अब हप्तामा ५३ अन्तर्राष्ट्रिय उडान

 असार २५, २०७८ शुक्रबार २०:३२:४८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । भर्खरै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पठाएको छ ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब हप्तामा कुल ५३ उडान सञ्चालन गर्ने गरी विभिन्न देशका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तव्यमा भारतबाहेकका देशमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा हप्तमा दुई उडान सम्बन्धित देशका राष्ट्रिय ध्वजावाहकले गर्नेछन् । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले बुधवार र एअर इन्डियाले सोमवार गर्नेछन् ।

यस्तै नेपाल एअरलाइन्सले यूएईको दुबईमा मङ्गलवार र बिहीवार तथा नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एअरलाइन्सले आइतवार, मङ्गलवार र बिहीवार उडान भर्नेछन् । फ्लाई दुबइले आइतवार, बुधवार र शुक्रवार एक/एक उडान गर्नेछन् ।

क्यानको उडान तालिकाअनुसार कतारको दोहामा नेपाल एअरलाइन्स र कतार एअरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एअरलाइन्सलाई हप्ताकाे सोमवार, बुधवार र शनिवार उडान अनुमति दिइएको छ । ती एअरलाइन्सले साउदी अरेबियाको दमाममा हप्ताकाे चार दिन आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान गर्नेछन् । नेपाल एअरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधवार र शनिवार हप्तमा दुई उडान पाएको छ । त्यस्तै हिमालय एअरलाइन्सले बिहीवार, शुक्रवार र शनिवार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एअरलाइन्सले टर्कीको इस्तानबुलमा सोमवार, बिहीवार र शनिवार उडान गर्नेछ ।

जजिरा एअरवेजले कुवेतमा हप्ताकाे पाँच दिन सोमवार, मङ्गलवार, बुधवार, बिहीवार र शनिवार उडान गर्नेछ । सलाम एअरले ओमानको मस्कटमा हप्तामा तीन दिन सोमवार, बुधवार र शनिवार उडान गर्ने तालिका पाएकाे छ । एअर अरेबियाले आबुधाबीमा आइतवार र मङ्गलवारको उडान तालिका पाएको छ । सिङ्गापुर एअरले हरेक आइतवार काठमाण्डाै उडान गर्नेछ ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गएकाे वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको छ । अन्तर्राष्ट्रियतर्फ सम्बन्धित देशले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थप–घट गर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गएकाे वैशाख १६ देखि काठमाण्डाै उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया