सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – स्वयम् देवताले नै सिकाएको नाच रूपमा बोडेबासीले स्वीकार गर्दै आएको नीलबाराही गण नाचले यस वर्ष कोरोना भाइरसको जोखिमको बीचमा पनि निरन्तरता पाउन लागेको छ ।
भक्तपुरको घना जंगल तिगनी नजिकको नेवार बस्ती बोडेमा नीलबाराही नाच गाईजात्राको भोलिपल्ट सञ्चालन हुने गर्छ । नाचको सुरूवात कसरी भयो भन्ने बारेमा वंशावलीमा उल्लेखित र जनमानसमा चर्चित पैराणिक कथा गरी दुई किसिमका धार देखिन्छन् ।
नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण भक्तपुरमा नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नु भएको भन्ने वंशावलीमा उल्लेख गरिएको छ।
त्यस्तै स्थानीयमा चर्चित पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर अपहरण गरेको, नीलबाराही जंगलमा लगेर तांत्रिक नृत्य सिकाउनु भएको भनेर भनिन्छ । देवी स्वयमले सिकाउनु भएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयबासिन्दाले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् ।
नाचको प्रादुर्भावको सम्बन्धमा बोडेमा पौराणिक कथालाई धेरै मान्यता दिएको पाइन्छ । नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकोले त्यसबेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको छ ।
अरू देवदेवीको मुखौटा , गरगहना पोशाक सम्वन्धित देवता हुने व्यक्तिको घरमा राख्ने चलन छ । तर ध्वँ श्रेष्ठ परिवारको घरमा अहिलेसम्म पनि भैरवले लगाउने विशेष माला राख्ने गरिन्छ । त्यस्तै ध्वँ श्रेष्ठको घरमा नासःकुथि (अखाः) को पुरानो नाच सिकाउने ठाउँ हालसम्म नै छ । त्यस्तै नीलबाराही देवीले दिएको सामानसहितको माटोको सन्दुक पनि ध्वँ श्रेष्ठको घरमा नै छ, जुन कसैले पनि हेर्न हुँदैन भन्ने जनविश्वास छ।
त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जंगलमा छ । नाचसँग सम्वन्धित फूल अक्षता लगायतका सामान अहिलेसम्म पनि त्यहीँ नै विसर्जन गर्ने गरिन्छ।
यी सबै कारणबाट पनि नीलबाराही नाच देवी स्वयमले नै सिकाउनु भएको हो भन्ने कथनलाई स्थानीयबासिन्दाले स्वीकार गर्दै आएका छन् ।
गाईजात्राको भोलिपल्ट निकालिने नाचको लागि तयारी गथेमंगलदेखि सुरु हुन्छ । देवदेवीको मुखौटा त्यसै दिनदेखि निकालेर परम्परागत चित्रकारबाट मर्मत गर्न लगाइन्छ भने गाईजात्राको एक हप्ता अघिदेखि नाचको प्रशिक्षण शुरू हुन्छ ।
तांत्रिकदेवी नीलबाराहीसहित यस नाचमा १९ जना देवदेवी सम्मिलित हुन्छन् । नीलबाराही नाच भनिएता पनि नाचको नेतृत्व भैरवले गरेका हुन्छन् भने नाचमा एक भैरव सहित ४ जना बाराही, ४ जना कुमारी, ४ जना सिहं, २ द्वारपाल र ४ गणेशको सहभागिता हुन्छ ।
उपत्यकामा सञ्चालित अरू देवी नाच भन्दा यो नाच भिन्दै पनि छ। नाचको मुख्य विशेषता एकचोटी देवताको भूमिका निर्वाह गरेको व्यक्तिले जीवनभरी नै त्यही भूमिकामा नै बस्नु पर्दछ। जस्तोसुकै परिस्थिति आए पनि त्यो व्यक्तिले निश्चित देवताको भूमिका अनिवार्य रूपमा निर्वाह गर्नु नै पर्दछ।
एक पटक देवता भएपछि जीवनभरी नै त्यही देवताको भूमिकामा बस्नु पर्दछ। मृत्युपछि मात्र त्यो अभिभाराबाट छुटकारा मिल्छ भन्ने विश्वास छ । स्थानीय रूपमा उसको पहिचान पनि देवताको नामबाट नै दिइन्छ ।
नीलबराही नाचमा देवदेवी ढिलो गतिमा नाच्दै बोडेको लाछी, लायकु, लगायत सबैजसो ठाउँमा परिक्रमा गर्छन् । मूलगुरु, गुरू, बाजा बजाउने टोली, सहयोगी लगायत बोडेका लगभग १०० जना स्थानीय नाचमा प्रत्यक्ष रूपमा सहभागी हुन्छन् ।
देवताको मुखौटा लगाएपछि नाचगणमा जोश नै अर्कै हुन्छ । उनीहरू रातभर, दिनभर बोडेको सडकमा धाः, ता, भुस्या, पोंगा, म्वाली जस्ता परम्परागत बाजाको तालमा नाचेर ठाउँठाउँमा पुग्छन् । स्थानीय जनसमुदायबाट पूजा पनि थाप्छन्।
एक पटक नाच्न सुरु गरेपछि, उनीहरूले साधारण परिस्थितिमा सोच्न नै नसक्ने शारीरिक कठिनाइ सहनु पर्ने हुन्छ । नाच सुरु भएपछि, हावाहुरी लगायत जस्तोसुकै परिस्थिति आए पनि खाने, पिउने, बस्ने, सुत्ने, अरूसँग कुरा गर्ने वा आराम गर्ने जस्ता केही पनि गर्न मिल्दैन । कडा नियममा बस्नु पर्दछ ।
यी सबै ईश्वरीय शक्तिका कारणले गर्दा मात्र सम्भव भएको भनेर स्थानीय बासिन्दा विश्वास गर्छन् । अहिले ७०, ७५ वर्ष नाघेका स्थानीयहरु ६२ वर्ष अघिदेखि नै निरन्तर रूपमा देवताको भूमिकामा नाचिरहेका छन् । अहिलेसम्म पनि उत्तिकै सक्रिय भएर नाचिरहेका छन् । देवताको रूप धारण गर्दा उमेर बाधक नबनेको उनीहरूको अनुभव छ।
स्थानीय अखाःबाट सुरु हुने नाचको यात्रा तीन रात, चार दिनसम्म चलिरहन्छ भने अखाःमा नै पुगेपछि नाच धार्मिक तान्त्रिक विधि विधानका पूजा सहित समापन हुन्छ ।
यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै नै जात्रा, पर्व स्थगित भएको अवस्थामा यो नाच भने सञ्चालन हुने भएको छ । यसवर्ष साउन २१ गतेदेखि नाच शुरू हुनेछ भने स्थानीय भक्तजनको पूजा थाप्ने कार्य भने हुनेछैन।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।