राज्यले बेवास्ता गरेकाे भन्दै जनगणनामा सहभागी नहुने कायत समुदायको घोषणा

 मंसिर १, २०७८ बुधबार १३:३:१० | रासस
unn.prixa.net

बाग्लुङ – पहिचानविहीन रहेका बाग्लुङका कायत समुदायले जनगणनामा सहभागी नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा समावेश नहुने कायत समुदायले निर्णय गरेको छ । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरुले गुनासो छ ।

जातीय आधारमा जनजाति र दलितलगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदायभित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा समावेश नहुने निर्णयमा पुगेको कायत एकता समाजका अध्यक्ष नीमबहादुर कायतले जानकारी दिनुभयो ।

बागलुङको ढोरपाटन नगरपालिका–७ बोबाङका कायत समुदायले पहिचान नपाउँदा आफूहरू उपेक्षामा परेको बताउँदै विरोधस्वरुप जनगणनामा समावेश नहुने कायत समुदायले निर्णय गरेका छन् ।

“हामीलाई राज्यले बेवास्ता गर्यो, पटक–पटक नगरपालिका र जिल्ला प्रशासनमा पहिचानका विषयमा मुद्दा उठाए पनि सुनुवाइ नभएका कारण राज्यले हामीलाई बेवास्ता गरेका कारण राज्यको तथ्याङ्कमा समावेश नहुने कायत समुदायले निर्णय गरेका छौँ”, नीमबहादुर कायतले भन्नुभयो, “जातको पहिचान नहुँदा अध्ययन तथा रोजगारीमा समेत समस्या हुँदै आएको छ, तर राज्यले १०० भन्दा बढी जातजातिलाई जातीय पहिचान दिए पनि हामी थोरै भएकालाई पहिचान दिएको छैन ।”

नेपालभर कात्तिक २५ गते देखि राष्ट्रिय जनगणना २०७८ जारी छ । तीन वर्षअघि कायत समुदायको पहिचानको विषयमा सङ्घीय संसद्मा समेत कुरा उठे पनि छलफल हुन सकेको थिएन । राज्यले पहिचानविहीन बनाएका कारण कायत समुदायले जनगणनामा समावेश नहुने जनाएको छ ।

जातीय आरक्षणका कारण धेरै युवाले अध्ययनमा छात्रवृत्ति तथा रोजगारीमा कोटा पाउँदै आए पनि पहिचानविहीन बनेको नौ थर समुदायभित्रको कायत समुदाय पहिचानविहीन बन्दा रोजगारीसमेत पाउन मुस्किल भएको स्थानीयवासी विश्वास कायतले जानकारी दिनुभयो । उहाँले जनगणनामा मात्रै हैन, आगामी दिनमा कायत समुदायले मतदानसमेत नगर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

ढोरपाटनमा कायत समुदायका ८० घर छन् । उनीहरुले कायत समुदायलाई अल्पसङ्ख्यक समुदायमा राज्यले सूचीकृत गर्नुपर्ने बताउँदै आएका छन् । कतिपयले सेवासुविधा र रोजगारीका लागि कायत समुदाय जनजाति त कतिले क्षेत्री भएको उल्लेख गर्दै आएका छन् ।

तीन वर्षअघि सामाजिक सुरक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नौथर समुदायभित्र पर्ने ‘कायत’ समुदायलार्ई लोपोन्मुख समुदायमा सूचीकृत गरी सामाजिक सुरक्षा प्रत्याभूति गर्न संशोधन प्रस्ताव दर्ता गरी छलफल अगाडि बढाइएको भए पनि कायत समुदायले पहिचान पाउन सकिरहेका छैनन् ।

नौथर समुदायभित्रका पसाइ र पुजाय थर लोप भइसकेको अवस्थामा राज्यले पहिचान दिन नसके कायत जस्ता नौथरभित्रका समुदायसमेत लोप हुने अवस्थामा छन् । कायतलाई लोपोन्मुख जातिका रूपमा सूचीकृत गरी राज्यले छुट्टै व्यवस्थापन गर्न आवश्यक रहेको मानव अधिकारकर्मी राम शर्माको भनाइ छ ।

 जनगणनामा समावेश भएपछि मात्रै अधिकार पाइने भएकाले बहिष्कार गरेर समस्याको समाधान नहुने जिल्ला तथ्याङ्क कार्यालय बागलुङका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया