नेपाल–बेलायत श्रम वार्ता : समझदारीको मस्यौदा तयार गर्न दुवै पक्ष सहमत

 माघ १, २०७८ शनिबार १०:७:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुवै देश सहमत भएका छन् । दुवै देशका अधिकारीबीच  भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो । 

दुवै देशका वार्ता टोलीबीच आउँदाे मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको छ । सहमतिअनुसार समझदारीको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन् । समझदारी गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पुर्याउने विषयमा बैठकमा सहमति भएको उहाँले जानकारी दिनुभयो । 

यद्यपि, नेपाली श्रमिक लैजाने मोडालिटीको बारेमा टुङ्गो भने लागेको छैन । नेपालमा विभिन्न तहका नर्सिङ जनशक्ति रहेका छन् । बेलायतले नेशनल हेल्थ सर्भिसेसअन्तर्गत नेपाली नर्सिङ जनशक्तिलाई रोजगारीको अवसर दिने बताइएको छ । 

बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाण्डौमा रहेकाे बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए। 

बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्रयाउने घोषणा गरेको छ । नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी छ । नेपाल नर्सिङ सङ्घका अनुसार अहिलेसम्म नेपालमा ६६ हजार नर्स उत्पादन भएका छन् । ती मध्ये २५ हजार विदेशमा छन् । नौ हजार नर्स सरकारी सेवामा रहेको सङ्घको तथ्याङ्क छ । केही निजी अस्पतालमा कार्यरत छन् । 

वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने लक्ष्य लिएको सरकारले आकर्षक गन्तव्यको खोजी गरिरहेको छ । यसअघि जापान, इजरायल, मरिससलगायत देशसँग नेपालले विशिष्टकृत क्षमताका श्रमिक पठाउने समझदारी गरिसकेको छ । छिट्टै नेपाली श्रमिक इजरायलको स्वास्थ्य क्षेत्रमा काम गर्न त्यसतर्फ जाँदैछन्। 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया