कौसी खेती : छतमा फलाउने, भान्सामा पकाउने

 वैशाख २९, २०७७ सोमबार १५:५:२९ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - हिजोआज खेतीयोग्य जमिनको कमी हुँदै गएपछि धेरै मानिसले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । खेतबारी कम भएको कारण सहरमा बढी प्रभावकारी मानिएकाले यसलाई सहरी खेतीको नामसमेत दिन थालिएको छ । पछिल्लो समय सहरमा यो खेती लोकप्रिय हुँदै गएकोले धेरै जनाको कौसी हराभरा देखिन थालेको छ  । कौसी खेतीबाट एकातिर फोहोर व्यवस्थापनमा सहयोग पुगेको छ भने अर्कोतर्फ हरियाली बढाउन पनि मद्दत मिलेको छ । 

सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र  प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ । आफ्नो जग्गाजमिन नभएका तर ढलान गरिएका बरन्डा, छाना र कौसी भएकाहरुका लागि यो खेती उपयुक्त हुने गरेको छ । यसरी कौसी खेती गर्दा लामो समयसम्म पटक पटक टिप्न मिल्ने बाली लगाउन उपयुक्त हुने कृषि विज्ञ सुझाव दिन्छन् ।  

ध्यान दिनुपर्ने कुरा 

कौसी खेती गरिने ठाउँ, उपलब्ध भाँडा वा संरचनाआदिको आधारमा तरकारी बालीको छनौट गर्नुपर्छ । बार्है महिना हरियाली रहने र धेरै समयसम्म उत्पादन लिने उद्देश्य राखेर खेती सुरु गर्नुपर्छ । घरको बरन्डामाभन्दा छतको तापक्रम बढी हुने र बढी हावा चल्ने हुँदा निरन्तर बाली लिनका लागि खेती गरिने ठाउँमा चिस्यान राख्नुपर्छ । घरको बरन्डामाभन्दा छतमा हावा हुरीको चाप बढी हुने हुँदा बाली लगाउँदा पर्खालभन्दा भित्र लगाई टेको दिएर बिरुवा बाँध्नु पर्दछ । आकाशे पानीबाट छतमा लगाइएका तरकारी बालीलाई बचाउनको लागि प्लास्टिकको छानो बनाउनु झनै राम्रो हुन्छ । 

बिउ अथवा बेर्ना रोपिसकेपछि रोग तथा किराले नोक्सान पु¥याउन सक्छन् । त्यसैले बेर्ना रोप्नेबित्तिकै बजारमा पाउने निमको झोल र ट्राइकोडर्मा नामक औषधी कृषि विज्ञको सल्लाहअनुसार राख्नुपर्छ । यस्तै बिरुवाको फेद भिज्ने गरी पानी हाल्नुपर्छ । तरकारी बालीमा खाद्य तत्वको कमी देखिने हुँदा हरेक १५ दिनको फरकमा एक एमएल भेजिमाक्स  दुई लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।  गमला वा भाँडोमा तरकारी खेती गर्दा पानीको आवश्यकता धेरै हुने भएकोले माटो सुक्न नपाउने गरी प्रत्येक दिन वा एक दिन बिराएर माटो नबगाउने किसिमले पानी हाल्नु पर्दछ । 

निकै फाइदाजनक 

कौसी तरकारी खेती निकै फाइदाजनक मानिन्छ । आफ्नो इच्छाअनुसार उत्पादन हुने तरकारी ताजा, स्वच्छ, सफा र विकाररहित हुनुको साथै तरकारी किन्नका लागि हुने दैनिक खर्च तथा समय बचत हुने भएकाले यो निकै नै फाइदाजनक छ । कौसी खेतीले अक्सिजनको मात्रा बढाउन र कार्बनडाइअक्साइडको मात्रा घटाउन पनि यसले सहयोग पुग्छ । हरियालीको कारण घर पनि सुन्दर देखिन्छ । बिहान र बेलुकाको फुर्सदमा घरका सदस्यहरुबाट रेखदेख तथा स्याहार–सम्भार हुने हुँदा शारीरिक अभ्यासका साथै रमाइलो अनुभव हुन्छ । 

आवश्यक पर्ने सामान

कौसी खेतीको लागि माटोको गमला, प्लास्टिकको गमला, काठको बाकस, सिमेन्टको बोरा र प्वाल भएको डोको आवश्यक पर्छ । यस्तै खाली टिन, आधा काटिएको ड्रमलगायतका सामानको आवश्यकता पर्छ । त्यसपछि मलिलो पाँगो माटो वा जङ्गलको माटो २ भाग, गोबर मल १ भाग, र बालुवा १ भाग मिलाएर मिस्चर बनाउनुपर्छ ।  यस्तै साना साना ग्राबेल वा इट्टाका टुक्राहरु,  प्लास्टिकको डोरी वा बाँसका ४—७ फुटसम्मका भाटाहरु, बाँध्नको लागि जुटको सुतली, पिना, हड्डीको धुलो र सुक्ष्म खाद्य तत्वहरु आवश्यक पर्छ ।

किरा कसरी मार्ने ?  

उत्पादन गर्ने तरकारी शुद्ध र विषादीरहित बनाउन प्राङ्गारिक तरिका अपनाउनु पर्छ त्यसको लागि रोग र किरा व्यवस्थापन गर्नु आवश्यक हुन्छ । कौसी खेती गर्दा  देखा पर्ने एउटा समस्या हो लाही किरा । तरकारी बालीहरुमा प्रायः लाही किरा बढी लाग्दछ । यो किराको व्यवस्थापनको लागि निमको तेल ५ एमएल प्रति लिटर पानीमा मिसाएर हरेक हप्ता छर्नुपर्छ । यस्तै पुतलीको लार्भाले काउली जातका  तरकारीहरुमा निकै हानी पु¥याउँछ । यो किरा व्यवस्थापनको लागि१ सय ग्राम चिउरीको पिनालाई कपडामा पोको पारी प्रति लिटर पानीमा एक रात डुबाउने र त्यो झोललाई ४ भाग पानीमा मिसाएर बोट भिज्ने गरी छर्नुपर्छ ।  यस्तै औंसा÷ फ्रुट फलाई किराले फलभित्र फुल पारी फल कुहाउने भएकाले यो किराको व्यवस्थापनको लागि फेरोमेन ट्रयाप प्रयोग गर्नुपर्छ भने डढुवा रोगले पातलाई डढाउने भएकाले यसको रोकथाम तथा व्यवस्थापनको लागि ट्राइकोडर्मा पाउडर दुई ग्राम प्रति लिटर पानीमा मिसाएर पुरै भिज्ने गरी हप्तै पिच्छे छर्नु पर्दछ । 

मौसमअनुसारको खेती

कौसी खेती गर्नका लागि मौसमअनुसारका बिरुवा छनोट गर्नुपर्ने हुन्छ । विशेषगरी हिउँदे र वर्षा गरी दुई मौसममा खेतीलाई छुट्याउन सकिन्छ । हिउँको समयमा बिरुवा उमार्न तुलनात्मक रुपमा सजिलो हुन्छ । यो समयमा धेरै प्रकारका बाली उमार्न सकिन्छ । वर्षा मौसममा उमार्ने विरुवाहरु छुट्टै प्रकारका हुन्छन् । अमिलो जातका बिरुवाहरु वर्षा मौसममा उमार्न सकिन्छ । हिउँदमा विशेष गरेर लहरे बाली लगाउन सकिन्छ । वर्षायाममा लौका, घिरौँला, काँक्रो, करेला र फर्सी ठाउँअनुसार रोप्न सकिन्छ । यसैगरी गोलभेँडा, मटरकोसा, खुर्सानी, रायोको साग, चम्सुर, पालुङ्गो र लसुनजस्ता सागसब्जी लगाउन सकिन्छ ।

फलफुलमा आलुबखडा, आरु, नास्पाती, जापनिज हलुवाबेद र अरु नयाँ हाइब्रिड प्रजातिका बिरुवाहरु रोप्न सकिन्छ । वर्षा याममा अमिलो बिरुवाहरु रोप्न सकिन्छ । सुन्तला, कागती, मुन्तला, अम्बाजस्ता बिरुवा वर्षामा निकै फस्टाउँछन् । तरकारीमा विभिन्न किसिमका सागसब्जीका साथै मुला र सलगम रोप्न सकिन्छ । खेतबारीमा जस्तैगरी मौसमी तरकारीहरु कौसीमा रोप्न सकिन्छ । विशेषगरी हाइब्रिड जातका तरकारी कौसीको खेतिको लागि उपयुक्त मानिन्छ ।
कौसी खेती गर्दा पानी चुहिने तथा घर चर्कने समस्या हुन सक्छ । त्यसैले यसको समाधानका लागि प्राविधिकसँग सल्लाह गर्नुपर्छ । 

विशेषगरी सहरमा सानो ठाउँ र घरमात्रै हुनेहरुका लागि कौसी खेती अत्यन्तै उपयोगी हुन्छ । बिहान बेलुकाको समयलाई सदुपयोग गरेर घर परिवारसँग रमाउँदै घरभित्रै फलफुल र तरकारी उब्जाउन सकिन्छ । यसले पैसाको बचतसँगै परिवारमा रमाइलो वातावरणसमेत सिर्जना गर्ने गर्दछ । विद्यालय उमेरका बालबालिका भएको घरमा विद्यार्थीहरुलाई परियोजना कार्य (प्रोजेक्ट वर्क) गर्न र थोरै भएपनि कृषिको व्यवहारिक ज्ञान दिनसमेत यो सहयोगी साबित हुन्छ । 

(ललितपुरको खुमलटारमा रहेको बागबानी अनुसन्धान महाशाखाका प्रमुख एवम् मुख्य वैज्ञानिक डा. ईश्वरी प्रसाद गौतमसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया