पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – बिहानी घामका किरणले घाँसमाथिको शीत धर्तीमा झार्नु पहिल्यै आइपुग्छन् पारिलो घाम ताप्न भेडाका बथान । सेताम्य हिमालमा ठोक्किएर आएको हावाको झोक्काले पर्यटकको गलबन्दी उडाइदिन्छ र खुच्चिङ गर्छ । म्याग्दीको सुन्दर खोप्रालेक कोरोना छल्न आउने पर्यटकको बाटो ढुकी बसेको छ अचेल ।
वरिपरीबाट पहाडले घेरिएको । बीचमा केही समथर अनि अलिकति माथि उठेको भू–भाग । हरियाली वनजङ्गल, संरक्षित र लोपोन्मुख वन्यजन्तु जनावर एवं पशुपंक्षीको बासस्थान । मौसम सफा भएर आकाश खुलेको बेला हिमाल र ग्रामीण वस्तीको सौन्दर्य छर्लङ्गै देखिन्छ । तरेली परेका पहाड तथा नागबेली डाँडाको दृश्य धीत मरुन्जेल हेर्न पाइन्छ । त्यसैमाथि सेताम्य हिश्रृङ्खलासँगै सूर्योदय र सूर्यास्तका सुनौला किरणले मनको अन्तर छोइदिन्छ । यही नै हो खोप्रालेकको विशेषता ।
म्याग्दीमा यस्ता डाँडाकाँडाहरु धेरै नै छन् । जुनसुकै ठाउँमा पुगे पनि हिमाल नदेखिने डाँडाकाँडा छैनन् भन्दा फरक नपर्ला । त्यसैमध्येको एक हो खोप्रालेक क्षेत्र । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको पाउद्वार गाउँदेखि माथि पर्ने खोप्रालेक पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ । खोप्रालेक क्षेत्रमा पाउद्वारका कृषकहरुले वर्षौदेखि व्यावसायिक रुपमा चौंरी र भेडापालन गर्दै आइरहेका छन् ।
खाेप्रालेक क्षेत्रमा पुगेपछि नजिकैबाट हिमालको दृश्य नियाल्न पाइनुका साथै हिमालसँगै लुकामारी खेल्न पाइन्छ । ग्रामीण सौन्दर्यमा मनलाई भुलाउन सकिने । लेकाली उत्पादनको स्वाद चाख्न पाइने । प्रसिद्ध खयरभारानीको दर्शन गर्न मिल्ने । मगर संस्कृतिको कला, संस्कृतिको अवलोकन हुने । चौंरीगाई र भेडासँगै फोटोसेसन पनि हुने । खोप्राको पाखामा बिहानैदेखि बेलुकासम्मै चौंरीगाई र भेडा चर्ने गर्दछन् । त्यहाँ पुगेका पर्यटकहरु तिनै चौंरीगाई र भेडालाई पृष्ठभूमिमा पारेर हिमालसँगै फोटो र सेल्फी खिच्न खुब लालायित हुन्छन् ।
पर्यटकीय सम्भावना बोकेको खोप्रालेकमा स्थानीयले सामुदायिक लज पनि सञ्चालन गरेका छन् । पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न लज निर्माण तथा खोप्रासम्म पुग्न र त्यसभन्दा माथि पनि पदमार्ग निर्माण गरिएको छ । लालीगुराँससहित बहुमूल्य जडीबुटीहरु पाइनु खोप्रालेक क्षेत्रको अर्को थप आकर्षण हो । खोप्रालेकबाट नजिकै बराहशिखर तथा अन्नपूर्ण हिमाल देखिन्छ । यसका साथै धौलागिरि, नीलगिरि, टुकुचे पिकलगायत अन्नपूर्ण र धौलागिरि रेञ्जका अधिकांश हिमालहरु देखिन्छन् ।
समुन्द्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित खोप्रालेकबाट पर्यटकीयस्थल पुनहिल, घोरेपानी, महरेडाँडासहित अन्नपूर्ण गाउँपालिकाको अधिकांश भू–भागहरु देख्न सकिन्छ । यसैगरी रघुगंगा गाउँपालिका २ राखुभगवतीको रुइसे भेडिओढार तथा छिमेकी जिल्ला मुस्ताङ र कास्कीको समेत डाँडाकाँडाहरु देखिने नमस्ते होटल एण्ड रेष्टुरेण्ट पाउद्वारका सञ्चालक आशबहादुर तिलिजाले जानकारी दिनुभयो ।
खोप्रालेक पुग्दा हिमश्रृङ्खलाको साथमा जङ्गली पशुपंक्षीहरु मृग, घोरल, भालु, डाँफे, मुनाललगायत जनावर र पंक्षीहरुको अवलोकन गर्न पाइन्छ । पर्यटकीय क्षेत्र खोप्रालेकको भ्रमणमा पुग्नुभएका आन्तरिक पर्यटक विजय घर्तीले खोप्रालेक पुग्दा आफूलाई आनन्दको अनुभूति मिलेको अनुभव सुनाउनुभयो ।
खोप्रालेकमा धेरै पहिले एकदमै राम्रो सुनबगी र दुधबगी जातको घाँस पलाउँथ्यो । यो घाँस भैंसीले धेरै मन पराउने भएकाले घाँस खुवाएमा भैंसीबाट धेरै दुध दुहुन सकिने कृषकहरु बताउँछन् । घाँस राम्रो उत्पादन भएको र धेरै दुध दिने हुनाले गाउँका कृषकहरुले खोप्रामा भैंसी चराउन लैजान्थे ।
असार, साउनमा भैंसी ब्याउने भएकाले भिरालो तथा वर्षात्को समय चिप्लो हुनेहुँदा भैंसी ब्याएपछि पाडा चिप्लिएर तलसम्मै खस्ने गरेको किम्बदन्ती छ । चिप्लिएर खसेको पाडा खोज्न कृषक र गोठालाहरु जानुपर्ने भएकाले खोपारा नाम रहेको हुँदा खोपारा भन्दाभन्दै अपभ्रंश भई कालान्तरमा आएर खोप्रालेक नामाकरण भएको पाउद्वारका स्थानीय अगुवा लेफ्टिनेन्ट राजु पुनले बताउनुभयो । पछिल्लो समय खोप्रालेक क्षेत्रमा स्थानीयको अगुवाइमा सामुदायिक लज निर्माणसँगै खोप्राको प्रचारप्रसार गरेपछि अहिले खोप्रालेक क्षेत्र पर्यटकीय गन्तव्य बनेको उहाँले जानकारी दिनुभयो ।
खोप्रालेकको भ्रमण गर्न विगतमा विदेशी पर्यटकहरु जर्मन, अस्टेलिया, अमेरिका, भारत, क्यानडा, स्विजरल्याण्डबाट नेपाली गाइडसहित पुग्थे । यस्तै म्याग्दीसहित बागलुङ, पर्वत, पोखरा, काठमाण्डाै, हेटौंडा, चितवनलगायत ठाउँबाट स्वदेशी पर्यटकहरु खोप्रालेक पुग्ने गरेका छन् । पछिल्लो समय विदेशीभन्दा स्वदेशी पर्यटकहरु धेरै आउने गरेको पाउद्वारका स्थानीय समेत रहनुभएका होटल सञ्चालक तिलिजाले बताउनुभयो । खोप्रालेकमा खासगरी चैत–बैशाख, जनैपूर्णिमा र तिहारपछि पर्यटकहरु पुग्छन् ।
म्याग्दी सदरमुकाम बेनीबाट पाउद्वार गाउँसम्म जीप चढेर सजिलै पुगिन्छ । पाउद्वार गाउँमा मगर समुदायको कला, संस्कृति र भेषभूषाको अवलोकन गर्न पाइन्छ । पाउद्वारमा एकरात बास बसेर भोलिपल्ट लरेनी पुगेर खाना खाने र त्यसपछि उकालो यात्रा गरेर खोप्रालेक पुग्न सकिन्छ । खोप्रालेक पुगेको भोलिपल्टै वा अरु दिन फर्कन सकिन्छ ।
खोप्रालेक क्षेत्रको भ्रमणमा निस्कने पर्यटकहरुलाई लक्षित गरेर खोप्रालेकमा सामुदायिक लज (हाेम स्टे) निर्माण भएको छ । सामुदायिक लजमा रहेका दुईवटा भवनको २० वटा कोठामा ३६ जना पर्यटकहरु अटाउँछन् भने टनेलामा १ सयजना पर्यटक अट्न सक्ने क्षमता रहेको छ । त्यस्तै लजको टेन्ट हाउस तथा अन्य ठाउँमा गरी एक रातमा झण्डै २ सयजना भन्दा बढी पर्यटकहरु बास बस्न सक्छन् । बेलुका खोप्रालेक पुगेर सामुदायिक लजमा बास बस्ने र बिहान सबेरै उठेर मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।