६ महिना नपुग्दै उप्कियो कालोपत्र, वर्षा रोकिएपछि त्रुटि सच्याइने

 भदौ ११, २०७८ शुक्रबार १४:४६:१५ | रासस
unn.prixa.net

ललितपुर – कालोपत्र गरेको ६ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकाेमा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको हो । 

२० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकाेमा विस्तार गर्न नसकिएपछि उपलब्ध चौडाइमै कालोपत्र भएको थियो । उपलब्ध पाँच/छ मिटर चौडाइमा कालोपत्र भएको थियो ।

सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकमा भएको ३०/४० वर्ष पुराना पाइप फुटेर पानी जम्दा पनि कालोपत्र उप्काएको हुन सक्ने आयोजना प्रमुख गुरु अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकातिर वर्षा र अर्कातिर पाइप फुटेकाले सडकमा पानी भरिएर कालोपत्र उप्केको छ ।

पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको आयोजनाले जनाएको छ । टाखेल–सुनाकोठीसम्मको सडक गएकाे वर्षामा जुन अवस्थाको थियो अहिले पनि त्यही अवस्थामा पुगेको छ । सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले त्रुटि भएको स्वीकार गरेको र ती कम्पनीलाई आफ्नै खर्चमा कालोपत्र गर्न भनेको प्रमुख अधिकारीले बताउनुभयो । पानी रोकिएपछि बिग्रिएको खण्डमा सरकारले थप खर्च नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसायीले आफ्नै खर्चमा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।’

साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने धेरै ताैभ भएकाे (हेभी) उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ । ग्राभेल (बेस) र त्योभन्दा तल्लो तह (सवबेस) लाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरि कालोपत्र भएको थियो । स्थानीयवासीले रोलिङ गर्दा कम्पनीले पुरानो घरलाई असर पार्ने वा भत्किन्छ भनेर रोलिङ गर्न नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राभेल खँदिलो (कम्प्याक्ट) हुन नपाएपछि प्वाल–प्वालबाट पानी छिरेको थियो ।’

पुनः कालोपत्र गर्दा सडक पहिले जसरी उप्कन नपाओस् भनेर स्थानीयवासीसँग छलफल गरेर मात्रै काम अघि बढाइने भएको छ । फेरि पनि रोलर गर्न नदिएमा सडकको ठाउँ–ठाउँमा पानी पस्ने भएकाले छलफलबाटै समाधान खोज्न लागिएको प्रमुख अधिकारीले बताउनुभयो । अब निर्माण गरिने सडकका बीच भागमा पानी तैरने गरी पोलिथिन पाइप राखिने भएको छ । पाइपको माथिल्लो आधा भागमा प्वाल पारिने आयोजनाले जनाएको छ । सवबेस र बेसको पानी चुहिएर प्वालबाट पाइपमा जाने र पछि पाइपबाट बाहिर निकाल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तैरने पानीलाई नालीमा पठाएपछि सडकमा त्यसले असर गर्दैन ।’ 

निर्माण भएको छोटो समयमा नै सडक कालोपत्र उप्कनुमा निर्माण व्यवसायीको थोरै गल्ती भए पनि त्योभन्दा बढी अरू कारण भएको प्रमुख अधिकारीले बताउनुभयो । सडकमा पानी तैरने ठाउँ नभएकाले जमेर बिग्रिएको देख्न सकिन्छ । उहाँले भन्नुभयो, ‘जहाँ–जहाँ पानी जमेको छ, त्यही सडक बिग्रिएको छ ।’ लामो समयसम्म अवराेध भएकाे सडक निर्माण भएको केही समयमा नै भत्किएपछि आयोजनाले अब के गर्ने भनी पालिका, प्रदेश र प्रतिनिधि सभाका सांसदसँग छलफल गरिरहेको छ । पहिले पनि ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र त्यहाँका वडासँगको समन्वयमा निर्माण अघि बढाइएको थियो । उहाँले भन्नुभयो, ‘अहिले पनि समन्वयमा नै काम हुनेछ ।’

निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने देखिन्छ । निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने अवधि हुन्छ । त्यही अवधिमा सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ । सडकमा ठाउँ–ठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन् । तत्काल कालोपत्र गर्न नसकिने भए पनि ग्राभेलले टाल्ने योजना बनाइएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अहिले कालोपत्र नै गर्न नसकिए पनि ग्राभेल गरेर खाल्डा पुरे सडक हिँड्नका लागि सजिलो बनाइने बताउनुभयो । यस सडकमा वर्षायामपछि कालोपत्र गर्ने काम सुरु गर्ने सहमति भएको उहाँले बताउनुभयो । आयोजनाले २० मिटर चौडा र दायाँ–बायाँ नाली बनाउने भने पनि त्यो नहुँदा सडकमा चाँडो समस्या आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘स्थानीयवासीलाई मुआब्जा दिन नसकिएपछि सडक ठूलो बनाउन सकिएन र चाँडै कालोपत्र भत्कियो ।’

सडक निर्माण दशैँ–तिहारमा सकिने प्रमुख महर्जनले बताउनुभयो । सडक साँघुरो भए पनि नाली खोलेर सडक निर्माण गरिने उहाँले बताउनुभयो । ‘आयोजनाको समन्वयमा नै केही दिनमा सडक मर्मत सुरु हुँदैछ’, उहाँले भन्नुभयो, ‘दुई/चार दिन घाम लागेमा काम अघि बढाइनेछ ।’ ढोलाहिटीबाट चापागाउँसम्मको सडकमा खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र ठाउँमा एक लेनको सडक मात्रै छ । चापागाउँ, ठेचो, सुनाकोठीलगायतका ठाउँमा सडक साँघुरा छन् । 

झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/०७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नभएकाले अवधि थप हुँदै आएको छ । गएकाे आवमा कोभिडका कारण अवरोध पुगेकाे सडकमा ६ महिना समय थप्ने सरकारले निर्णय नै गरेको थियो । चालु आवमा पनि सरकारले ६ महिना समय थप्ने निर्णय गरिसकेको छ । 

सडक विभागले झन्डै पाँच वर्ष पहिले उपत्यकाका व्यस्त सडकमध्ये ८९ किमी सडक विस्तार गर्ने कार्यक्रम तय गरेको थियो । त्योभन्दा पहिले विस्तारका क्रममा रहेका सडक सम्पन्न गरी ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता भएको थियो । त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२ दशमलव ४८ किमी, चावहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो आठ सय मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी खोला तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारकाे क्रममा रहेको छ । तीमध्ये अहिलेसम्म नागढुङ्गा–त्रिपुरेश्वर–नागढुङ्गा सडक मात्रै सम्पन्न भएको छ । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया