बेच्नु हुन्छ कि क्या हो ?

गुरुले मुस्कुराउँदै भने ‘यी सबै नक्कली विद्यार्थीका कार्ड हुन्, नक्कलीको बेइज्जत होस् भनेर झुण्ड्याई दिएको ।’

अहिले बजारमा नक्कलीको बिगबिगी नै छ । हामीले खाने नूनदेखि लगाउने सुनसम्म कहीँ चोखो छैन । रासायनिक मल र अत्याधिक बिषादी मिसाइएको नक्कली तरकारी, भिटामिनका नाममा अत्याधिक रासायनिक पदार्थ खुवाएको नक्कली कुखुरा, ब्राण्डको नाम चोरेर उत्पादन गरिएका नक्कली बस्तु, जताफर्के पनि नक्कलीकै हालीमुहाली छ यहाँ । नक्कली गाँजा बेचेछ भनेर केही गँजडी भाइहरुले एउटा चटपटेवालालाई पिटेको खबर सुनेर हाँसो उठेको थियो ‘बिचरा गँजडीहरुलाई पनि सुख छैन ।’

नक्कलीहरुले राज चलाएको यो ‘पवित्रभूमी’मा अर्को नक्कलीको बारेमा पनि सुन्न पाइयो । बितेको एक महिना देखि दैनिक कम्तिमा एक पटक सार्वजनिक यातायातमा यात्रा गरिरहेको छु ।

यो अबधिमा बसका सहयोगी (सहचालक) र विद्यार्थी (सक्कली/नक्कली ?) बीच भएका गल्फती सुन्दा लाग्यो बा २ ख ८४३५ नम्बरको बसका गुरुजीको मुस्कानमा पीडा नै पीडा लुकेका रहेछन् । उनले नक्कलीको फोटो सहित बसमा झुण्ड्याएर को डराउँथ्यो र । यस्तो पीडा उपत्यकामा चल्ने सबै सार्वजनिक यातयातका चालक र सहयोगीले भोगिरहेका छन् । नक्कली विद्यार्थीका पनि बिभिन्न रुप हुँदा रहेछन् । मैंले भेटेका केही रुपको चर्चा गरौं ।

दिदी विद्यार्थी

वालकुमारीमा एक जनायुवती बसबाट ओर्लन लाग्दा १० रुपैयाँको नोट र एउटा परिचयपत्र बसका सहयोगीको हातमा थमाउँछिन् । अल्लारे देखिने सहयोगी भाइले त्यो परिचयपत्र हेर्दै ती युवतीको अनुहारमा एकोहोरो हेरे । युवतीले झर्केर भनिन् ‘केटी देखेको छैन र खाउँलाझैं हेरेको ?’, सहयोगी भाइले जवाफ दियो, ‘हैन कुन एङ्गलबाट यो कार्डको फोटो तपाईंको अनुहारसँग मिल्छ ?’ युवतीले अलि अघि खिचेको फोटो भनिन् । तर सहयोगी मान्न तयार भएन । त्यहाँ गल्फती शुरु भयो । 

गुरुजीले परिचयपत्र मागेर युवतीको अनुहारसँग भिडाए, तर उनलाई पनि पत्यार लागेन । गुरुजीले परिचयपत्र आफूसँगै राख्दै भने ‘अब पाँच रुपैयाँ थपेर झरिहाल्नुस् नत्र तपाईको बेईज्जत हुन्छ ।’, यात्रुले भरिएको बसमा सबैको नजर उनैतिर परेपछि युवतीले पर्सबाट पाँच रुपैयाँ झिकेर सहयोगीको हातमा थमाईन् र गुरुजीसँग परिचयपत्र माग्दै भनिन् ‘दिनु न, बहिनीको कार्ड हो, मार्छे मलाई ।’ क्याबिन सिटमा म सँगै बसेकी एक अधबैंसेले फिस्स हाँस्दै भनिन्, ‘दिदी विद्यार्थी ।’

ईन्ष्टिच्यूट विद्यार्थी

नयाँबानेश्वरमा एक जना भाइले बसबाट ओर्लने बेला सहयोगीलाई १० रुपैयाँ दिंदै भने ‘कार्ड छ’ । बसका सहयोगीले कार्ड हेर्न मागेपछि ती भाइले निकै असजिलो महसुस गर्दै गोजीबाट कार्ड निकाले । नजिकै बसेको मलाई यो भाइको कार्ड माकुनै गडबडी भएको भान भईहाल्यो ।

कार्ड हेर्नासाथ सहयोगी भाइले कोरियाको भाषा पढ्ने कार्डमा त छुट हुँदैन भन्दै हप्काउन थालेपछि केही नबोली पाँच रुपैयाँ थपिदिएर कार्ड फिर्ता मागे । तर सहयोगीले कार्ड गुरुजीलाई दिए, गुरुजीले कार्ड फिर्ता दिंनै मानेन् । अँध्यारो अनुहार लगाएर ती भाइ बसबाट झरेपछि गुरुजी बोले ‘अब सय रुपैयाँ तिरेर बनाओस् न नयाँ कार्ड ।’

म्याद सकिएका विद्यार्थी

सातदोबाटोमा एक युवती बसबाट ओर्लनेबेला पैसा दिंदै कार्ड छ भनेपछि सहयोगीले कार्ड मागे । युवतीले कार्ड दिएपछि अनुहार हेरे र अर्कोतर्फ फर्काएर मिति हेरे । मिति हेरेपछि सहयोगीले तिनै युवतीलाई सोधे दिदी अहिले कति महिना हो ? उनि बोलिनन्, नजिकै रहेकी अर्की महिला बोलिन् पुष, ९ महिना ।

सहयोगीले औंला भाँच्दै भने कार्डको मिति सकिएको ६ महिना भईसक्यो । असारमै म्याद सकिएको कार्ड बोकेर छुट खाने भन्दै सहयोगी भाई कड्किए । युवतीले स्नातक सकेर स्नोत्तकोत्तर शुरु गरेको तर कार्ड बनाउन नभ्याएको जवाफ दिईन् ।

तर सहयोगी मान्न तयार भएनन् । हल्ला बढेपछि गुरुजी बोले, ‘कि कार्ड हुनुपर्‍यो कि ड्रेस चाहियो नि ।’ यात्रुको नजर आफूमाथि परेपछि ती युवती पाँच रुपैयाँ थपेर बसबाट झरिन् । मैले मनमनै सोचें नक्कली विद्यार्थीको हरकतले गर्दा अक्षर नचिन्नेहरुले त सार्वजनिक यातायातको सहयोगीमा पनि काम नपाउने रहेछन् ।

परिचयपत्र विनाका विद्यार्थी

बिहान १० बजेको समय बसमा यात्रु भरिएर ढोकासम्मै झुण्डिनु परेको थियो भने सडक पनि गाडीले भरिएको थियो । कौशलटारबाट कोटेश्वर पार गर्न सवारी चापका कारण झण्डै एक घण्टा लाग्यो । कोटेश्वरमा ओर्लिने एक हुल यात्रुमध्ये एक युवाले १० रुपैयाँ दिंदै भने कार्ड छ ।

पैसा उठाउन र मान्छे चढाउन भ्याई नभ्याई भएको बेलामा पनि ती सहयोगीले कार्ड हेरौं भनेपछि ति युवाले भने ‘छ भनेपछि भएन’, छ भन्दैमा हुने भए त म के/के पो छ भन्थें, देखाउनु पर्‍यो नि, सहयोगीले रिसाउँदै भने ।

पछाडिबाट अरु सवारी साधनको हर्न बज्दा पनि प्रवाह नगरी परिचयपत्र मागि नै रहे । ती युवाले गोजी छामछुम गरे । अनि पाँच रुपैयाँको नोट थमाएर बाटो लागे । ती सहयोगीले सुन्नै नसक्ने शव्दमा गालीगर्दै भने, ‘हुलमुलमा झुक्याउन खोजेको ।’

परिचयपत्र बनाउने विद्यार्थी नेता

बसको पछाडिको लामो सिटमा थिएँ । त्यो सिटमा अरु चारजना युवा पनि थिए । उनीहरुको गन्तव्य आईपुग्ने बेलामा पैसा तिर्ने कुरा चल्यो । उनीहरुमध्ये एक जनाको परिचयपत्र रहेछ । उसले अरु साथीलाई सुझाव दिंदै भन्यो मेरो एउटा साथी विद्यार्थी नेता छ, उसलाई तिमीहरुको पनि कार्ड बनाउन लगाई दिन्छु । मेरो पनि उसैले बनाई दिएको ।

यसो अलिअलि दिए भईहाल्छ, एक वर्षसम्म दिनको १० रुपैयाँ जोगिन्छ । एउटा युवा बोल्यो नक्कली बनाउने होला । शुरुकोले जवाफ दियो हस्ताक्षर त नक्कली हो नि । क्याम्पसको छाप, स्टिकर सबै हुन्छ कसले चिन्छ र ? मलाई भने हाँसो उठ्यो, ‘नक्कली कार्ड बनाउने विद्यार्थी नेता !’

सार्वजनिक यातयातमा यात्रा गर्दा विद्यार्थीका यी बहुरुप दैनिकजसो देख्न सकिन्छ । हरेक जसो यात्रामा सार्वजनिक यातायातका सहयोगी र विद्यार्थी यात्रुबीच गल्फती चलिरहेको देख्दा लाग्छ यो विद्यार्थीका लागि सुबिधा हो कि ठग्ने बाहना खोज्नेहरुको साधन ? यो विद्यार्थीको हितमा गरिएको विशिष्ट व्यवस्था हो ।

नक्कली विद्यार्थी बनेर ठगी गर्ने छुट कसैलाई छैन । हो सार्वजनिक यातायातमा व्यवसायीहरुको मनोमानी छ, उनीहरुलाई सुधार्नुपर्छ, नागरिकले पनि उसै गर्ने हैन । सभ्य समाज निर्माणको लागि नागरिक सभ्य बन्न थाल्नुपर्छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया