६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
चितवन – नारायणी नदीमा चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई हप्ताभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको छ ।
सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार दुई हप्ताभित्र सबै खण्डको बोलपत्र आह्वान भइसक्ने छ । उहाँका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।
नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरका प्रमुख रविन्द्रकुमार थापाका अनुसार अन्य खण्डको बोलपत्र प्रकाशनको तयारी गरिएको छ । उहाँले भन्नुभयो “अहिले म विभागमै रहेर बोलपत्रका लागि आवश्यक प्रक्रियाका काममा जुटेको छु, १०/१२ दिनभित्र सबै बोलपत्र प्रकाशित हुन्छन् ।”
पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गरिंदै छ । हरेक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षातमा बाढी रोक्न सकियोस् भनेर काम थालिएको उहाँको भनाइ छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शिवजी साहका अनुसार कंक्रिटको ब्लक, जाली र साना ठूला ढुङ्गा राखेर त्यहाँ तटबन्ध गरिंदै छ । तीन मिटरदेखि चार दशमलव पाँच मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिंदै छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भइसकेकाले अब बहुवर्षिय ठेक्कामार्फत् काम सम्पन्न हुने बताउनुभयो । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेकै कारण उपलब्धी भएको उहाँको भनाइ छ ।
नदी तटबन्धका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको हो । त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ । त्यसमध्ये पहिलो चरणमा पाँच अर्ब रुपैयाँको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो ।
नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका एवं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन् । कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलले गुरु योजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ ।
चितवनका लागि नौ अर्ब ५५ करोड रुपैयाँ र नवलपरासीका लागि १४ अर्ब ४३ करोड रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत रहेको बताउनुभयो । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।