पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - अरुखाले रोग फैलिएको र भोकले मरेको संसारले देख्दैन, कोरोना फैलिएको र कोरोनाले मरेको संसारले देख्छ । त्यसैले योबेला कोरोना बाहेकका रोग, भोक र शोकबाट मर्न पाइन्छ, कोरोनाबाट पाईंदैन । हप्तौं, महिनौं लगाएर एक ठाउँबाट अर्को ठाउँमा हिँड्न पाइन्छ, तर गाडीमा जान्छु भन्न र चलेको खाली गाडी चढ्न पाइंदैन। विदेशमा गाह्रो भए पनि सहन्छु भन्न पाइन्छ, जसरी पनि आफ्नै देश फर्कन्छु भन्न पाईंदैन । सरकारले हाम्रै लागि गरिरहेको छ भन्न पाइन्छ, केही पनि गरेन भन्न पाईंदैन ।
जनजनको मनले नमाने पनि सरकारको मनले मानेको कुरा ! सर्वोच्चले विदेशमा र सीमा नाकामा अलपत्र परेकालाई लेराउ भन्छ । मानवअधिकार आयोगले पैदलै हिँड्नेको मर्का बुझ भन्छ । तर सरकारलाई लाग्छ तिनीहरु कुरै नबुझी फतरफतर कराउछन् । फतर फतरवालाहरुलाई के थाहा सरकारले सडकमा हिँड्ने र विदेशमा बस्नेलाई दिएको सुनौलो अवसर !
सबैभन्दा पहिले कुरा त लकडाउनको अर्थ बुझ्नुपर्यो । लकडाउनको एउटा अर्थ घरमै बस, बाहिर ननिस्क । अर्को लक भनेको भाग्य, डाउन भनेको गिर्नु, घट्नु । सरकार अहिले कडाइका साथ लकडाउनको दुवैथरी पाटो कार्यान्वयन गर्ने काममा जोडतोडले लागेको छ ।
पहिलो त घरबाट बाहिर आउनै नदिने । खाने, लगाउने, बस्ने कुरा छ या छैन, त्यो मतलब भएन । जसरी हो भित्रै बस्नुपर्यो, बाहिर निस्कन भएन । नत्र सिटामोल र नुन किन्न निस्केकाले पनि प्रहरीको भाटा खान्छन् । बाहिरै निस्कन मन छ भने मलामी बन्नुपर्यो । मलामी बन्न आफू नजिकका कसैको मृत्युको कामना गर्नुपर्यो ।
दोस्रो लक अर्थात भाग्य डाउन त त्यसै पनि भैरहेकै थियो, अब झन कडाईका साथ प्रहरीकै रेखदेखमा हुने भयो । खाने, बस्ने सुविधा दह्रो भएकाहरुको लक पहिले पनि बलियै थियो । अहिले पनि उनीहरुको लकमा डाउनको पैरो गैहालेको छैन, तर खानेकुरा सकिएर पैदल हिँड्न र विदेशमा अलपत्र भएर बस्न बाध्य भएकाहरुको त लक डाउन हुँदाहुँदा हावाले पनि हल्लाउने अवस्थामा पुगेको छ । अझै हावाले हल्लाउन थालेको छैन भने पनि पीर नमान्नोस्, सरकारले हल्लाउन कुनै कसर बाँकी राख्ने छैन ।
किनकि लकडाउनको बेला लक डाउन हुनु भनेको सरकारका लागि उपलब्धि र सन्तोषको कुरा हो । यो त नाम अनुसारको काम भयो भनेर हर्षबढाईं गर्नुपर्ने बेला पो हो, सरकारले हेरेन भनेर रोइलो गर्ने बेला होइन ।
सबैभन्दा महत्वपूर्ण कुरा त अहिले शरीर फुर्तिलो बनाउने, दुर्घटनाबाट जोगिने र पुर्खाहरुको योगदान सम्झने सुनौलो अवसर पनि हो । उबेला हाम्रा बाबुबाजेहरु हिँडेरै नुन लिन भोट पुग्थे । काम खोज्दै मुग्लान पस्थे । गाडीको के कुरा, खुट्टामा लगाउने जुत्ताचप्पल पनि थिएन, फराकिलो बाटो पनि थिएन । अहिले त जताततै सडक छन्, खुट्टामा लगाउने जुत्ताचप्पल छ ।
पुर्खाहरु चाहिँ खाली खुट्टा हप्तौं, महिनौं लगाएर हिँड्न हुने, अनि उनीहरुका सन्तानलाई चाहिँ गाडी नै चाहिने ? उबेला पुर्खाहरुले कति दुःख गरेका रहेछन् भनेर उनीहरुको योगदान सम्झने र उनीहरुकै पाईला पछ्याउने अवसर हो यो । तर सरकारले दिएको यो अवसरलाई हुँदा हुँदा प्रतिपक्षी नेताले समेत नकारात्मक बनाएर कोरोनामा राजनीति छिराए ।
सरकारलाई लाग्छ लकडाउन भनेको दुर्घटनाबाट ज्यान जोगाउने बेला पनि हो । भोलिपर्सि गाडी चल्न थालेपछि ज्यानको के ठेगान ? अहिले कहीँ कतै गाडी, जहाज दुर्घटना भएको सुन्नुभएको छ ? दुर्घटनाबाट मान्छे मरेका छन् ? छैनन् । त्यसैले गाडी र जहाज चढ्न पाइएन भनेर सरकारको विरोध गर्नेहरुले बुझुन् सरकार कोरोनाको कारण मात्रै होइन, दुर्घटनाबाट ज्यान जान नदिने अभियानमा पनि उत्तिकै सक्रिय छ । विदेशमा अलपत्र परेकालाई स्वदेश ल्याउ र बाटोमा हिँड्नेहरुको मर्का बुझ भनेर सरकारलाई अर्ति उपदेश दिनेहरुले बुझे होला नि बल्ल चुरो कुरो !
अब अर्काथरी आवाजको चर्चा गरौं । सडक र बस्तीबाट आवाज गुञ्जन्छ घर फर्कन बाध्य हुनेहरुलाई कि गाडीको व्यवस्था गर कि सम्बन्धित पालिकाले खाने व्यवस्था गर । यसो भन्नेहरुले पालिका भनेको छुट्टै सरकार हो भनेर खै कुरो बुझेको ? सरकारले त आफ्नो राज्य र ठाउँका नागरिकको मर्का बुझ्ने हो, अरुको होइन । सिन्धुली, रामेछापदेखि झापा, बैतडी, हुम्ला, जुम्लासम्मका नागरिकको दुःखपीर काठमाण्डौका पालिकाहरुलाई के मतलब ? यहीँ बसिरहे भने आफैंलाई टाउको दुखाई हुने हो ।
बाटो लागे भने त टण्टै साफ ! अनि बाटोमा पर्ने पालिकाहरुमा ताती लागेर हिँड्नेहरु आफ्ना पालिकाका नागरिक होइनन्, वास्ता गर्ने कुरै भएन । काठमाण्डौमा दुःख पाएकाहरु हिँडेपछि यहाँ सुख पाउनेहरु मात्रै बाँकी हुन्छन्, सुख पाउनेको चिन्ता लिनै पर्दैन, काठमाण्डौका पालिकाहरुलाई हाईसञ्चो । अनि हिँड्नेहरु आफ्नो ठाउँ पुग्ने बेलासम्म कि कोरोना सकिन्छ कि हिँड्नेहरुको आँत र आँट सकिन्छ ? आँट र आँत सकिएकाहरुले राहत माग्न सक्दैनन्, त्यहाँका पालिकाहरुलाई पनि ढुक्कै ।
त्यसैले हिँड्नेहरु हिँड्न पाउँछन्, गाडी चढ्न पाउँदैनन् । सडकमा रुन पाउँछन्, सरकारले केही गरेन भन्न पाउँदैनन् । गरीबको सरकार हो, केही नगर्ने कुरै हुँदैन । बाटोमा हिँड्दा खुट्टा दुख्यो, घुँडा र पैतालाबाट रगत बग्यो, गर्भवती, सुत्केरी बालबच्चा र बुढाबुढीले दुःख पाए भने मन भुलाउन कम्युनिष्ट सरकारको चुनावी घोषणापत्र, प्रधानमन्त्रीका योजना र भाषण, बजेट र नीति कार्यक्रम काम लाग्छ ।
हिँड्दा थकाई लागेको बेला चुनावताका दुई दुई कार्यकारी अध्यक्षले गरेको रेल, पानीजहाजका रमाईला भाषण सम्झनु, मुसुक्क हास्नु ! यसो गर्दा एकातिर हिड्नेलाई बाटो काट्न सजिलो हुन्छ, अर्कोतिर देशमा नागरिक खुसी छन् भन्ने ईन्डीकेटर बढेर सरकारलाई पनि मद्दत मिल्छ । अनि विदेशमा अलपत्र परेर दुखेसो गर्नेहरुले रेमिट्यान्सले देश धानेको, स्वदेशमै रोजगारीको अवसर बन्दै गरेको खबर पढे हुन्छ । भोकभोकै कोठामा बस्नुपर्दाको पीडा अलि कम हुन्छ ।
त्यतिले पनि भएन भने लकडाउनको बेला पुष्पकमल दाहाल प्रचण्डले घरमा मासु पकाएको फोटो हेरे हुन्छ । अझ प्रचण्डले ज्वाई, छोरी, नाति नातिनासित बिहान मांसाहारी र बेलुका शाकाहारी खाना खाएर कोरोनासित जुधिरहेको कुरा महान पत्रकार ऋषि धमलालाई दिएको भिडिओ अन्तवार्ता हेरे अलपत्र पर्नेहरुको कोरोना आफै डराएर भाग्छ ।
बालुवाटारमा प्रधानमन्त्री र मन्त्रीहरुले मास्क लगाएर गरेका बैठक ती मुखौटाले छोपिएका मुखले राहत बाँड्ने निर्णय गरेको कुरा त दिनदिनै टीभीमा हेर्नु नै छ । सरकारले गरेका यस्ता महत्वपूर्ण योगदान देखेर कोरोना भाईरस त नेपालका पाखा पर्वततिर लुकीलुकी देखिन थालेको छ भने लकडाउनको उल्लंघन गरेर तपाई चाहिँ सरकारलाई किन सताउनु हुन्छ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।