पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
मैले प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा रहेर वैदेशिक रोजगारीमा गएर समस्यामा पर्ने श्रमिकका लागि काम गर्न थालेको तीन वर्ष पूरा भएको छ । यो अवधिमा मैले वैदेशिक रोजगारीका थुप्रैखाले समस्यामा केन्द्रित रहेको काम गरें । देश छाडेर परदेश जानेहरु सबैजना कमाएर राम्रै गर्छु भनेर जानुभएको हुन्छ ।
काम गरेर कमाउन परदेश गएका मानिस एकाएक आफन्तबाट टाढा हुनु र सम्पर्क बाहिर बस्ने अनेक कारण छन् । कोही बाध्यताले बेखबर हुन्छन् त कोही जानीजानी । कारण जे होस् सात समुद्र पारी पुगेका आफ्ना मानिसको खबरसमेत नआउँदा परिवारका मानिसले चाहिँ पलपल जिउँदै मरेजस्तो हुनुपर्छ । तर कमाउँछु भनेर विदेश पुग्ने सबैका सपना पूरा हुँदैनन् । सपना अधुरा हुन थालेपछि कतिपय त परदेशमा आफैं हराउँछन् । उनीहरु परिवारसँग टाढा हुन थाल्छन् । परिवारसँग कतिपयको सम्बन्ध टुट्छ ।
खोज्ने कहाँ ? कतिपय परिवारका सदस्यलाई त आफ्नो मानिसको पासपोर्ट नम्बर समेत थाहा हुँदैन । परदेशमा आफ्ना मान्छेले काम गर्ने कम्पनी पनि थाहा हुँदैन । यस्तो अवस्थामा खोज्न पनि गाह्रो हुन्छ । त्यसैले परिवार र परदेशी दुवैले एकअर्कालाई बुझ्न पर्छ ।
पीएनसीसीमा आएको केसलाई विष्लेशण गर्दा विदेश गएकाहरु उतै सम्पर्कविहीन हुने विभिन्न कारणहरु पाइएको छ । कतिपय श्रमिकहरु विदेश पुगेपछि विभिन्न कारणले कम्पनी छाडेर भाग्नुहुन्छ र गैरकानुनी रुपमा काम गर्नुहुन्छ । यस्तो अवस्थामा केही भइहालेमा अथवा जेल पर्दा पनि परिवारसँग सम्पर्क टुट्छ ।
उनीहरुले आफ्नो अवस्थाको बारेमा बताउन भ्याएका हुँदैनन् । कतिपय चाहिँ घरमा ऋण हुन्छ । उता कमाइ हुँदैन । यस्तो अवस्थामा परिवारले पैसा पठाउ भनेर दबाब दिने र कमाइ नहुँदाको तनाबले पनि कतिपय परिवारको सम्पर्कमा रहन नचाहेको पाइएको छ ।
कतिपय श्रमिकको मृत्यु हुन्छ । कानुनी हैसियतमा हुँदा त कम्पनीले खबर गर्छ तर अवैधानिक अवस्थामा हुँदा परिवारलाई खबर गरिदिने कोही हुँदैनन् । त्यस्तो अवस्थामा पनि बेखबर हुने हुन्छ । कतिपयलाई चाहिँ घरेलु श्रमिकका रुपमा जानुभएको छ र रोजगारदाताले घरमा सम्पर्क गर्न नदिने गर्ने गरेको पनि पाइएको छ ।
कतिपय चाहिँ परदेशमा प्रेम सम्बन्धमा पर्ने र त्यसमै भुल्ने गरेको पनि पाइएको छ भने कतिपय चाहिँ जानीजानी परिवारसँग सम्पर्कमा रहन नचाहेको पनि पाइएको छ । हुन त उहाँहरुको व्यक्तिगत कुरा हो । तर परदेशी र घरदेशीबीच सम्बन्ध टुट्दा गाह्रो दुवै तिर हुन्छ । त्यसैले परदेशी र परिवारका सदस्य दुवै पक्षले विशेष ध्यान पुर्याउन पर्छ ।
परदेश गएकाहरु जे कारणले भए पनि यदि परिवारसँग सम्पर्क टुट्यो भने खोज्न कठिन हुन्छ । अझ सम्पर्कमै आउन नचाहनेलाई सम्पर्कमा ल्याउन झन गाह्रो छ । कतिपय त फोन लाग्दा पनि नउठाउने, ब्लक गरिदिने गर्नुहुन्छ ।
साथै जेलमा परेर परिवारसँग सम्पर्क टुटेको छ भने पनि श्रमिकको अवस्था पत्ता लगाउन मुश्किल पर्छ । जेलमा रहेको अवस्थामा परिवारमा सबै कुरा थाहा पनि हुँदैन । अझ कतिपयलाई त मेरो मानिस यो देशमा गएको भन्ने पनि जानकारी हुँदैन ।
कम्पनी, पासपोर्ट नम्बरहरु केही पनि हुँदैन । त्यस्तो हुँदा जेलमा नै परेको रहेछ भने थाहा हुँदैन । कम्पनीकै बारेमा परिवारलाई थाहा भएन भने खोज्न कठिन हुन्छ ।
हुन त हामीकोमा आउनेहरुको हकमा हामी सक्दो प्रयास गर्छौं । सबै डिटेल लिन्छौं । पहिला त पासपोर्ट नम्बर नै खोज्छौं । श्रम चेक गर्दा नै गन्तव्य देश पत्ता लाग्छ।
कम्पनीको नम्बर खोजेर सम्पर्क गर्छौं । यदि म्यमानपावर कम्पनीबाट गएको छ भने सजिलो हुन्छ । खोजीको बाटोमा म्यानपावरले पनि सहयोग गर्छ । तर व्यक्तिगत श्रम स्वीकृति लिएर गएको छ भने अलि कठिन हुन्छ ।
अझ विमानस्थलको प्रयोग नगरी गएको अवस्थामा झन गाह्रो हुन्छ । पासपोर्ट नम्बर पनि हुँदैन विदेशबाट गरेको सम्पर्क नम्बरहरु पनि फेरि फोन लाग्दैन । अन्तिम पटक फोन गरेका नम्बरबाट पनि खोज्ने प्रयास त गर्छौं । कतिपय अवस्थामा सञ्चार माध्यमको प्रयोग गरेर पनि गर्ने खोजी चाहिँ गरेका छौं ।
पीएनसीसीमा गएको ६ वर्षमा परदेशमा सम्पर्कविहीन भएका ३८८ जनाका परिवारले खोजीको आग्रह गर्दै निवेदन दिनुभएको थियो । तीमध्ये हाम्रो प्रयासमा २३१ जनालाई चाहिँ सम्पर्कमा ल्याएका छौं ।
दूतावाससँग, म्यानपावरसँग समन्वय गरेर पनि खोजी गर्छौं । सबै निकायको समन्वय हुँदा चार पाँच दिनमै पनि भेटिएका थुप्रै उदाहरण पनि छन् । तर त्यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कागजात नै हो ।
हुन त हामी पहिलेको जस्तो अहिले चिठीपत्र आदानप्रदान गर्ने युगमा छैनौं । सामाजिक सञ्जालले हामीलाई सँगै जोडेको छ । तर भोलि कस्तो परिस्थिति आइपर्छ कसले देखेको छ र ? कमाउँला, बाँकी जीवन सुखैमा बिताउँला भनेर नै हो जाने त । तर परिस्थिति सधै आफू अनुकूल नहुन सक्छ ।
त्यसैले भैसकेपछि पछुताउनुभन्दा पूर्वतयारी गर्नु उपयुक्त हुन्छ । त्यसैले तपाईँका आफन्त कोही परदेश जाँदैछन् या परदेशमै छन् भने कुन ठाउँमा हो, कुन कम्पनी हो, कम्पनीको सुपरभाइजरदेखि साथीभाइको पनि जानकारी परिवारलाई दिन पर्छ । ताकी तपाईंलाई भोलि भैपरी आउँदा उद्धार गर्न सजिलो हुन्छ । परिवारले पनि आफ्नो मानिसको बारेमा यी कुरा जान्नु पर्छ ।
त्यस्तै वैदेशिक रोजगारीको क्रममा जति पनि कागजात बन्छन्, ती सबैको एकप्रति राख्नु पर्छ । जस्तै भिसा, करारपत्र, बीमाको प्रति, म्यानपावरको सम्पर्क नम्बर, पासपोर्टको फोटोकपी, मेडिकल लगायतका सबै कागजात एकप्रति घरमा पनि छाड्नु पर्छ र आफूसँग पनि राख्नु पर्छ ।
खाडीका देशमा कतिपय कम्पनीले तपाईं विदेश पुगेपछि पासपोर्ट तपाईंलाई दिंदैनन् । त्यसैले यस्तो अवस्थामा यी कागजातको कपी भएमा सजिलो हुन्छ । कहिले एउटा कम्पनीमा श्रम स्वीकृति लिएको हुन्छ काम चाहिँ अर्कोमा लगाउँछ । त्यसैले आफूले काम गरिरहेको कम्पनीको जानकारी परिवारलाई दिनु पर्छ ।
यी कागजात नहुँदा कतिपय त्यस्ता उदाहरण छन्, जसलाई हामीले खोज्नै सकेका छैनौं । विदेशमा काम गर्ने कम्पनीको बारेमा थाहा नहुँदा दूतावाससँग पनि समन्वय गरेर खोज्न गाह्रो हुन्छ । साउदी मात्र भनेर हुँदैन ।
साउदी पनि ठूलो छ कहाँ कहाँ मात्र खोज्ने हुन्छ । त्यसैले तपाईँ सबैलाई यी कुरामा ध्यान दिए भोलि परिआउने अप्ठ्यारोमा सहज हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।