सैन्य शासन लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपति...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – अघिल्लो वर्ष कोरोनाको कारण राम्रोसँग दशैं मनाउन नपाएका नेपालीलाई यसवर्ष छिटै दशैं लागिसकेको छ । कोरोना सङ्क्रमण घटेसँगै बजारमा चहलपहल बढेको छ ।
पहिलेका वर्षहरुमा अलि ढिलो गरी देखिने दशैंको चहलपहल यस वर्ष छिटो देखिएको छ । फेन्सी पसलदेखि फुटपाथमा पनि उत्तिकै भीड छ ।
दशैंकै लागि बैंकहरुले नयाँ नोट साट्न थालिसकेका छन् । खाद्य संस्थाले सहुलियत पसल सञ्चालन गरेको छ । गाडीको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ ।
दशैंको छेको पारेर विभिन्न निजी व्यापारिक कम्पनीहरुले पनि छुट तथा उपहार घोषणा गरेका छन् ।
दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे गाडी कम्पनी, मोबाइल कम्पनी लगायत अन्य घरायसी सामान उत्पादकहरुले विभिन्न छुट तथा उपहार लिएर आएका छन् ।
नयाँ नोट
दशैंमा नयाँ नोट दक्षिणाका रुपमा आदानप्रदान गर्ने चलन छ । यसका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गर्छ । गएको वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । अहिले भने कोरोना सङ्क्रमण कम भएसँगै राष्ट्र बैंकले नयाँ नोट वितरण थालेको हो ।
असोज ४ गतेदेखिनै नयाँ नोट वितरण सुरु भैसकेको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका क्षेत्रीय कार्यालय तथा अरु बैंकहरुबाट समेत नयाँ नोट वितरण गरिने भएकोले यसवर्ष पहिले जस्तो भीडभाड देखिएको छैन । पहिले पहिले नयाँ नोट लिन राष्ट्र बैंक अगाडि रातभरसमेत लाइन लाग्नुपर्ने बाध्यता थियो ।
अग्रिम टिकट बुकिङ
सरकारले यस वर्षको दशैंका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन थालेको छ ।
अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ वटा टिकट काउण्टर थप गरिएको छ । भने ३२ वटा काउण्टरबाट नियमित टिकट बिक्री हुने गर्छ ।
नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुवात गरिएको छ ।
काठमाण्डौ बाहिरबाट आएर विभिन्न काम, पढाइ, जागिर तथा व्यापार/व्यवसाय गरेर बसेकाहरुलाई दशैं मनाउन घर जान सहज होस् भन्नका लागि अग्रिम टिकट बुकिङको व्यवस्था गर्ने गरिएको छ । अनलाइनबाट पनि बसको टिकट लिन सकिन्छ ।
सुपथ मूल्य पसल
हरेक वर्षको दशैं झैँ यसपटक नेपाल खाद्य संस्थानले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि सुरु भएको सुपथ मूल्य पसलमा विशेष गरी दैनिक उपभोग्य खाद्य वस्तुहरु बिक्री गर्ने गरिन्छ ।
सरकारले सुरु गरेको सुपथ मूल्य पसलमा खाद्य सामग्रीहरूमा प्रतिकिलो ५ रुपैयाँदेखि १० रुपैयाँ सम्म छुटको व्यवस्था गरिएको छ । चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिलिटर ५ रुपैयाँ, कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो १० रुपैयाँ र जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरेको छ ।
काठमाण्डौ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण भइरहेको छ । भने लगनखेलमा सहकारी मार्फत बिक्री वितरण हुने गरेको छ ।
खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । जसमा काठमाण्डौ उपत्यका बाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट बिक्री वितरणको व्यवस्था गरिएको छ ।
दशैंका लागि आवश्यक खसीबोका तथा च्याङ्ग्रा भने घटस्थापनादेखि बिक्री सुरु हुनेछ । काठमाण्डौ उपत्यकाको लागि मकवानपुर र दाङबाट २ हजार वटा खसीबोका ल्याउन लागिएको छ ।
जिउँदो खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
दुई पाङ्ग्रे तथा चार पाङ्ग्रेमा छुट
दशैंको छेको पारेर मोटरसाइकल कम्पनीहरुले पनि थुप्रै छुट तथा उपहारको अफर लिएर आएका छन् । होण्डाले अधिकतम ३५ हजार नगद छुट तथा लक्की 'ड्र' मार्फत सातै प्रदेशमा एक/एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको छ ।
यामाहाले ८ हजारदेखि एकलाखसम्मको हात खाली नजाने उपहार ल्याएको छ । लक्की 'ड्र' तथा बम्पर उपहारको पनि व्यवस्था रहेको छ । सुजुकीले १० हजार हात खाली नहुने नगद पुरस्कार तथा एक्सचेञ्ज अफर पनि लिएर आएको छ ।
बजाजले खरिदपछि १० हजार देखि तत्काल एकलाख र लक्की 'ड्र' मार्फत १ लाख उपहारको अफर ल्याएको छ । चार चारपाङ्ग्रे हकमा पनि हुण्डाई, ड्याट्सन, निशान, प्रोटोन, सुजुकी, टाटा लगायतका गाडीले दशैं लक्षित छुट तथा उपहार ल्याएका छन् ।
जसमा ५० हजारदेखि तीनलाखसम्मको छुट, बीमा, सवारी कर एक्सचेञ्ज बोनस लगायतका उपहार छन् । तर यसवर्ष सरकारले प्रतिस्थापन बजेट ल्याएपछि मोटरसाइकलको मूल्य बढेको छ ।
मोबाइलमा पनि छुट
विभिन्न मोबाइल उत्पादक कम्पनीले नगद छुट, स्क्र्याच कुपन, बाइक, स्कुटरदेखि विदेश भ्रमणसम्मका योजना अगाडि सारेका छन् ।
आईफोनको खरिदमा चाँदीको सिक्कादेखि लक्की 'ड्र' मार्फत स्कुटरसम्मको उपहार योजना सार्वजनिक गरेको छ आईफोनले ।
सामसुङले स्मार्ट टीभीदेखि डबल डोर रेफ्रिजेरेटरसम्मका होम अप्लाइन्सहरू उपहारमा राखेको छ । एचटीसीले चाँदीको सिक्का, हुवावेले फोन तथा पावर बैंक, कलर्सले क्यास ब्याक, जिओनीले सिङ्गापुर भ्रमणसम्मका दशैं उपहार योजना अगाडि सारेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।
Ramesh Prasad Bhattarai
Oct. 1, 2021, 8:07 p.m.नेपाल खाद्य संस्थान होइन।नेपाल खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड हो।