बाँके : बाघ नियन्त्रणमा नआउँदा राप्ती सोनारीका नागरिक त्रसित

 पुष २६, २०७८ सोमबार ८:१५:५५ | रासस
unn.prixa.net

फाइल तस्बिर

बाँके - बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । 

बाघले दुई दिनकाे अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणकाे प्रयास गरेको जनाइएको छ । 

राप्तीसोनारी –६ फत्तेपुरका लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीमा रहेकाे बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिनुभयो । 

बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अहिले निकै त्रसित भएका छन् ।  

बाघको आक्रमणबाट शनिवार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीवार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको ज्यान गएकाे थियाे । बाघको आक्रमणबाट बाँकेमा तीन महिनायता चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक/एक जनाको ज्यान गएकाे थियाे । 

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले तीन दिनयतादेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको ठाउँ राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।  

राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा नागरिकमा त्रास फैलिएको बताउनुभयो । धेरैजसाे नागरिक कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ । 

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासमुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया