उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
ओखलढुंगा – गएको वर्षसम्म एक दिन काम गर्ने दक्ष कामदारलाई लिखु गाउँपालिका वडा नम्बर–६, गाम्नाङ्टारका निलकमल भट्टराईले सात सय रुपैयाँ दिएर काम लगाउनुभएको थियो ।
भूकम्पले भत्काएको घर निर्माण गर्न उहाँले यो साल कामदार नै पाउनुभएन । पश्चिम नेपालको कैलाली र कञ्चनपुरबाट कामदारको रुपमा ओखलढुंगा आएका दक्ष कामदारलाई एक हजार दुई सय रुपैयाँ दिएर काम लगाएको बताउनुभयो ।
चिसंखुगढी गाउँपालिका वडा नम्बर–३, दियालेका पुष्पलाल ढुंगानाले पनि घर पुनर्निर्माण गर्न खाना र खाजा समेत दिएर कामदारलाई प्रतिदिन एक हजारका दरले काम लगाउनुभयो । दुई वर्ष यता काम नै लगाउन नसकिने गरी कामदारको ज्याला बढेको उहाँको भनाई छ ।
‘गाउँमा प्रशस्त कामदार नपाइने, दक्ष कामदारको भाउ त दोब्बर बढेको छ’, उहाँले भन्नुभयो, ‘कामदार लगाउनै नसक्ने अवस्था आयो ।’ गाउँका युवाहरु विदेश गएपछि गाउँमा कामदार नै नपाइने उहाँको भनाई छ । भूकम्पको पुनर्निर्माणका लागि तालिम प्राप्त कामदार प्रशस्त नभएपछि कामदारले माग अनुसारको ज्याला नदिए घर निर्माण गर्नै नसकिने अवस्था रहेको चिसंखुगढी २ का बलबहादुर परियारले बताउनुभयो ।
‘निम्न आय भएका गरिबहरुले कामदार लगाउनै नसक्ने अवस्था आयो’, परियारले भन्नुभयो । जिल्ला दररेट समितिले तय गरेको ज्याला दक्ष कामदारको ७ सय मात्रै छ । तर, पुनर्निर्माणको कामले कामदारको ज्याला दोब्बर पुगेको सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।
अनुदानको किस्ता लिन हतारमा काम गर्नु पर्ने भएकाले मागे अनुसार नै दाम दिएर काम लगाउने प्रचलनले कामदारलाई फाइदा भएको उहाँको भनाई छ ।
भूकम्पको पुनर्निर्माणमा राम्रो आम्दानी भएको कैलालीबाट मिस्त्रीको काममा ओखलढुंगा आएका गोपाल जोशीले बताउनुभयो । ‘अहिले राम्रै फाइदा छ, हाम्रो गाउँभन्दा ज्याला निक्कै बढी छ’, उहाँले भन्नुभयो ।
पुनर्निर्माणका कामदार प्रयाप्त नहुँदा ज्यालादर मनपरी रुपमा बढेको स्थानीयको गुनासो छ । ओखलढुंगामा पुनर्निर्माणको तालिम लिएका दक्ष कामदारको संख्या ७ सय हाराहारी मात्रै छ । ओखलढुंगामा भूकम्पले क्षति पुगेका १७ हजार घर निर्माण भइरहेका छन् । कामदारको ज्याला निर्धारण गर्न स्थानीय सरकारसँग स्थानीयले माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।