राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

 मंसिर १२, २०७८ आइतबार १८:३७:४६ | रासस
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको आउँदाे चुनावका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । 

आयोगको यही मङ्सिर ७ गतेको बैठकले चुनावकाे तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रिय सभा सदस्यको चुनाव आउँदाे माघ १२ गतेका लागि घोषणा गरिसकेको छ । चुनावलाई अघि बढाउने सन्दर्भमा आयोगले आवश्यक निर्देशिका र कार्यविधिको कामसमेत अघि बढाएको छ । केही समयपछि आयोगले निर्वाचनकाे कार्यक्रमसमेत प्रकाशित गर्नेछ ।

५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल आउँदाे फागुन २० गते समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, कोमल वली, खीमबहादुर विक, चक्रप्रसाद स्नेही, चन्द्रबहादुर खड्का, जीवन बुढा, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामलखन चमार, शशिकला दाहाल, शान्तीकुमारी अधिकारी, शेरबहादुर कुँवर र सुमनराज प्याकुरेल हुनुहुन्छ ।

सरकारको सिफारिसबाट विज्ञका रूपमा मनोनित सदस्य रामनारायण बिडारीको पनि चार वर्षे कार्यकाल फागुन २० गते नै पूरा हुँदैछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्ष भए पनि २०७४ सालमा पहिलो पटक गोला प्रथाद्वारा दुई, चार र ६ वर्षका लागि कार्यकाल निर्धारण गरिएको थियो । आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि पाँच करोड ८४ लाख रुपैयाँको प्रारम्भिक खर्च अनुमान गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ । 

राष्ट्रिय सभा सदस्य चुनावकाे मतदाताका रूपमा देशका सात सय ५३ पालिकाका मेयर र उपमेयर तथा प्रदेश सभा सदस्य रहनुभएको छ । राष्ट्रिय सभा चुनावमा पालिका प्रमुख र उपप्रमुखको मत भार १८ तथा प्रदेश सभा सदस्यको मत भार ४८ कायम हुनेछ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया