नेपालकाे अर्थतन्त्रमा काेराेनाकाे कहर

 फागुन २२, २०७६ बिहीबार ९:४३:५७ | डा. केशव आचार्य
unn.prixa.net

कोरोना भाइरसको सङ्क्रमण हाम्रो छिमेक चीनबाट फैलिन सुरु भएको हो । सङ्क्रमणले विश्वमा महामारीको रुप लिँदैछ । यसको प्रभाव नेपालमा मात्र परेकाे होइन । कोरोना भाइरसको प्रकोपका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले भर्खरै विश्वको आर्थिक वृद्धिदर घटाएको छ ।

पहिले विश्वको आर्थिक वृद्धिदर तीन/साढे तीन प्रतिशत हुन्छ भनेको थियो । यसले गर्दा अमेरिका, जापान र युरोपमा आर्थिक वृद्धिदर घट्ने भयो । चीनको त्यसै पनि आर्थिक वृद्धिदर घटेर सन् २०१९ मा साढे ६ प्रतिशतको अनुमान गरिएको थियो । अहिले ६ प्रतिशतमा झरिसक्यो । के अनुमान छ भने कोरोना भाइरस चाँडै नियन्त्रणमा आएन भने चीनको पनि आर्थिक वृद्धिदर अझै घट्छ । 

कोरोना भाइरसको प्रकोपले हामीलाई दुई हिसाबले प्रभावित पार्छ । एउटा प्रत्यक्ष र अर्को अप्रत्यक्ष । अप्रत्यक्ष प्रभाव कस्तो भइदियो भने संसारभरि नै अहिले आवागमनहरु एकदमै घटिरहेको छ । तत्काललाई नेपालमा उल्टो छ । नेपालमा स्टक बजार तीन चार वर्षपछि अहिले एकदम बढेको छ । एघार सयबाट पन्ध्र सय पुग्यो । तर हङकङ, जर्मनी, अमेरिका र अरु युरोपेली देशको स्टक एक्सचेन्ज बेस्सरी घटेको छ ।

स्टक एक्सचेन्ज घट्नु भनेको एउटा सङ्केत हो । यसले त्यहाँका उद्योगी व्यापारीहरुले आउँदा दिनहरु राम्रो छैन भन्ने बुझेर शेयरमा लगानी नगर्ने भने । त्यही कारणले स्टक मार्केटमा गरेको लगानी उनीहरुले सुनमा लगाइदिए । त्यसैले अहिले संसारभरि सुनको माग भयानक बढेको छ । त्यसैले नेपालीहरुले प्रतितोला ८० हजारभन्दा बढी रुपैयाँ तिर्नुपरेको छ । यिनीहरु अप्रत्यक्ष प्रभाव भए । 

कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई प्रभाव पार्ने र विश्व अर्थतन्त्रले नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने निश्चित छ । सरकारले केही महिनाअघि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्‍यो । हाम्रो पर्यटन मन्त्रीले अस्ट्रेलिया गएर नेपाल भ्रमण गर्न आउनुस् भन्नुभयो । चीनमा पनि गएर नेपाल कोरोनामुक्त छ, भ्रमण गर्न आउनुस् भनेर भन्नुभयो । तर पछिल्लो समय सरकारले नै भ्रमण वर्षको उद्देश्य फेर्नुपर्‍यो भनेको छ । आन्तरिक पर्यटक बढाउनुपर्‍यो भन्दै छ । यो कोरोना भाइरसको पहिलो प्रत्यक्ष प्रभाव भयो ।   

सन् २०१९ को डिसेम्बरमा मैले के अन्दाज गरेको थिएँ भने चिनियाँहरुले कोरोना भाइरसको सङ्क्रमणलाई एक/दुई, हप्तामा ठिक पार्छ र केही पनि हुँदैन । तर अहिले युरोप, जापान, कोरिया र अमेरिकासम्म यसको सङ्क्रमण फैलिसक्यो । अमेरिकी राष्ट्रपति ट्रम्पले भाइरसको सङ्क्रमणलाई राम्रोसँग ‘ह्यान्डल’ गरिरहनुभएको छैन भनेर अमेरिकी जनता र मिडियाले कुरा उठाइरहेका छन् । अफ्रिकाको नाइजेरियासम्म कोरोनाको सङ्क्रमण पुगिसक्यो । ल्याटिन अमेरिकामा मात्रै पुगेको छैन । त्यसैले चिनियाँ पर्यटकबाट हुने हाम्रो आम्दानी सिधै घट्यो । 

हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले चीनका विभिन्न शहरमा उडान गर्थे । ती उडान पूर्णरुपमा बन्द भयो । पर्यटक नआउँदा होटलहरु मात्र खाली हुने भएनन् । ट्रेकिङमा नेपाल आउने पर्यटक पनि धेरै हुन्छन् । ट्रेकिङ खर्चिलो छ । उनीहरु नेपाल आउँछन् र ठमेलमा गएर बुट, हिउँमा हेर्ने चश्मा, ज्याकेट र अन्य बोक्ने सामानहरु किन्छन् । ती सबै सामानको बिक्री घट्यो ।

त्यसैले पर्यटनबाट हुने आम्दानीमा होटेलको मात्रै होइन, पर्यटकहरुले नेपालमा खपत गर्ने वा हाम्रो देशबाट विदेश जाँदा उनीहरुले कोसेली लिएर जाने सामानको बिक्री पनि घट्यो । अर्को प्रत्यक्ष प्रभाव भनेको भारतका धेरै औषधि चिनियाँ कच्चा पदार्थमा आधारित छन् । यस्तै चीनबाट कच्चा पदार्थ ल्याएर नेपालमा पनि औषधि उद्योगहरुले राम्रो गरिरहेका छन् । चीनबाट भारत हुँदै आउने कच्चा पदार्थ रोकिएपछि नेपाली औषधि नराम्रो असर पर्न थालिसकेको छ ।      

नेपालमा राम्रो गरिरहेका केही व्यवसायहरुमा छाला तथा कपडाको जुत्ता, औषधि र फलामहरु हुन् । नेपालका औषधि उद्योगहरुले झण्डै–झण्डै हाम्रो आधा माग पूरा गरेका छन् । भारतमा औषघि महँगो भएको छ । भारत हुँदै नेपाल भित्रिने चिनियाँ कच्चा पदार्थ आइरहेकै छैन । त्योभन्दा पनि खतरा कतिपय विकास आयोजनाजस्तै जलविद्युत्, सडक र विमानस्थलमा चिनियाँ ठेकेदार, इन्जिनियर, प्राविधिक र कामदारहरु संलग्न छन्, उनीहरु चिनियाँ नयाँ वर्षमा घर गएका थिए । त्यही बेला चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलियो ।

उनीहरु नआएर भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना र तामाकोशी जलविद्युत् आयोजना र अरु थुप्रै आयोजना प्रभावित भएका छन् । नेपालीहरुले सञ्चालन गरिरहेका थुप्रै आयोजनामा चिनियाँ ठेकेदारहरु छन् । त्यसैले हाम्रो विकास आयोजना सम्पन्न हुन ढिलो हुने भयो । 

अप्रत्यक्ष प्रभाव हेर्ने हो भने दक्षिण कोरियामा धेरै मान्छेकाे ज्यान गइसक्याे । नेपालबाट कामदारहरु कृषि र उद्योगमा काम गर्न कोरिया गइरहेका हुन्छन् । जापानमा पनि गइरहेका हुन्छन् । केही गरी कोरिया, जापान, इरान र कतारको सरकारले हामी तिमीहरुलाई उपचार गर्न सक्दैनौँ, आफ्नै देशमा गएर उपचार गर भनेर नेपालीलाई फिर्ता पठाइदियो भने नेपाल सरकारले स्वास्थ्यमा विनियोजन गरेको बजेट धेरै नै बढ्छ । सङ्क्रमित नेपालीहरु फर्किएर आए भने उनीहरुले अरु नेपालीमा भाइरस सारिदिन्छन् । त्यसैले यसले हाम्रो आर्थिक वृद्धिदरमा र हाम्रो आयात निर्यातमा धेरै नराम्रो असर पार्छ । 

कोरोना भाइरसको महामारीले नेपालको आर्थिक वृद्धिदरमा अवश्य नै असर गर्नेछ । निर्माणाधीन विमानस्थलमा चाहिने सामानहरुबाट सरकारलाई १३ प्रतिशतको मूल्य अभिवृद्धि कर आउने हुन्छ । तर कोरोनाको प्रभावले सरकारको राजश्व पनि घट्ने  भयो । उनीहरुले खर्च नगरेपछि र आयोजनाहरुको निर्माण अवरुद्ध भएपछि पनि आर्थिक वृद्धिदरमा प्रतिकूल प्रभाव पर्ने भयो । 

अहिले यो फागुन महिना हो । यदि साढे चार महिनासम्म यस्तै अवस्था रह्यो भने गैरकृषि क्षेत्र र खासगरी निर्माण क्षेत्र नराम्ररी प्रभावित हुन्छ । यसरी कुल ग्राहस्थ उत्पादनमा निर्माण क्षेत्रको उल्लेखनीय योगदान रहेकोले यसले आर्थिक वृद्धिदरलाई पनि असर गर्छ । हाम्रो सरकारले यो वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्छु भनेको छ । यदि मैले भनेजस्तै निर्माण क्षेत्र सुस्त हुने हो भने यसले झण्डै १ प्रतिशत आर्थिक वृद्धिदरमा प्रभाव पार्ने निश्चित छ । 

सरकारले भनिसक्यो कि नेपाल भ्रमण वर्ष २०२० लाई हामीले पूरा गर्न सक्दैनौँ । सरकारले उपप्रधानमन्त्रीकै अध्यक्षतामा शक्तिशाली आयोग गठन गरेर सावधानी अपनाउन थालिसक्यो । सरकारले नै के भनेको छ भने अब आन्तरिक पर्यटन प्रवर्धन गर्नुपर्‍यो । यसरी सरकारले मुखले नभने पनि पेटबोलीको रुपमा विदेशी पर्यटकको सङ्ख्या २० लाख पुर्‍याउन सक्दैनाैँ भनेर भनिसक्यो । 

एउटा डरलाग्दो के भइदियो भने भारतीय पर्यटक पनि घट्ने भए । भारतीय पर्यटकहरु पशुपति दर्शन गर्न आउँछन् । उनीहरुले कम खर्च गर्छन् होला । तर भारतका मध्यमवर्गीय पर्यटकहरु भयानक खर्च गर्छन् । तपाईं हयात होटल जानुस् । हवाइजहाज चार्टर्ड गरेर दिल्ली, मुम्बई र कोलकतादेखि जन्ति लिएर आउँछन् । अन्नपूर्ण होटल र याक एण्ड यति होटलमा भारतीय पर्यटकहरु भरिभराउ हुन्छन् । पोखरामा पनि भारतीय पर्यटकको कमी हुँदैन । 

मुक्तिनाथ जाँदा मैले आफैले देखेको थिएँ । घोडा चढेर भारतका मध्यवर्गीय र उच्च वर्गीय पर्यटकहरु माथि मुक्तिनाथ दर्शन गर्न जान्छन् । धनाढ्य भारतीयहरुले विवाहपछि हनिमुन मनाउनका लागि छोराछोरीलाई ‘तिमीहरु काठमाण्डौ जाऊ, तिमी पोखरा जाऊ’ भन्दै ५ लाख रुपैयाँ दिने पनि धेरै छन् ।  

भारत सरकारले नेपालबाट आउने पर्यटकलाई विमानस्थलमा जाँच गर्छु भनेपछि हाम्रो यहाँ आउने पर्यटकहरु हतोत्साहित हुन सक्छन् । यसले नेपालको पर्यटक क्षेत्र नराम्ररी प्रभावित हुन्छ । दिनको सैकडौँ डलर खर्च गर्ने भारतीय पर्यटकहरु आइदिएनन् भने नेपाली पर्यटन तवाह हुन्छ । 

कोरोना भाइरसको उपचार कसरी गर्ने भन्ने कुरा अरुलाई त छोडिदिउँ, विश्व स्वास्थ्य सङ्गठनलाई समेत थाहा छैन । अनि हामीकहाँ त्यसको जानकारीको एकदमै कमी छ । त्यसैले सरकारले बरु विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरेर र चिनियाँ तथा कोरियाली सरकारसँग सहयोग मागेर नेपालले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सक्दो प्रयास गरिरहेको सन्देश विश्व समुदायलाई दिन सक्छ । यस्तो विश्वास दिलाउन सकियो भने सस्तो, राम्रो र सुरक्षित गन्तव्य भनेर युरोप र ल्याटिन अमेरिकाका पर्यटक नेपाल घुम्न आउन सक्छन् । 

नेपाल सरकारले सबैभन्दा पहिले के प्रमाणित गर्न सक्नुपर्‍यो भने कोरोना भाइरसविरुद्धको प्रणाली एकदमै राम्रो छ । सङ्क्रमण भयो भने उपचार गर्ने व्यवस्था पनि एकदमै राम्रो छ भन्ने सन्देश सरकारले फैलाउनु पर्दछ । भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनको सबैले तारिफ गरेका छन् । यस्तै सन्देश सरकारले दिन सक्यो भने नेपालको पर्यटनको लागि राम्रै हुन्छ । 

(अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार समेत रहिसक्नुभएका वरिष्ठ अर्थविद् आचार्यसँग गरिएको कुराकानीमा आधारित)      

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. केशव आचार्य

वरिष्ठ अर्थविद् आचार्य अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार समेत रहिसक्नुभएकाे छ । 

तपाईको प्रतिक्रिया