पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण ...
मंसिर १८, २०८१ मंगलबार
बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दाेलनमा लगेका थिए ।
त्यो २०६०/६१ सालको कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारी सँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुपर्यो त्यो क्षण सम्झिँदा पनि अहिले उनका आँखा रसाउँछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सेसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् ।
तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन ।
दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) ४/५ वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् । उनी माओवादीको समूहबाट भागे तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।
‘धेरैसँग हार गुहार समेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्याइदिन चाहेनन्, उल्टै आफूहरुले पाल्ने र आफैसँग बस भनेर भन्थे ,’ उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइनँ, एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।’
भोकै र चिसो सडकमै सुतेर बिते कैयौँ रात
आफूले नचिनेको ठाउँमा सबै कुरा विराना हुन्छन् । कालेलाई पनि कसले चिनेको थियो र ? उनी एक छाक खाना र रातको बास बस्न कहाँ कहाँ भौतारिएनन् ।
कहिले सडक पेटीमा, कहिले बीच जंगलमा जहाँ पायो त्यही सुत्दै उनले कति रातहरु गुजारे । सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले ।
बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनी ठ्याक्कै सम्झिदैनन् । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले । कहिले होटेलमा भाँडा माझे, कहिले कसैको भारी बोकिदिए त कहिले गाडीमा सहचालकको काम गरेर उनले जसोतसो एकसरो ज्यानलाई पाल्न थाले ।
उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी
बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । ओठमा हल्का जुँगाको रेखी टल्कियो । कामको अनुभव बढ्दै गयो । ठेकेदारहरुलाई चिन्न थाले । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले ।
कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायासँग भयो ।
कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा उनी रोल्पाको दुर्गम गाँउ माडी गाउँपालिकाको वडा नम्बर एक जबाङ गाँउका भएको पत्ता लाग्यो ।
वर्षौसम्म घरबाट बिछोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट उनलाई उनको घर सम्म पुर्याइदिए ।
गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । विभिन्न मिडियामा समाचार प्रकाशन भयो । त्यसपछि त उनको घर समेत पत्ता लाग्यो ।
परिवारमा खुसी
सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको परिवारमा एकाएक खुशी छायो ।
उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसक्नुभएकाे थियाे । ‘भिडन्तमा परेर छोराको मृत्यु भैसकेको होला भन्ने सोचेका थियौँ,’ उहाँले आँखा रसिलाे पार्दै भन्नुभयाे, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ । तर कतै पनि पत्ता नलागेपछि आशा नै मारिसकेका थियौँ । धन्न छोरा जीवितै रहेछ ।’
प्रताप घर्तीलाई उनको घरसम्म पुर्याउन जानुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भन्नुभयो, ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पुरर्यायौँ । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागत समेत गरे ।’
सबैले युद्धकालमा नै मृत्यु भैसकेको भनेर आशा नै मारिसकेका रहेछन् । प्रताप पनि आफ्नो जन्मभूमी पुग्दा भक्कानिएर रोए ।
प्रतापको घर अहिले पनि खरले नै छाएको छ । ‘हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो जनआन्दोलन गरे‘, प्रतापका बुबाले टेलिफोन कुराकानी मार्फत दुखेसो पोख्नुभयो, ‘ परिवर्तन त हुने खानेहरुका लागि मात्रै रहेछ । हामीहरुजस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन ।’
प्रतापकी दिदि मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलविर घर्तीले बताउनुभए अनुसार मन कुमारी पनि अहिले जीवितै छिन् । उनी त्यतिबेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।