६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कटरेखामाथि पुगेकै बेला परमादेश अनुसार सूर्य बालुवाटारबाट बाल्कोटमा सरेर कर्कशरेखामाथि पुग्यो । अनि कण्डारक नामक राक्षसको पूजा गरेर लुतो फाल्ने दिन सम्झँदै ओली, देउवा, प्रचण्ड र नेपाल कचकच र छटछट नामक प्रवृत्तिको पूजा गर्दै आआफ्नो घरमा लुतो फाल्न बसे ।
चलनचल्ती अनुसार लुतो फाल्दा जोडा कागती, निबुवा, अम्बा, अनार, नासपाती, कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका फलफूल र वनस्पति चाहिन्छ । तर नागरिकले त लुतो फाल्न चाहिने यी सरसामग्री बिर्सिसकेको बेला नेताहरुले सम्झने कुरै भएन । त्यसैले लुतो फाल्न उनीहरुले आआफ्नै परिवेश अनुसार परमादेश, जनादेश, अध्यादेश, विध्यादेश, आवेश र द्वेषको सहारा लिए ।
सबैभन्दा पहिले लुतो फाल्न अघि सरे प्रधानमन्त्री देउवा । पुरानो बोतलमा भर्खर भरेको रक्सी । लुतो फाल्ने दिन नै बालुवाटारको बसाइँ सराई । धेरै वर्षपछि बास नै बस्ने गरी बोको र पोको बोकेर आइपुगेको ठाउँ । सर्वोच्चको आशीर्वाद र ज्योतिषीको कृपाले पाएको प्रधानमन्त्री पद नै कताकता लुतो जस्तो नलागेको पनि होइन । तर बालुवाटार पुगेपछि देउवालाई लुतो आफैँ फालेजस्तो भयो । लुतोको मज्जा फाल्नुमा भन्दा कन्याउँनुमा छ भन्ने अनुभव देउवासित धेरै नै छ । तै पनि फाल्नै त परि गयो । खै खै यता आउ, त्यो ल्याउ, यसो गर, त्यसो गर भन्दै उनी आँगनमा निस्के । आफूलाई प्रधानमन्त्री बनाउन सर्वोच्चले गरेको परमादेश प्रिन्ट गर्न लगाए । झण्डै किताबको ठेली आकारको परमादेशलाई हातमा राखेर ढोगे । कोटको खल्तीबाट ज्योतिषीले बनाएको चिना झिके र दुई ‘चुम्मा’ दिए । सर्वोच्चतिर फर्केर ‘फ्लाइङ किस’ गरे । सर्वोच्चको परमादेश र ज्योतिषीको चिनालाई नाङ्लोमा राखे । भित्रबाट प्रचण्ड र माधव नेपालको फोटो मगाए र नाङ्लोको अर्को छेउमा राखे । हातमा पानी लिएर प्रधानन्यायाधीशदेखि विजय गच्छदारसम्मको नाम सम्झँदै नाङ्लोमाथि धूपअक्षता र फूलपाती चढाए । बालुवाटारको भित्तामा टाँसिएको राष्ट्रपतिको फोटोतिर हेरेर आँखा तरे । अनि तल भुइँमा मिल्किरहेको ओलीको फोटो हातमा लिएर बालुवाटारको आँगनबाट हुत्त तलतिर बत्याउँदै फलाके : लु भनेर भन्देखिलाई लुतो त छैन, तर पनि ला लुतो, लैजा पिलो, यहाँ बसेर बल्झेको खटिरा, पटिरा सबै उतै लैजा है ओली ........... ।
ओली पनि के कम । ‘लुताले दशा ल्याउँछ, पिलाले दशा लग्छ’, ‘लुतेलाई काउसाको मालिस’, ‘लुतो कन्याएको सञ्चो’, ‘लुतो न कन्याइ, मलाई केको बलाइ’ भन्ने उखान भट्याउँदै बाल्कोटको बाल्कोनीमा निस्के । बसेर चुच्चे नक्सादेखि चुच्चे रेलसम्मका फोटो जम्मा पारे । प्रधानमन्त्री हुँदा भाषण गरेका आश्वासन र दाबीका कागजातको चाङ लगाए । राष्ट्रपतिदेखि महेश बस्नेतसम्मको फोटो नाङ्लामा राखे । दुवै हातमा अटाइनअटाइ प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, झलनाथ खनाल, प्रधानन्यायाधीश, वकिलका फोटो बोकेर कोटेश्वरतिर बत्ताउँदै फलाके : जनै खटिरा लाग्यो भन्दै मलाई लुतो फाले झैँ फाल्ने कोटेश्वरका लुते बाहुनलाई कहिल्यै बल्खु नफर्कने गरी लैजा है देउवा र प्रचण्ड.... ।
बालकोटबाट फ्याकेको लुते अगुल्टो कोटेश्वरतिर आउँदै गरेको थाहा पाएपछि नेपालले पनि हत्तपत्त नाङ्लामा प्रचण्ड, देउवा, बाबुराम, उपेन्द्रको फोटो राखे । एमालेको झण्डा उल्टो पारेर समाते । ‘ओली बा, ओली बा...’ भन्दै बाहिर लागेको नाराको भन्दा चर्को स्वरमा ‘देउवा, देउवा..’ भन्दै मन्त्र फलाके । हँसिया हथौडाबाट हथौडा झिकेर अगुल्टो बनाए । त्यही अगुल्टोमा ओलीको फोटो झुण्ड्याएर बाल्कोटबाट आएको अगुल्टोलाई ठोकाउने गरी बेस्सरी हुत्याउँदै फलाके : वर्तमान परिप्रेक्ष्यमा खुच्चिङ, खाइस्, देखिस्, लौजा....लुतो, पिलो, जनैखटिरा लैजा है बाल्कोटे !
बालुवाटार, कोटेश्वर र बाल्कोटबाट अगुल्टो हानाहान गरेको देखेपछि खुमलटारमा बसेर माधव नेपाल र विप्लवसँग हात मिलाएको तस्बिर हेर्दै मुस्कुराइरहेका प्रचण्ड पनि हतारिँदै आँगनमा निस्के । देउवा र नेपालकै विधिमा नाङ्लामा सरसामाना जोरजाम गरे । देउवापछि मेरै पालो भन्दै मनमनले मन्तर फुके । अगुल्टो फाल्नुको सट्टा गोली नै फाल्ने हो कि भनेर आफूले सिरानीमुनि राखेको गोली गट्ठा कतै खसेको पो छ कि भनेर यताउति हेरे ।
घरको मालमत्ता सिभिल होमबाट आएको नातिले खेलाउन लगेको थाहा पाएपछि अस्ति भेट्न आएका विप्लवले कतै छोडेर हिँडे कि भनेर सोफाको कुनातिर खोजे । गोली र बन्दुक नभेटेपछि निराश भए र आँगनको डिलमा फुल्दै गरेको सयपत्रीको हाँगो उखेलेर बाहिर हुत्याउँदै फलाके : मने निश्चित रुपमा बाल्कोटेले फालेको कोटेश्वरको लुतोलाई हामी लुलो सम्झँदैनाैँ। मेरो इशारा अनन्तकालसम्म चल्ने बलियो टेवाको रुपमा लिनेछौँ । बादल, टोपबहादुर, मणिहरुका लुतो चाहिँ कहिल्यै यता नफर्कने गरी उतै लैजा है बाल्कोटे !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।