पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका किसानलाई वर्षे बालीअन्तर्गत लगाइएको धानबाली भित्र्याउने चटारो सुरु भएको छ । चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई खासगरी धान काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको हो ।
म्याग्दीकाे माथिल्लो भेगका किसानले गएको असोज अन्तिम हप्तादेखि नै धानबाली भित्र्याउन सुरु गरेका थिए । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपेको धान, भटमास, बारीमा लगाएको कोदोलगायत खाद्यान्न बाली भित्र्याउने चटारोमा किसानहरु लागेका हुन् ।
अहिले किसानको खेतका गह्राभरि पाकेको पहेँलपुर धानबाली छ भने बारीमा कोदो, गहत र बोडीजस्ता नगदेबाली पाकेका छन् । किसानहरु खासगरी मुख्यबाली धान भित्र्याउने काममा व्यस्त देखिन्छन्। दशैँको सुरुआतदेखि नै किसानहरुले धानबाली भित्र्याउन सुरु गरेका थिए । असोजदेखि मंसिरसम्मको समयमा उनीहरु अत्यन्त व्यस्त हुन्छन् ।
अहिले गाउँघरमा धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाइँ हाल्नेजस्ता काममा चटाराे भएको बेनी नगरपालिका–५, चिप्लेटीका किसान लालबिर नेपालीले जानकारी दिनुभयो । धानबाली भित्र्याएलगत्तै गहुँ, जौ, तोरी, उवालगायत हिउँदेबाली लगाउने तयारीमा किसानहरु छन् । म्याग्दीको उच्च भेगका किसानहरुले धानबाली भित्र्याएर कोदो काट्ने र गहुँ, जौ, उवा छर्ने गर्दछन् । वर्षाको समयमा लगाएको धानसहित अन्य खाद्यान्न बालीहरु भित्र्याउन लागेको किसान नेपालीले बताउनुभयो ।
किसानहरु धानबाली भित्र्याउन विभिन्न उपायहरु अपनाउँछन् । कोहीले गोरु घुमाएर पराल माड्ने र धान झाँट्ने गर्दछन् भने कतिपयले खुट्टाले (लात्ती दाइँ) गरेर पराल माड्ने र धान चुट्ने गर्छन् । यसपटक कात्तिक महिना सुरु भएदेखि नै किसानहरु आ–आफ्नो टोल छिमेकमा अर्मपर्म गरेर धान भित्र्याउने काममा व्यस्त छन् । चाडपर्व समेत सकिएपछि उनीहरुको व्यस्तता बढेको छ ।
दशैँअघि नै म्याग्दीको माथिल्लो क्षेत्रमा वर्षेबाली भित्र्याउन सुरु भएको थियो । अहिले यहाँको कुहुँ, पुलाचौर, घतान, पात्लेखेत, राखुलगायत क्षेत्रका किसानहरुले धानबाली भित्र्याइसकेका छन् भने जिल्लाको तल्लो भेगमा काम सुरु भएको छ । विगत केही वर्षदेखि म्याग्दीमा बारीलाई खेत बनाएर धानखेती गर्ने चलन बढ्न थालेको छ भने बारीमा समेत धान रोप्ने गरिएको छ ।
म्याग्दीकाे कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९८ हेक्टरमा धानखेती हुँदै आएको छ । गएको वर्ष म्याग्दीमा जिल्लाभर २ प्रतिशतले धान उत्पादन बढेको थियो । तर यसवर्ष दशैँपछि परेको अविरल वर्षाका कारण धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाको सबै पालिकामा धानखेती हुने म्याग्दीमा गौरिया, गुडुरा, दर्माली, मार्सी, आङा (कालो धान), झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ लगायत लोकल जातका धानहरु रोप्ने गरिन्छ ।
यसपटक मौसम प्रतिकूल भएर परेको वर्षाले जिल्लाभर कुल २ हजार ३ सय ७६ रोपनीमा लगाइएको धानमा आंशिक क्षति पुगेको अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । उहाँले बेमौसमी वर्षाका कारण सबैभन्दा धेरै धवलागिरि गाउँपालिकाको ११ सय रोपनी क्षेत्रफलमा लगाइएको धान खेतीमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो ।
यसैगरी बेनी नगरपालिकामा ५ सय ७६, रघुगङ्गा गाउँपालिकामा २ सय ५०, अन्नपूर्णमा २ सय ५०, मङ्गलामा १ सय ५० र मालिकामा ५० रोपनीको जग्गामा किसानहरुले लगाएको धानबालीमा बेमौसमी वर्षासँगै चलेको हावाहुरीले धान ढलाएर नष्ट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गएकाे वर्ष वर्षासँगै बाढीपहिरोले धान खेतमा क्षति पुर्याएकोमा यसपटक भने बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेपछि किसानहरु मर्कामा परेका छन् ।
युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा देशविदेश तथा सहर पसेका कारण गाउँमा काम गर्ने क्रममा भने युवा जनशक्तिको अभाव देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।