६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
समयले पनि कस्तो खेल खेल्दो रहेछ । समय, परिस्थिति र नियती पनि कति पीडादायी रहेछ । उ सम्झन्छ अतीतका पानाहरू र धिक्कार्छ आफैंलाई अनि आफ्नै भाग्यलाई । जिन्दगीमा हराएका खुसी खोज्नलाई बारम्बार तड्पिनु पर्ने । भित्रभित्रै जले पनि देखावटी हाँसो र खुसीमा हराउनु पर्ने । मनलाई आँसुको तलाउमा चुर्लुम्म डुबाएर बाँच्नुपर्ने रहेछ यो परको देश, पराईको देश, परदेशमा ।
बिदाको दिन थियो । अलिकति ढिलोसम्म सुतियो । घडीले बिहानको ९ः३० बजाइसकेको थियो । उठ्ने बित्तिकै बाहिरको चिसो हावाको आनन्द लिन मन लाग्यो । बाहिर निस्किएँ ।
घर नजिकैको समुद्रको किनारतिर लागें । ‘समर’को अन्तिम अन्तिम समय, बिहानको चिसो हावा, घामको मन्दमन्द न्यानो किरण अनि समुद्र किनारको रौनक अलि फरक थियो । विभिन्न देशका मान्छेहरु आ–आफनै मुद्रामा रमाई रहेका थिए ।
अलि पर एक युगल जोडीहरु मायाको गहिराई नापी रहेका थिए । चिसो मौसम, समुद्रको किनारको छेउमा उफ्रिने स–साना माछाका भुराहरु, अनि मन्द हावा, मधुर सूर्यको न्यानो किरण र फरक फरक समुदायका मानिसहरुको रौनक, जसले केही पलका लागि सबै दुःख, अप्ठ्याराहरू भुलाई फरक आनन्द र अनुभूति दिन्थ्यो । चिसो हावा, रंगिन वातावरणसँगै मनभित्रका सबै पीरहरु बिर्सिएर म पनि मन्दमन्द मुस्कुराइ रहेको थिएँ । म अगाडि बढदै गर्दा चुलबुले नजरहरु कताकता पुगिरहेका थिए ।
मेरो आँखा एकोहोरो मुद्रामा बसिरहेको एउटा युवकतर्फ तानियो । म उनको नजिक जाँदै थिएँ । नजिकैबाट उनलाई नियालें, उदास पारामा जिन्दगीका सबै रङ्ग हराए जस्तो । पीरैपीरको भर्खरै नुहाएर आए जस्तो, मलिनो मुहार, तेल सकिएर निभेको दियो जस्तो । सबै खुसी लुटिएर दोबाटोमा अलपत्र परे जस्तो, अनुहार पूरै अँध्यारो देखिन्थ्यो । उनको रुप र पोशाकले नेपाली हो कि जस्तो मनमा लाग्यो ।
‘हजुर नमस्कार, भाइ नेपाली हो ?’ मैले बोलाएँ ।
उनले मलाई पुलुक्क हेरे, तर केही बेलेनन् ।
‘ए हजुर तपाईं नेपाली हो ?’ मैले फेरि उनलाई बोलाएँ ।
करिब २० सेकेण्डपछि उनले जवाफ फर्काए– नमस्कार । म त तपाईँलाई चिन्दिन ।
मैले उनलाई आफ्नो परिचय दिएँ । विदेश यात्राका केही थान दुःखहरु हौसला र प्रेरणाका रुपमा उनलाई सुनाएँ ।
उनले लामो सास फेर्दै भने – ‘के गर्नु दाजु, जिन्दगीले आज बगर जस्तै बनाएर छाडेको छ । हरियाली जिन्दगी डढेलो लागेको खोरियाझैं उजाड उजाड छ । हामी गरिबहरु सधैं अभावको भूमरीमा पिल्सिनु पर्ने रहेछ । यस्तै छ दाजु मेरो पनि कहानी ।’
उनले आफ्नो परिचय दिए ।
घर : बझाङ ।
नाम : बाबु राजाराम ।
उनले आफ्नो कथा यसरी सुनाए :
मलाई गाउँमा बाबे भनेर चिन्छन् ।
घरमा आमा, श्रीमती र सानो छोरा छन् । बुवाले सानैमा छाडेर जानुभयो । बुवा नभएपछि आमाले गाउँमै ज्यालामा काम गर्न थाल्नुभयो । म सानै छँदा बुवाले घर खेत जोडिदिनु भएको रहेछ । आमाले दुःख गरेर हुर्काउनुभयो । मेरो पढाई पनि राम्रै थियो । विद्यालयको पढाई सकें ।
सबै साथीहरु उच्च शिक्षाको लागि सहर पसे । मलाई पनि सहर बसेर पढ्ने रहर भयो । आमासँग सल्लाह गरें । म केही गर्छु र पढ्छु भनेर सहर पसें । सहरको बसाइ, पढाई खर्च आमाले दिनभरी कमाएको ज्यालाले भ्याएन । काम गर्छु भनेर काम खोजें, काम पनि पाइएन ।
१२ को पढाई सकेर गाउँ गएको थिएँ । गाउँको छिमेकी बमबहादुर भर्खर विदेशबाट आएको रहेछ । गाउँमा विदेशको चर्चा निकै हुन्थ्यो । उसले विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ भनेर निकै मिठा कुरा सुनायो ।
सबै छिमेकीहरु उसका कुरा सुनेर मख्ख पर्थे । भर्खर आएको उसको हातमा टल्किने घडी, महङ्गो मोबाइल, टिलिक्क टल्कने जुत्ता, सुकिला कपडा, उसको फूर्तिफार्तीले जोकोहीलाई पनि लोभ्याउँथ्यो ।
पैसो कमाउने, सुकिलामुकिला कपडा लगाउने, मिठो मसिनो खाने, धेरै सम्पत्ति कमाउने सपना मेरो मन पनि पलायो । आमा घरमा एक्लै भएको हुँदा विदेश जानुअघि बिहे गर्ने कुरा आमाले गर्नुभयो । आमाकै रोजाइमा बिहे पनि गरें । बिहेपछि विदेशको प्रक्रियामा लागें ।
यूरोप जाने र कमाउने साेंच बनाएँ । मेरो विदेशबाट आएकै साथीको साथी रहेछन् एक जना । उनले पोल्यान्डको भिसा मिलाउने रहेछन् । यो काम गरेबापत उनले आठ लाख रुपैयाँ लिने रहेछन् । जग्गा धितो राखेर उसलाई आठ लाख रुपैयाँ बुझाएर यहाँ आएँ । भिसा लाग्न झण्डै २ वर्ष लाग्यो । तर पोल्याण्डमा भनेजस्तो नभएपछि म साथीहरुको पछि लागेर पोर्चुगल आइपुगेँ ।
यहाँ पनि नयाँ मानिस आएको थाहा पाउनै नहुने रहेछ । यहाँ आएपछि साथी पनि साथी जस्तो नहुँदो रहेछ । लिगल इन्ट्री, फिनान्स, सोसियल, सेफ गराउँदा म नेपालीबाटै पटकपटक ठगिएँ ।
काम लगाएबापत पैसा, कोठा खोजिदिएको पैसा, पाइला पाइलामै ठगिएको छु । महिनाभरी काम ग¥यो कोठाभाडा, पानी, बत्ती, इन्टरनेट, खाना, मेट्रो खर्च, काडको कागजी प्रक्रियाको लागि कहिले के के महिनाभरी कमाएको तलब मुश्किलले दुईसय युरो नि नबच्ने ।
तलबको पैसा पनि समयमा नपाइने । विदेश आएदेखि आमा, श्रीमती र छोरालाई एक जोर कपडा फेरिदिन पनि सकेको छैन । साहुको ऋण र ब्याज बढेको बढ्यै छ । सम्झ्यो भनि छाती भातभती पोल्छ ।
परको देश, पराइको देश यहाँ हाम्रो दुःख बुझिदिने कोही छैन । नेपाल फर्कौं घर खेत साहुले लिन्छ । यहाँ हरेक पल मर्दै बाँचेको छु ।
कोरोनाले काम पनि गयो । अहिले काम पनि छैन, ७ महिना भयो खाली बसेको ।
***
यति भन्दै गर्दा उनी भक्कानिए र मेरो अँगालोमा आए ।
मैले सम्झाएँ – यस्तै हो भाइ हामी परदेशीको जीवन । न कामको भर, न ठाउँको भर । नआत्तिनु सबै कुरा ठिक हुन्छ । भगवानले हेर्ने छन् । सबै सामान्य हुनेछ । नरुनु भनेर सम्झाउनु बाहेक मेरो केही उपाय थिएन ।
खल्ती छामे ८० युरो रहेछ । भाइ यो राख्नु नेपाली १० हजार हुन्छ । म सकेको र जानेको सहयोग गर्नेछु । म यही नजिकै बस्छु भनेर मैले मेरो फोन नम्बर पनि दिएँ ।
भाइ बेला मौकामा फोन गर्नु है भन्दै म कोठातिर लागें ।
दिनभर आँखाभरी बाबु राजारामको तस्बिर खेलिरहयो । विदेशमा पैसाको रुख हुन्छ, मोजमस्ती हुन्छ भनेर छिमेकमा झुटो हल्ला फैलाउने उसको छिमेकी बामेप्रति रिस उठेर आयो ।
परदेशमा आफूले भोगेको वास्तविकता बताउन लाज मान्ने त्यो छिमेकीलाई बधाई छ । तिमीहरूले स्वदेश फर्किएर समाज देखाउने तडकभडक र झुटा सपनाहरुले आज हजारौं अब्बल बाबु राजारामहरु देश र परिवारबाट टाढिएर काहलीलाग्दो रंगहीन जिन्दगी परदेशमा बिताउँदै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।