जुम्लाको पातारासीमा उमेर पुगी विवाह गर्ने जोडीलाई गाउँपालिक...
मंसिर १६, २०८१ आइतबार
अहिले नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्ट बढी सङ्क्रामक छ । यस्तो खालको भेरियन्टमा बढी सचेत हुनुपर्छ । तर दुर्भाग्य हाम्रो देशमा यस्तो सङ्क्रामक भाइरस ९७ प्रतिशत देखिएको छ । पहिलो लहरको भाइरसले पाँच जनालाई सङ्क्रमित पार्न सक्थ्यो भने यो भाइरसले २५ जनालाई सङ्क्रमित पार्न सक्छ ।
यसले पाँच, सात दिनमा नै अवस्था गम्भीर बनाउँछ । यस्तै खतरनाक भएकाले नै विश्व स्वास्थ्य सङ्गठनले सचेत हुन आग्रह गरेको हो । त्यही भएर हामी सबैले कोरोना लाग्नै नदिनका लागि सचेत हुनुपर्छ । पहिलो लहरको तथ्याङ्क हेर्न हो भने दुईदेखि तीन प्रतिशत बालबालिका मात्र सङ्क्रमित भएका थिए । तर अहिले सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या १० प्रतिशतभन्दा धेरै छ ।
बालबालिका सङ्क्रमण हुने ग्राफ बढ्दो क्रममा रहेको छ । सबै उमेर समूहका लागि त जोखिमपूर्ण भयो नै बालबालिकाका लागि पनि जोखिम निम्त्याएको छ । बालबालिकामा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप पनि लगाइएको छैन । यही कारणले गर्दा बालबालिका धेरै जोखिममा रहेका हुन् ।
कोरोनाबाट बालबालिकालाई जोगाउनु हरेक अभिभावकका लागि एउटा ठूलो चुनौती हो । बालबालिकाको स्वभाव चञ्चले हुने भएकाले जतिसुकै स्वास्थ्य मापदण्डको पालना गर्न लगाउने, भनिए पनि सम्भव हुँदैन । विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइन हेर्ने हो भने ६ वर्षभन्दा माथिका बालबालिकालाई मास्क लगाइदिन हुन्छ भनेको छ । तर बालबालिकाले लगाउन नमान्ने भएकाले समस्या हुन्छ । तैपनि अभिभावकले बालबालिकालाई बारम्बार मास्क लगाउन सिकाउनुपर्छ । अहिलेको समयलाई सिकाउने अवसरको रुपमा लिनुपर्छ ।
पटक-पटक साबुनपानीले हात धुन सिकाउने, स्यानिटाइजरको प्रयोग गर्न र दूरी कायम गर्न सिकाउनुपर्छ । अहिलेको समयमा बालबालिकालाई म्वाइँ खाने वा अँगालो हाल्नु हुँदैन । सकेसम्म टाढै बसेको राम्रो हुन्छ । बालबालिकालाई पोसिलो र झोलिलो खानेकुरा खुवाउनुपर्छ । हरियो सागपात खुवाउने गर्नुपर्छ । फलफूल र गेडागुडी पनि बालबालिकालाई प्रशस्तै मात्रामा खुवाउनु पर्छ ।
अलि ठूला बालबालिकालाई योग, ध्यान र प्राणायाम सिकाउन सकिन्छ । व्यक्तिगत सरसफाइका कुराहरु पनि बालबालिकालाई सिकाउनु पर्छ । यस्ता क्रियाकलापले कोरोनाबाट जोगाउनुका साथै सरसफाइ गर्ने, हात धुने बानीले पछिसम्म पनि राम्रो गर्छ । र अरु खालका सरुवारोग वा महामारीबाट पनि जोगिन मद्दत गर्छ । सम्भव भएसम्म पोषणयुक्त खानेकुरा खानु र खुवाउनु पर्छ ।
यति गरेर मात्र हुँदैन । सरकारले पनि कोरोना नियन्त्रणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । सरकारले धेरै भन्दा धेरैलाई खोप लगाउन पहल गर्नुपर्छ । परिवार वा छरछिमेकीमध्ये धेरैले कोरोनाको खोप लगाएमा पनि बालबालिका कोरोना भाइरस सङ्क्रमणबाट अलि सुरक्षित रहन सक्छन् ।
बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण सर्ने भनेको परिवार र छरछिमेकबाट नै हो । बालबालिका समुदायमा खेल्न जान्छन् त्यही भएर सर्छ । बालबालिकामा विद्यालयबाट पनि कोरोना सर्ने जोखिम हुन्छ। विद्यालयमा शिक्षक, शिक्षिका र साथीहरुबाट कोरोना सर्ने जोखिम हुन्छ ।
खोप लगाउने दर बढेमा भाइरस सर्ने सम्भावना कम हुन्छ । अमेरिकाको फाइजर कम्पनीले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गर्ने तयारी गरेको छ । कोभ्याक्सिनको खोप पनि दुईदेखि १८ वर्ष उमेर समूहका बालबालिकामा तेस्रो र चौथो चरणको परीक्षणका क्रममा रहेको छ । यो कम्पनीको खोप भदौ, असोजसम्म बालबालिकामा कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा प्रमाणित हुन सक्छ ।
नेपालमा पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण कम भए लगत्तै स्कुल खोलेर ठूलो गल्ती भयो । दोस्रो लहरको कोरोना सङ्क्रमण आउने दुईदेखि तीन हप्तापछि कम हुन थाल्छ । त्यसपछि फेरि तेस्रो लहर आउन सक्छ । त्यही भएर अहिलेदेखि नै बालबालिकालाई अनलाइन कक्षा कसरी प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी छ । सेप्टेम्बर, अक्टोबरदेखि बालबालिकालाई बढी जोखिम हुन सक्छ । हतार गरेर स्कुल खोलिहाल्नु हुँदैन ।
कान्ति बाल अस्पतालको तथ्याङ्क हेर्ने हो भने कोरोना भाइरसको पहिलो लहरको आठदेखि नौ महिनामा ९५ जना बालबालिका कोरोना पोजेटिभ भएका थिए । जसमध्ये पाँच जना बालबालिकाले ज्यान गुमाएका थिए । तर अहिले झण्डै एक महिनाको अन्तरमा मात्रै ६५ जना बच्चामा पोजेटिभ नतिजा पाइएको छ भने तीन जनाले ज्यान गुमाइसकेका छन् ।
यसरी हेर्दा कोरोना भाइरस सङ्क्रमणका कारण बालबालिकाले ज्यान गुमाउने क्रम र सङ्क्रमित हुने ग्राफ बढ्दो क्रममा छ । एकातिर बालबालिकामा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको छ भने अर्कोतर्फ जन्मेका एक महिनाभित्रका बालबालिकामा समेत कोरोना सङ्क्रमण भएको छ । यो एकदमै दुःखद हो । कोरोना भाइरसको पहिलो लहरमा एक महिनाभन्दा कम उमेरका एक जना बालबालिका पनि सङ्क्रमित भएका थिएनन् ।
अहिले पनि आत्तिहाल्नु पर्ने अवस्था छैन । ८५ देखि ९० प्रतिशत बालबालिकामा सामान्य खालको लक्ष्यण मात्र देखिएको छ ।
मौसम बद्ली हुँदा पनि बालबालिकामा सामान्य रुघाखोकी, ज्वरो आउने समस्या हुन्छ भने कोरोनाका कारण पनि यस्ता लक्षण देखिन्छ । बालबालिकालाई एक सयभन्दा धेरै ज्वरो आएमा प्यारासिटामोल खुवाउनु पर्छ । झोल पदार्थ बढी खुवाउनु पर्छ । सरसफाइमा राम्ररी ध्यान दिनुपर्छ । मौसमी रुघाखोकी मात्रै रहेछ भने दुईदेखि तीन दिनमा ठिक हुन्छ ।
तर बालबालिकामा उच्च ज्वरो आएमा, औषधि खुवाउँदा पनि बान्ता भइरहेमा, पखाला लागेमा, खेलिरहेको बच्चा सुस्त भएमा, दुई महिनाभन्दा कम उमेर समूहको बच्चाले ६० भन्दा धेरै पटक श्वास फेरेमा, दुईदेखि एक वर्षसम्मको बच्चाले ५० भन्दा धेरै पटक श्वास फेरेको छ भने र दुईदेखि पाँच वर्षको बच्चाको श्वासप्रश्वासको दर एक मिनेटमा ४० भन्दा धेरै भएको अवस्थामा अस्पताल लैजानुपर्छ ।
त्यस्तो अवस्थामा डाक्टरले हेरेर कोरोनाको थप जाँच गर्नुपर्छ । जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन ।
(कान्ति बाल अस्पतालका निर्देशक तथा बालरोग विषेशज्ञ बिच्छासँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित )
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रा.डा.आरपी बिच्छा कान्तिबाल अस्पतालका निर्देशक तथा बालरोग विशेषज्ञ हुनुहुन्छ ।