त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा पर्यटनमन्त्री पाण्डेक...
मंसिर १८, २०८१ मंगलबार
बझाङ – वि सं २०७४ सालमा गाउँमा नै बर्थिङ सेन्टर स्थापना हुने भनेपछि मष्टा गाँउपालिका –४ का स्थानीय बासिन्दा खुशीले दंग भए । त्यतिबेला सबैलाई लागेको थियो अब तीन/चार घण्टा हिँडेर सुत्केरी गराउन सदरमुकामसम्म पुग्नु पर्दैन ।
स्थानीयकै सहयोगमा बर्थिङ सेन्टर बन्ने भयो । स्थानीय मंगल कठायतले बर्थिङ सेन्टर स्थापनाका लागि निःशुल्क जग्गा दान गर्नुभयो । गाउँकै मानिसले सुविधा पाउने भएकाले उहाँले आफ्नो खेतीयोग्य जमिन बर्थिङ सेन्टरका लागि उपलब्ध गराउनुभयो । ०७४ सालमा नै बर्थिङ सेन्टर निर्माणको काम सम्पन्न भयो ।
स्थानीय महिलाहरुले खोलाबाट ढुंगा, माटो बोकेर र पुरुषहरुले ढुंगा फुटाएर एक महिनामा नै बर्थिङ सेन्टरका लागि भवन निर्माण गरे । निर्माण भएको एक वर्षपछि वडा कार्यालयले तामझामकासाथ बर्थिङ सेन्टरको उद्घाटन गर्यो । उद्घाटन भएको दोस्रो दिन बर्थिङ सेन्टरमा ताला लाग्यो । त्यो ताला अहिलेसम्म खोलिएको छैन । भवन बन्यो । उद्घाटन पनि भयो । तर पनि बर्थिङ सेन्टरमा काम गर्ने कर्मचारी भएनन् । दक्ष कर्मचारी नहुँदा स्थानीयले देखेका सबै सपना चकनाचुर बन्यो ।
अहिले पनि सामान्य उपचारका लागि स्थानीय सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा पग्छन् । ‘गाउँमा नै बर्थिङ सेन्टर निर्माण भएपछि सुत्केरी महिलाले पहिलेजस्तो दुःख पाउनु पर्दैन भनेर ढुंगा बोकियो । तर घर मात्र बन्यो अरु त सब उस्तै’, स्थानीय सुनादेवी कठायतले दुखेसो पोख्नुभयो । ‘सदरमुकामको अस्पतालसम्म पुग्न गाह्रो छ । कति पय महिलाहरु त ज्यानकै बाजी राखेर घरमा नै सुत्केरी हुने गरेका छन् ।’ उहाँले भन्नुभयो ।
स्थानीयले निर्माण गरेको यो बर्थिङ सेन्टरमा २४ घण्टा खानेपानीको व्यवस्था, सोलार, शौचालयसमेत रहेको छ । तर सेन्टरमा बस्ने कर्मचारीको टुङ्गो नलागेका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन । वडा कार्यालयको आर्थिक सहयोगमा झण्डै २ लाख रुपैयाँको लागतमा २०७५ सालमा नै आवश्यक औषधि तथा विभिन्न सामाग्रीसमेत बर्थिङ सेन्टरका लागि खरिद गरिएको थियो । त्यतिबेला खरिद गरेको औषधि पनि अब काम नलाग्ने भइसेको स्थानीय बताउँछन् ।
पछिल्लो समय पनि स्थानीयले पालिकामा बर्थिङ सेन्टर सञ्चालनका लागि अनुरोध गर्दै आएका भए पनि सुनुवाइ हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका कारण पनि बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको स्थानीयको आरोप छ ।
यता, बर्थिङ् सेन्टर सञ्चालनका लागि पटक–पटक गाउँपालिकादेखि विभिन्न निकायसम्म कुरा गरेको भए पनि कतैबाट सुनुवाइ नभएको वडा नम्बर ४ का वडाध्यक्ष प्रयागराज उपाध्याय बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको बैठकमा स्वास्थ्यकर्मीकोे माग राख्दै बैठेक बहिस्कार समेत गरेको छु । तर पनि सुनुवाइ भएको छैन ।’
मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत भने स्थानीय बासिन्दाको विवादका कारण बर्थिङ् सेन्टर सञ्चालनमा आउन नसकेको बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।