६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
जुम्ला - गएकाे कात्तिक १ गते आएको बाढी र पहिराेले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याएपछि जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् ।
बाढी र पहिराेले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा बिजुली छैन् । स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् ।
स्थानीयले मोबाइल चार्ज गर्न पाएका छैनन् भने विद्युत् नहुँदा कुटानी पिसानी मिल पनि सञ्चालनमा आउन सकेकाे छैन् । तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जिउनुपरेको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारले दुखेसो पोख्नुभयो ।
'मान्छेहरु खाना पकाउने, टीभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युतबाटै गर्छन् तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैन', सुनारले भन्नुभयो, 'हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न पाइएको छैन।'
बाढी र पहिराेले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ ।
त्यस्तै बाढीले सयौँ किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैँचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो । क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म महसुस हुने गरी कुनै पनि सरकारबाट राहत प्राप्त गरेका छैनन् । गएकाे कात्तिकमा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।
मन्त्री भण्डारी नेतृत्वको टोलीले स्थलगत अवलोकनबाट फर्केर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बाढीपीडित नागरिकलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालका प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो ।
विद्युतका खम्बा गाड्न ४२ लाख रुपैयाँकाे बोलपत्र आह्वान
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जुम्लाका बाढी र पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गर्न खम्बा गाड्ने योजनालाई अघि बढाएको छ । यसका लागि केन्द्रले झण्डै ४२ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको छ ।
विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत कुल दुई करोड ५० लाख रुपैयाँ लागतमा राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि खम्बा गाड्न ४१ लाख ८१ हजार ९२० रुपैयाँको बोलपत्र आह्वान गरिएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।
राष्ट्रिय विद्युत् प्रसारण प्रणाली विस्तारका लागि तिला–४ को त्रिवेणीदेखि नुवाकोट, तातोपानीका वडा नं ७ र ८ मा पर्ने तथा सर्मी, सुर्कीदेखि ताम्ती र गुठिचौर गाउँपालिकाका विभिन्न ठाउँमा पोल गाड्न बोलपत्र आह्वान गरिएको केन्द्र प्रमुख रावलले बताउनुभयो । 'बोलपत्र आह्वान भएअनुसार ठेकेदार छनोटमा दुई/तीन महिना लागिहाल्छ', उहाँले भन्नुभयो,'ती ठाउँमा विद्युत् प्रसारण लाइन जोड्न दुई वर्ष लाग्छ ।'
अहिलेको दुई करोड ५० लाख रुपैयाँ बजेटबाट जहाँसम्म पुग्छ त्यहीसम्म पोल गाड्ने उहाँको भनाइ थियो । उहाँका अनुसार विकल्पका रुपमा पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई जेनेरेटरबाट विद्युत् आपूर्ति गर्ने भनिए पनि यो झण्झटिलो र खर्चिलो भएकाले जनतालाई झन् सास्ती हुने केन्द्र प्रमुख रावतले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।