६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेटमा विगतभन्दा कम विनियोजन गरेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटमा कटौती भएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।
यसअघि पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेटमार्फत् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट ६ अर्ब रुपैयाँबाट बढाएर १० अर्ब रुपैयाँ पुर्याउनुभएको थियो । अहिले यो बजेट पुनः करिब २ अर्बले घटेर करिब ८ अर्ब ९० करोडमा खुम्चिएको छ ।
कोरोना कहरले थिलथिलो भएको समग्र शैक्षिक क्षेत्रको पुनर्निर्माण र विकासका लागि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बेलामा बजेट कटौतीले शिक्षा क्षेत्र झन् निरुत्साहित भएको छ । गत शैक्षिक सत्रबाट समग्र शैक्षिक क्षेत्र कोरोनाका कारण अस्तव्यस्त र छिन्नभिन्न भएको अवस्थामा सोको पुनर्निर्माण र सम्भारसमेत गर्न शिक्षामा बजेट उत्साहजनक हुनुपर्ने हो तर, नियमित र सामान्य प्रक्रियाका रूपमा अपेक्षा गरेभन्दा उपेक्षित हुने अवस्था सिर्जना हुनु राम्रो होइन । देशको मानव संशाधन निर्माण गर्ने मुख्य थलो शिक्षा क्षेत्रका लागि बजेट अपर्याप्त भइरहेको सन्दर्भमा शिक्षामा बजेट पुनः घटाइनुले सरकार देशको शैक्षिक विकासमा संवेदनशील छैन कि भन्ने आशंका बढेको छ ।
आ–आफ्नो चुनावी घोषणापत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन गर्ने प्रतिबद्धता गरेका थिए । यद्यपि कुनै पनि सरकारले सो चुनावी प्रतिबद्धताअनुसार शिक्षामा बजेट छुट्याएको पाइँदैन ।
विसं २०७४ पछि एमाले, कांग्रेस र माओवादी केन्द्र आलोपालो सरकारमा आए पनि कुल बजेट बढ्दा शिक्षा बजेटको आकार भने ११ दशमलव ६४ प्रतिशतभन्दा बढ्न सकेन । २०७७/०७८ मा सबैभन्दा बढी ११ दशमलव ६४ प्रतिशत, २०७६/०७७ मा १० दशमलव ६८ र २०७५/०७६ मा १० दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको थियो । त्यसअघि आव २०६९/७० मा भने शिक्षा क्षेत्रको बजेट १५ दशमलव ६८ प्रतिशतसम्म पुगेको थियो । यसअघिको सरकारले अध्यादेशमार्फत शिक्षा क्षेत्रमा १० दशमलव ९३ प्रतिशत बजेट छुट्याएको थियो भने वर्तमान सरकारले यतिबेला प्रतिस्थापन बजेटमार्फत १० दशमलव ९१ प्रतिशत छुट्याएको छ ।
सरकारले केही वर्षअघिदेखि शैक्षिक पूर्वाधार निर्माणमा केन्द्रित गरी सामुदायिक विद्यालयको स्तरोन्नति गर्न विगतदेखि नै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । कार्यक्रमअन्तर्गत गत वर्ष देशभरका ४ हजार २ सय ५० विद्यालयलाई छनोट गरी प्रतिविद्यालय ६ लाख ५० हजारदेखि १ करोडसम्म बजेट उपलब्ध गराइएको थियो । जसअन्तर्गत ती विद्यालयहरुको भौतिक अवस्थामा स्तरोन्नति भई शैक्षिक गुणस्तरसमेत प्रभावकारी बनिरहेको थियोे । यस वर्ष शिक्षामा बजेट घटेका कारण त्यो कार्यक्रम प्रत्यक्षरुपमा प्रभावित भएको छ । यसले सामुदायिक विद्यालयहरुको भौतिक स्तरोन्नति अभियान अलपत्र पर्ने त होइन भन्ने आशंका बढेको छ । त्यसको व्यवस्थापन सरकारले कसरी गर्ला ? त्यो हेर्न भने बाँकी नै छ ।
विगतमा विभिन्न ६ क्षेत्रमा केन्द्रित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र पुनर्संरचना गर्न भवन निर्माण, मर्मत–सम्भार र प्रबलीकरण गर्ने तथा विज्ञान तथा सूचना प्रविधि प्रयोगशालाको स्थापना, विकास, सञ्चालन र प्रयोगशालाको सामग्रीको व्यवस्थापन गर्ने कुरा योे कार्यक्रममा उल्लेख छ । यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन हुने विद्यालयको भौतिक पूर्वाधार विकास र उच्च शिक्षा प्रदायक सार्वजनिक शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासमा कार्य गर्ने गरी कार्यविधिले क्षेत्र निर्धारण गरेको छ । बजेटमा कमी हुँदा ती कार्यक्रमको निरन्तरतामा एकखालको ‘ब्रेक’ लाग्ने अवस्था देखिँदैछ ।
यतिखेर सार्वजनिक शिक्षामा लगानी वृद्धि गरी देशको शैक्षिक गुणस्तर सुधार्नुपर्ने टड्कारो आवश्यकता छ । सार्वजनिक शैक्षिक संस्थाको भौतिक पूर्वाधार विकास र पुनर्संरचना तथा विद्यार्थीको सिकाइ उपलब्धी स्तर अभिवृद्धिमा केन्द्रित गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ ।
कोरोनाका कारण विद्यालयमा भौतिक उपस्थितिको सम्भावना नरहेपछि शिक्षालाई डिजिटलीकरण गर्नैपर्ने अपरिहार्य छ, तर अधिकांश सामुदायिक विद्यालयहरु अनलाइनको पहुँचभन्दा बाहिर छन् । गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन तथा सिकाइ सामग्री व्यवस्थापन र प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।
केही सीमित विद्यालयलाई छोडेर नेपालका समग्र सामुदायिक विद्यालयहरुको भौतिक अवस्था यतिबेला अत्यन्त नाजुक छ । जीर्ण भवन, मापदण्ड नै नपुगेका कक्षा कोठाहरु, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षका अभाव वषौँदेखिका समस्या हुन् । खानेपानीको व्यवस्था र शौचालयसमेत नभएका विद्यालयहरु अझै पनि सयौँको संख्यामा छन् । यो दुरवस्थामा रहेका विद्यालयहरुमा भौतिक पूर्वाधार विकास र पुनर्निर्माणविना गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्न । वाईफाईको सुविधा वा थ्रीजी–फोरजी नेटवर्कको उपलब्धता नहुँदा कोरोना अवधिमा अधिकांश सामुदायिक विद्यालयको पठनपाठन लामो समयदेखि ठप्प छ ।
प्राय सबैजसो शहरी क्षेत्रका संस्थागत विद्यालयहरुमा धमाधम अनलाइन कक्षाहरु चलिरहँदा ग्रामीण क्षेत्रका सबैजसो सामुदायिक विद्यालयका विद्यार्थीहरु शिक्षाको अवसरबाट वञ्चित हुनुपरेको दयनीय अवस्था हामीले भोगेकै छौँ । अनलाइन नपुगेका विद्यालयमा अनलाइन सुविधा पुर्याउनैपर्ने वर्तमान परिस्थितिमा शिक्षा क्षेत्रमा गरिएको बजेट कटौतीले पक्कै पनि शिक्षा क्षेत्रमा नकारात्मक असर पर्ने देखिन्छ ।
अबको विद्यालय प्रमाणपत्र मात्र दिने विद्यालय नभई व्यावहारिक सीप र गुणस्तरीय शिक्षा दिने विद्यालयको रूपमा परिणत हुनु जरुरी छ । राज्यको शिक्षा देश निर्माणको जग भएको हुनाले सामुदायिक शिक्षा प्रणालीमै आमूल परिवर्तनको खाँचो एकातिर छ भने नयाँनयाँ योजनासहित अघि बढ्नुपर्ने जरुरी अर्कोतिर छ । तसर्थ कमी कमजोरीहरू हटाएर राज्यको आवश्यकता र समयको मागअनुसारको जनशक्ति उत्पादनमा गर्न लाग्नुको विकल्प छैन । देशको समृद्धि शिक्षामा गरिने लगानीमा निर्भर गर्दछ । सरकारको प्रमुख प्राथमिकताको क्षेत्र शिक्षा हुनुपर्दछ र बजेटको तर्जुमा तदनुरुप हुनैपर्ने आवश्यकता छ ।
वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत प्राविधिक विषय पढ्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका नमुना विद्यालयमा कार्यान्वयन गर्ने कार्यक्रम घोषणा गरेको छ । शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । शिक्षकहरूले राष्ट्रसेवक कर्मचारीहरू सरह सेवासुविधा नपाएको र दोस्रो दर्जाका रूपमा राज्यले हेर्ने गरेको भन्ने गुनासा पटक–पटक आइरहँदा शिक्षक अस्पताल निर्माणको अवधारणा तमाम शिक्षकहरुका लागि खुशीको कुरा हो ।
त्यसो त गएका वर्षहरुमा सामुदायिक विद्यालयहरुमा गरिएको राज्यको लगानी बालुवामा पानी खन्याएसरह भएका टिप्पणी नआएका होइनन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लक्ष्यअनुरुप प्रभावकारी नभएको, बजेट नै खपत हुन नसकेको, विद्यालयको छनोट आवश्यकताभन्दा पनि राजनीतिक आस्था र पहुँचका आधारमा हुने गरेको जस्ता कुराहरु बारम्बार आउने गरेका छन् । शैक्षिक क्षेत्रलाई राजनीतिको भर्तीकेन्द्र बनाउने प्रयास राजनीतिक दलहरुबाट हुने गरेकोले पनि शैक्षिक सुधार कार्यक्रम आलोचनाबाट मुक्त हुन नसकेको यथार्थ हो ।
दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने थलो शिक्षा भएकोले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप मनग्गे बजेट छु्ट्याउनु जरुरी देखिन्छ । विद्यालयको भौतिक, सूचना प्रविधि तथा अन्य क्षेत्रको विकासमा टेवा पुग्ने योजनामा बजेट लगानी नगर्दासम्म सामुदायिक विद्यालयको कमजोर गुणस्तरमा सुधार हुन सक्दैन । यसर्थ पनि गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधिलगायत प्राथमिकताका आधारमा बजेट विनियोजन जरुरी देखिन्छ ।
यसर्थ, विगत वर्षहरूमा लक्षित कार्यक्रमको कार्यान्वयन पक्षमा भएका कमजोरीलाई हटाउँदै आवश्यक कार्यविधि तथा मापदण्ड निर्माणमा सरकार लाग्नैपर्ने आवश्यकता छ । राजनीतिक प्रभाव र पहुँचका आधारमा कार्यक्रम छनोट हुने परिपाटीलाई अन्त गरी आवश्यकताका आधारमा विद्यालयको पूर्वाधार निर्माण गर्नु र विद्यालयलाई प्रविधिमैत्री बनाउनु उत्तिकै जरुरी छ । सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र पुनर्निर्माण गरी शैक्षिक गुणस्तर वृद्धिका लागि यथेष्ट बजेटको व्यवस्था गर्नु सरकारको कर्तव्य र जिम्मेवारी दुवै हो । सरकार यो कर्तव्य र जिम्मेवारीबाट नचुकोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।