देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेर संसद् बोलाउनुपर्छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

 असार १०, २०७८ बिहीबार १४:३५:११ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभाका सदस्य शेरबहादुर देउवाले संविधानको धारा ७६ (५) अनुसार १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका अवस्थामा राष्ट्रपतिले उहाँलाई त्यस पदमा नियुक्त गर्नुपर्ने तर्क गर्नुभएको छ ।

प्रतिनिधि सभा विघटनको खारेजी र देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइका क्रममा बहस गर्दै उहाँले प्रधानमन्त्री बन्नका लागि आवश्यक बहुमतसहितका सांसदको हस्ताक्षरसहितको दाबी पेस गर्दा त्यस पदमा नियुक्त नगरेर संविधानको उल्लङ्घन भएको बताउनुभयो ।

सर्वोच्च अदालतका पछिल्ला फैसलाले विकृत संसदीय प्रणाली सुधार गरेको उहाँको भनाइ थियो । ‘प्रधानमन्त्री रहने/नरहने भन्ने होइन, संविधान सभाले बनाएको संविधान असफल भयो भने जिम्मा कसले लिन्छ ?’, उहाँले प्रश्न गर्नुभयो, ‘धारा ७६ का सबै अधिकार मैले जे गरे नि हुने भन्ने राष्ट्रपतिलाई भयो । सदनप्रति उत्तरदायी हुनु नपर्ने त्यो अधिकार उहाँलाई छ त ?’

प्रधानमन्त्री कार्यालयबाट अघिल्लो पटक र यस पटक फरक–फरक लिखित जवाफ दिइएको जिकिर गर्दै उहाँले एक सय ४९ जनाको हस्ताक्षरसहित दाबी पेस गरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री देउवालाई नियुक्त गरेर संसद् बोलाउनुपर्ने जिकिर गर्नुभयो ।

झन्डै ५० मिनेट बहस गर्नुभएका श्रेष्ठले संविधानको धारा (७६) ५ मा आइपुग्दा सांसद स्वतन्त्र हुने जिकिर गर्नुभयो । सरकार गठनका अन्य विकल्पमा दलको संलग्नता संविधानमा नै निर्दिष्ट गरिएको उल्लेख गर्दै उहाँले दलको संलग्नतामा सरकार बन्न नसकेपछि स्वतन्त्र सांसदको हैसियतमा प्रधानमन्त्री बन्न सक्ने गरी (७६) ५ को व्यवस्था गरिएको बताउनुभयो ।

धारा ७६ (५) सांसदहरूलाई दिइएको ब्रह्मास्त्र हो । उपधारा ५ अनुसार सांसदहरूले अन्तिमसम्म पनि सरकार दिएर संसद् जोगाउन सक्छन्, उहाँले भन्नुभयो, जहाँ सांसदहरूले स्वतन्त्र रूपमा सरकार बनाएर संसद् जोगाउन सक्छन् । धारा ७६ (५) अनुसार दलको समर्थन चाहिने, अर्को दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन ।

त्यस्तै वरिष्ठ अधिवक्ता हरिहर दाहालले एक सय ४९ सांसदको हस्ताक्षरभन्दा बलियो आधार के हुन्छ भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा रातारात विघटन भयो, बिहान पनि पर्खिएन । दुई मिनेट ढिला भयो भने त बर्बादै हुन्छ कि जस्तो गरियो । राष्ट्रपतिले जसरी भए पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा टिकाइ राख्न खोज्नुभयो, रातारात भए पनि प्रधानमन्त्रीको पद जोगाउनुपर्‍याे उहाँहरूलाई ।’ 

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया