शुक्रबारदेखि पोखरामा आठौँ नेपाल साहित्य महोत्सव हुँदै

 मंसिर २४, २०७६ मंगलबार १९:४:२४ | सुमन गुरुङ
unn.prixa.net

कास्की – बुकवर्म फाउण्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीको आयोजनामा पोखराको वाराही चोकमा आठौँ नेपाल साहित्य महोत्सव हुने भएको छ ।

आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सव मंसिर २७–३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।

पर्यटकीय नगरी लेकसाइडको फेवातालको किनारमा हुने महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । महाेत्सवका निर्देशक अजित बरालले फेस्टिबलमा यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई समेटिने बताउनुभयो । योभन्दा अगाडि पुरानै अनुहार दाहोरिएको सुझावलाई मध्यनजर गरी यो वर्ष केही सुधार गर्न खोजेको उहाँको भनाइ थियो ।

४ दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा पूर्व अर्थ मन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रहने बरालले बताउनुभयो ।

र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगको दाबी गर्नभएको छ । यो महोत्सवले पोखराको पर्यटनमा टेवा पुग्ने पनि उहाँको भनाइ थियो । पोखरामा आयोजना हुँदा साहित्यमा नवप्रवेशीहरुलाई पनि धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको यो महोत्सव सुरुमा पर्यटन बोर्डको परिसरमा भएको थियो । त्यसपछि भने लेकसाइडको वाराही चोकमा हुँदै आएको छ ।

महोत्सवको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।

यो पुरस्कार नेपाली साहित्यकारको लागि पनि नजिकको पुरस्कार भएको बरालले बताउनुभयो । यस पुरस्कारको शर्ट लिस्टमा अमिताभ बग्चीको ‘हाफ द नाइट इज गोन’, जमिल जान कोचाइको  ‘नाइन्टी नाइन नाइट्स इन लोगार’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘देअर इज अ गनपावडर इन द एअर’, राजकमल झाको ‘द सिटी एण्ड द सी’ र सदिआ अब्बासको ‘द एम्प्टी रुम’ रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया