पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – मङ्सिरको पुसको ठिहिर्याउने चिसो । बाला चतुर्दशी पर्वको अवसर । व्यापार गर्नैपर्ने बाध्यता । टाउकोमा उनीको टोपी छ । चिउँडोमा मास्क । शरीरमा बाक्लो लुगा । उमेरले ७३ टेक्यो । कपाल र दाह्री सेतै फुलिसक्यो । व्यापारको रहर भने अझै छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका २ छिम्केश्वरीका आशबहादुर मगर म्याग्दीको गलेश्वर आएको आज तीन दिन बितिसक्यो । छिम्केश्वरीको लेकबाट नाङ्लो र मादल बोकेर उहाँ श्रीमतीसहित गलेश्वर आउनुभएको हो । हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी पर्वको अवसरमा गलेश्वर क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ ।
तर यस वर्ष कोरोनाका कारण गलेश्वरमा मेला नलागे पनि न्यून सङ्ख्यामा भक्तजन गलेश्वर शिवालयको दर्शन तथा शतबीज छर्न आएका छन् । बालाचतुर्दशीमा म्याग्दीको गलेश्वरमा लाग्ने मेलामा व्यापार गर्ने उद्देश्यले आउनुभएका आशबहादुरले यस पटक भने कोरोनाका कारण साेचे जस्तो व्यापार गर्न पाउनुभएन । कोरोनाकै कारण गलेश्वर शिवालयमा शतबीज छर्ने भक्तजनको संख्यामा कमी आएको हुँदा उहाँको व्यापार घटेको छ ।
बुढेसकालमा व्यापार गर्ने रहरले नाङ्लो र मादल बोकेर आउनुभएका आशबहादुर व्यापार नहुँदा चिन्तामा हुनुहुन्छ । ‘पैँतीस सय गाडी भाडा तिरेर बूढा–बूढीले नाङ्लो, चाल्नो र मादल ल्याएर गलेश्वर आइयो’, आशबहादुरले गुनासो गर्दै भन्नुभयो, ‘तर यहाँ आउँदा विगतमा जस्तो सोचेको झैँ व्यापार हुन सकेन ।’ ‘तीन दिनसम्म जम्मा–जम्मी १०/१२ वटा नाङ्लो मात्रै बिकेका छन् । मादल त अझ एउटा पनि बिकेको छैन’, उहाँले भन्नुभयो । आशबहादुरले तनहुँबाट लिएर आएको एउटा नाङ्लाको मूल्य छ सय रुपैयाँदेखि बाह्र सय, मादलको पैतीँस सयदेखि चार हजारसम्म र चाल्नाको सात सय रुपैयाँ तोकिएको छ ।
यसैगरी पोखरा महानगरपालिका २४ नौडाँडाका शङ्कर विक पनि नाङ्लाे बिक्री गर्न भन्दै गलेश्वर आउनुभएको छ । बालाचतुर्दशी पर्वमा गलेश्वरमा सामान बिक्री गर्ने मौका छोप्न आउनुभएका उहाँले खासै नाङ्लाको व्यापार नभएको गुनासो गर्नुभयो । बाँसको सहायतामा बनाइएको एउटा नाङ्लाको मूल्य छ सय रुपैयाँ तोकिए पनि ग्राहकले सोचेजस्तो खरिद नगरेको उहाँले बताउनुभयो । पुख्र्यौली घर अर्घाखाँची भएको बताउँदै उहाँले भन्नुभयो, ‘घरमा बुबाले नाङ्लो बनाउनुहुन्छ । म बोकेर बिक्री गर्न बजार जान्छु । पहिलोपटक बजार खोज्दै म्याग्दीको गलेश्वर आए पनि व्यापार भने हुन सकेन ।’ बाँस र निगालोको चोयाबाट बुनेका डालो र नाङ्लो बोकेर विभिन्न जिल्लाको गाउँमा समेत जाने गरेको उहाँले बताउनुभयो ।
त्यस्तै आरनमा बनेका फलामका सामानहरु बिक्री गर्न आउनुभएका पर्वतको मोदी गाउँपालिका ३ देउपुरका ६७ वर्षीय कर्णबहादुर विश्वकर्माको पनि पीडा उस्तै छ । कोरोनाको कहरमा बालाचतुर्दशीमा कोदालो, हँसिया, तावा (झाङ्गा) बेच्न गलेश्वर आए पनि उहाँको सामान बिक्री हुन सकेको छैन । १५ वर्षको उमेरदेखि आरन पेसामा लाग्नुभएका कर्णबहादुरले प्रतिकेजी फलामलाई सात सय रुपैयाँमा खरिद गरेर फलामका सामानहरु बनाएर ल्याए पनि बिक्री नहुँदा रित्तै हात फर्कनुपर्ने अवस्था रहेको सुनाउनुभयो । ‘अर्काको काममा जाँदा मान्छेले दिनको एक हजार खान्छ तर किलोको सात सय रुपैयाँमा किनेको फलामका सामान बेच्दा भने जस्तो मूल्य पर्दैन’, उहाँले दुःखेसो पोख्नुभयो ।
पहिले देउरपुरबाट हिँडेर पोखरा पुगि पाँच रुपैयाँमा फलाम किनेर ल्याएर आरन पेसा चलाए पनि अहिले एक किलो फलामलाई सात सय मूल्य पर्ने कर्णबहादुरले बताउनुभयो । उहाँले आरन आफूहरुको पुख्र्यौली पेसा भएको बताउँदै आफ्नो बाबुबाजेले गरेको पेसालाई आफूले पनि निरन्तरता दिएको अनुभव सुनाउनुभयो । कर्णबहादुरको आरनमा कुटो, कोदालो, हँसिया, बन्चरो, चुलेसी, दाबेलगायतका सामान बन्छन् ।
विगतका वर्षमा बालाचतुर्दशी पर्वको अवसरमा गलेश्वर क्षेत्रमा लाग्ने मेलामा डाला, नाङ्ला र थुन्सेको व्यापार खुब हुने गर्दथ्यो । तर यसपटक कोरोना भाइरसका कारण व्यापार ह्वात्तै घटेको व्यापारीहरु बताउँछन् । म्याग्दीको बेनी नगरपालिका ९ नम्बर वडामा पर्ने गलेश्वर शिवालय प्रसिद्ध मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा रहेको छ । सत्ययुगमा भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वीको भ्रमणमा निस्किएको क्रममा गलेश्वरमा आउँदा गलो खसेर पतन भएको हुँदा यसको नाम गलेश्वर रहन गएको किंवदन्ती पाइन्छ ।
बालाचतुर्दशी पर्व आउनुभन्दा दुई तीन दिन अघिदेखि नै चहपहल हुने गलेश्वर क्षेत्र र शिवालय परिसरमा यसपटक भने कोरोना भाइरसकै कारण न्यून मात्रामा भक्तजनको उपस्थिति देखियो । बालाचतुर्दशीमा शिवालयमा शतबीज छरेमा आफ्ना पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वासले ठूलो सङ्ख्यामा भक्तजन उपस्थित भएर शतबीज छर्ने गर्दछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।