६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
चितवन - चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा किसानलाई समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानी कर्ताहरुले गुनासो गरेका छन् ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुब्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयात गरिएकाे माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।'नेपालमा उत्पादित दानाको मूल्य र आयात गरिएकाे दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उहाँको भनाइ छ ।
माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, 'बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।' गएकाे वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले अहिलेसम्म करिब ४ सय टन दाना बिक्री गरेको उहाँले बताउनुभयो । बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयात गरिएकाे कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत एक करोड ९० लाख २५ हजार रुपैयाँ अनुदान र मत्स्य व्यवसायीको गरी १८ करोड रुपैयाँकाे लगानीमा निर्माण गरिएको हो ।
रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताउनुभयो । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन । पाण्डेले भन्नुभयो, 'परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले बजार पाउन नसकेको हो।'
नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ ।
'जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् । यहाँ गएकाे वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो । यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो ।
नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम सुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्री नभएको बताउनुभयो । उहाँले भन्नुभयो, 'नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ ।' नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उहाँको भनाइ छ ।
भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयात गरिएकाे दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्री वितरणमा समस्या आएको उहाँले बताउनुभयो । नेपालमा अहिले १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।