हिमपातकाे असर : वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

 पुष १२, २०७८ सोमबार १४:९:४८ | रासस
unn.prixa.net

मनाङका विद्यालयमा हिमपात

मनाङ –  जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्तादेखि हिमाली जिल्ला मनाङमा यस वर्ष हिमपात हुन थाल्यो । माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।  

चिसाेले असहज भएपछि वार्षिक परीक्षाअघि नै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यस वर्ष परीक्षा नै लिन सकिएको छैन । आउँदाे फागुन–चैतदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । 

तर यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपातअघि नै लमजुङ, चितवन, पोखरा, काठमाण्डाैतर्फ झर्ने गर्दथे । यस पटक परीक्षाअघि नै विद्यालय बन्द गरिएको छ । 

ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङमा रहेकाे अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताउनुभयो । ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यस वर्ष जाडोअघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौँ’, उहाँले भन्नुभयो । 

हिउँ नपरे फागुन १५ र परे चैत १ देखि विद्यालय खुला गर्ने निर्णय भएको छ । ‘कोरोना सङ्क्रमणले यस वर्ष साउनदेखि शैक्षिक सत्र सुरु गर्नुपर्‍याे । गएकाे वर्ष चैतदेखि सुरु हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्‍याे ।’ 

आधारभूत तहका विद्यालय मङ्सिर २० गतेदेखि नै बन्द गरिएको छ । यस वर्ष शैक्षिक सत्र चार महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताउनुभयो ।

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसकिएको बताउनुभयो । पुस १ गतेदेखि लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । ‘मङ्सिर १७/१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्‍याे भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौँ र हामीले परीक्षा रोक्न बाध्य भयौँ’, उहाँले भन्नुभयो । 

उहाँका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा एक/सातसम्मको आधारभूत, एउटा कक्षा एक/तीनसम्मको आधारभूत र चार वटा कक्षा एक/पाँचसम्मको आधारभूत विद्यालय छन् । उहाँले भन्नुभयो, ‘हिउँदे बिदा माघ १५ गतेसम्मका लागि गरिएको छ । त्यसपछि विद्यालय खुल्छ ।’ 

पालिकाले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरे पनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदाबाहेक विकल्प नभएको उहाँले बताउनुभयो । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् । 

नार्पाभूमि गाउँपालिकाको फू गाउँमा रहेकाे फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौँ । उहाँका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्द छ ।’ 

सदरमुकाम चामेमा रहेकाे लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताउनुभयो । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । ‘कोभिडले विद्यालय चलाउन सकेनौँ । गएकाे जेठ ३१ पछिको बाढी पहिराेले विद्यालय भवन बगाउँदा अझ लामो समय विद्यालय खुलाउन सकेनौँ । बाढी पहिराले जलविद्युत् बगाउँदा अनलाइन कक्षा पनि चलाउन सकेनौँ’, प्रधानाध्यापक कोइराला भन्नुहुन्छ, ‘बल्ल–बल्ल तीन महिना जति पढायौँ । फेरि यहाँको चिसोले बन्द गर्नुपर्‍याे ।’ 

उहाँका अनुसार कक्षा ८, ९ र १० को परीक्षा यही शनिवारदेखि सकिँदैछ । आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ । तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौँ । नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौँ, उहाँले भन्नुभयो । 

उहाँका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ । मनाङमा जनजीवन कष्टकर बनेको छ । ‘केही हुन्छ कि भनेर अलि अलि ढिला गर्‍याैँ । तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौँ भन्ने सोचर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुन सक्ने भएकाले छिटोछिटो परीक्षा गर्‍याैँ’, उहाँले भन्नुभयो । 

चामे गाउँपालिका शिक्षा तथा खेलकूद शाखा संयोजक इन्द्रजङग गुरुङका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ । पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उहाँले बताउनुभयो । ‘हिमपातले असर गरेन भने माघ १६ गतेदेखि खुला गर्छाैँ । हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेदेखि जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ’, उहाँले भन्नुभयो । 

नासोँ गाउँपालिका–५ थोंचेमा रहेकाे प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेदेखि हुने बताउनुभयो । उहाँले भन्नुभयो, जाडो बिदा खासगरी ११ गतेदेखि हुन्छ । स्थानीय बिदा पाँच दिन जोडेर १६ गतेदेखि लागू हुने गरी जाडो बिदा तोकेका छौँ । उहाँका अनुसार फागुन १ गतेदेखि पठनपाठन सुरु हुनेछ । अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको बताउनुभयो । चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिमपातसँगै चिसो बढ्न थालेको छ । चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर पालिकाले जाडो बिदा दिएको छ ।’

शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ । यसमा पाँच दिन स्थानीय बिदा लिने व्यवस्थाअनुसार बिदा बढाइएको छ । तर विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय पालिका र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन् । 

मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने/जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समयसमेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया