किन सधैं विवादमा तानिन्छिन् कंगना? उनकै कारण बनिसकेकाे फिल्म छाेडे निर्देशकले

 भदौ ५, २०७५ मंगलबार १५:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक कृषले अभिनेत्री कंगना रनाउतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ काे बाँकी काम गर्न अस्वीकार गरेका छन् ।

यो फिल्म सन् २०१९ को जनवरी २५ मा प्रदर्शन हुने तयारीमा रहेको छ । खबरहरुका अनुसार कृषले कंगनाको दुव्र्यवहार र गाली गलौजका कारण यो फिल्मको काम अधुरोमै छोडेका हुन् । 

बलिउडमा कंगना र विवाद एकअर्काका पर्यायजस्तै बनिसकेका छन् । केही समय अगाडि कंगना र ऋतिक रोशनबीच लामै कानुनी झमेला चलेको थियो । त्यो विवाद शान्त हुन नपाउँदै अहिले फेरि उनको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ विवादित बनेको छ । ऋतिकको अब आउने फिल्म ‘सुपर ३०’ का वितरकहरुलाई समेत गलत सूचना दिएको आरोप कंगनामाथि लागेको छ । 

कंगनाको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को छायाँकंनको काम पूरा भइसकेको छ । पोष्ट प्रोडक्सनका क्रममा कंगना र यस फिल्मका निर्देशकबीच कलह भइरहेका खबरहरु आइरहेका छन् ।

कंगनालाई फिल्मका केही दृश्यहरु ठिक नलागेका कारण उनी ती दृश्यको सुटिङ दोस्रो पटक गर्न चाहन्छिन् । यस्तो कामलाई प्याचवर्क भनिन्छ । तर निर्देशक कृष छायाँकन भइसकेको दृश्यमा फेरि कुनै अर्को दृश्य घटाउने वा जोड्ने पक्षमा छैनन् । 

फिल्मका निर्माता कमल जैनले कंगना र कृषबीचको मनमुटाव मिलाउन कोशिश गरे पनि उनी सफल भएनन् । तसर्थ जैनले कृषलाई आफै निर्णय लिन सुझाव दिए । अहिले कृष ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को पोस्ट प्रोडक्सनको काम छोडेर हैदराबाद फर्किएका छन् ।

उनले अहिले हैदराबादमा चर्चित निर्माता, निर्देशक, अभिनेता तथा नेता एन टी रामारावको बायोपिकमा काम गर्न सुरु गरिसकेका छन् । खबरहरुका अनुसार यता कंगनाले निर्देशक कृषले नगरेको बाँकी रहेको काम आफै गर्ने निर्णय लिएकी छिन् ।  

कंगनामाथि उनी काम गर्ने फिल्ममा अभिनयका साथै अन्य पक्षमा पनि जबरजस्ती दखल दिने आरोपहरु लाग्दै आइरहेका हुन्छन् ।

कंगना अभिनित फिल्म ‘क्वीन’ को छायाँकनका क्रममा पनि निर्देशक विक्की बहलको काममा निकै दखल दिएकी थिइन् । कंगनाको दबाबका कारण बिक्कीले ‘क्वीन’को कैयौं संवाद बदल्नु मात्रै परेन कंगनालाई संवाद लेखकको रुपमा फिल्ममा नाम समेत राख्नु परेको थियो ।

साथै उनको अर्को फिल्म ‘सिम्रन’ को स्क्रिप्टमा पनि उनले धेरै फेरबदल गर्न लगाएकी थिइन् । उनले त्यस फिल्ममा आफ्नो नाम लेखकको रुपमा समेत राख्न लगाएकी थिइन् । 
 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया