६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवर्द्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरूमा पनि नेपाली खानाको 'मेन्यु' राख्नुपर्नेमा जोड दिइएको छ ।
सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको हिजाे शनिवार बेलुकी आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ सेफहरूले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि नेपालका पाँचतारे होटलमा पनि नेपाली खानाको 'मेन्यु' राख्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष श्यामबहादुर लामाले नेपालमा सञ्चालित सबै होटलमा नेपाली खानाको मेन्यु राखेर नेपाली खानालाई विश्वमाझ चिनाउनुपर्ने बताउनुभयो । ‘नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष लामाले आफ्नो कार्यकालमा नेपाली खानालाई देश–विदेशमा प्रवर्द्धन गर्नका लागि सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सेफ्स एशोसिएसन अफ नेपालले होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने कलेजका पाठ्यक्रममा पनि नेपाली खानाहरू राख्नुपर्ने दबाब दिने उहाँको भनाइ थियो ।
विसं २०५३ वैशाख २ गते स्थापना भएको एशोसिएसनले विसं २०७२ मा सेफ्स एशोसिएसन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ । फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले अहिलेसम्म पाँच सयभन्दा बढीलाई होटल तालिम प्रदान गरिसकिएको बताउनुभयो ।
एशोसिएसनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई 'फुड सेफ्टी' र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ । कार्यक्रममा एशोसिएसनका पूर्व अध्यक्ष पुष्प थापामगर, जीतबहादुर लामा, श्रीकृष्ण लामा, रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सिकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिएसन लाग्नुपर्नेमा जोड दिनुभयो ।
एशोसिएसनको तथ्याङ्कअनुसार अहिले नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।
एशोसिएसनको अध्यक्षमा लामा
एशोसिएसनको भर्खरै सम्पन्न नवौँ अधिवेशनबाट श्यामबहादुर लामाको अध्यक्षतामा १७ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
दुई वर्षे कार्यकाल रहेको एशोसिएसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा श्रीकृष्ण गजुरेल, सचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा रामकृष्ण थापा निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यमा सुवर्णमान कर्माचार्य, विनोद तामाङ, राजकुमार लामा, सुनिल तामाङ, रामचन्द्र धरेल, दिपक ढुङ्गाना, प्रेम थापा, बद्री खड्का, उमेश भुवाई र रमेश श्रेष्ठ हुनुभएको छ ।
कार्यक्रममा नेपाली सेफको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने संस्था र एशोसिएसनका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।