हेटौँडाको गहना त्रिवेणी धाम : थपिँदै संरचना, रमाउँदै पर्यटक

 चैत १९, २०७८ शनिबार १९:३:३६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका ९ मा रहेको कुष्माण्ड सरोवर त्रिवेणी धामका धेरैजसो संरचना निर्माण गर्नका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । त्रिवेणी धामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि उपमहानगरपालिकाले हरेक वर्ष सहयोग गर्दै आएको छ । 

हेटौँडामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका र त्यसमध्यमा त्रिवेणी धामलाई देश तथा विदेशमा परिचित गराउनका लागि हरेक वर्ष बजेट छुट्याएर यहाँका संरचना निर्माणमा सहयोग गरिएको मेयर हरिबहादुर महत बताउनुहुन्छ । पहिलेको तत्कालीन जिल्ला विकास समिति र अहिले उपमहानगरपालिकाले हरेक वर्ष यहाँको पर्यटकीय तथा धार्मिक संरचना निर्माणमा सहयोग गरेको छ । पर्यटक तान्न र हेटौँडालाई चिनाउने माध्यमसमेत त्रिवेणी धाम रहेको मेयर महतले बताउनुभयो । 

समितिले अहिले अतिथि गृहको निर्माण गरिरहेको जनाएको छ । ‘३३ लाख रुपैयाँको अक्षय कोष खडा गरेका छौँ जसमा हेटौँडा उपमहानगरपालिकाले २० लाख रुपैयाँ जम्मा गरिदिएको छ’, तत्कालीन जिविसअन्तर्गतको पर्यटन विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले भन्नुभयोे, ‘कुनै बेला सुक्खा बगर रहेको त्रिवेणीधाम अहिले हराभरा र आकर्षक देखिएको छ  ।’ 

२०६७ सालसम्म यो ठाउँमा न कुनै भौतिक संरचना बनेका थिए, न मठमन्दिर र मूर्तिहरू नै स्थापना गरिएका थिए । थियो त केवल बगर मात्र । बहुदल प्राप्तिपछि वडाध्यक्षसमेत बन्नुभएका न्यौपाने योगी नरहरिनाथ, होमनाथ मिश्र र पण्डित देवीप्रसाद कोइरालाबाट यो ठाउँको ऐतिहासिक महत्त्व रहेको जानकारी पाएपछि राजनीति छाडेर बगरलाई धार्मिक स्थलमा परिणत गर्न कस्सिनुभयो । अझै पनि उहाँ हरेक दिनको सुरुवातसँगै बेलुका अबेरसम्म त्रिवेणी धाममै भेटिनुहुन्छ ।

साढे सात बिघा क्षेत्रफलमा फैलिएको यो धार्मिक स्थल निर्माण गर्न तत्कालीन जिविसअन्तर्गतको पर्यटन विकास समितिले चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यही रकमबाट सुरुवात भएको यो अभियानअन्तर्गत अहिलेसम्म करोडौँ रुपैयाँ खर्च भइसकेको छ  । भौतिक पूर्वाधार र मठमन्दिर निर्माणलगायतमा यो खर्च गरिएको हो । कुष्माण्ड भगवतीलाई पाँच पाण्डवले परिक्रमा गरिरहेको देखिने आकर्षक शिश महल निर्माण गरिएको छ । शिश महल प्रवेश गर्नुअघि देशका २९ ठाउँका मन्दिरको तस्बिर र मूर्तिहरू राखिएको देख्न सकिन्छ । पशुपति, मुक्तिनाथ, स्वर्गद्वारी, पाथीभरालगायत मन्दिरको एकै ठाउँबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिश महलको बाहिरी भागमा सुन्दर बगैँचा र कुष्माण्ड पोखरी छ । यो क्षेत्रमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरूको भिड लाग्ने गरेको छ ।

कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समितिले शिश महल, बगैँचा, कुष्माण्ड पोखरीको अवलोकन गर्न गएको माघ १ गतेदेखि प्रवेश शुल्कको व्यवस्था गरेको छ । शिश महलको बाहिरी भाग अवलोकन गर्न प्रतिव्यक्ति २५ रुपैयाँ र भित्र प्रवेश गर्न एक सय रुपैयाँ लाग्छ । मन्दिरभित्र प्रवेश गरेर एक सय आठ गौमुखी धारामा स्नान गर्न, पूजाआजा तथा धार्मिक कार्य गर्न भने शुल्क लाग्दैन । ‘शुक्रवार र शनिवार ज्यादै भिड लाग्ने गरेको छ,’ समितिका अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘अन्य दिन सरदर दुई सयदेखि तीनसय जना अवलोकन गर्न आउँछन् ।’ 

महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डव वनवासका क्रममा यो ठाउँमा आइपुगेका थिए । त्यतिबेला हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई मारिदिए । हेडम्बा मारिएको ठाउँका रूपमा चिनिँदा–चिनिँदै अपभ्रंश भएर यो स्थानको नाम हेटौंडा रहन गएको किंवदन्ती छ । धार्मिक आस्थाको केन्द्र रहेकाले यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रम्हकुण्ड, विष्णुपादुका, एक सय आठ गौमुखी धारा, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत संरचना निर्माण गरिएको न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार विशेषगरी माघेसङ्क्रान्ति र कुष्माण्ड नवमीका दिन यहाँ नुहाएर कुभिन्डो दान गर्न श्रद्धालुको ठूलो भिड लाग्छ । ‘कुष्माण्ड सरोवरमा यात्रा गर्न र त्यसको मध्यभागमा रहेको कुष्माण्ड भगवतीको मन्दिरमा पूजा गर्न पाँच वटा डुङ्गाको व्यवस्था गरिएको छ’, न्यौपानेले भन्नुभयोे, ‘दैनिक रूपमा यस क्षेत्रको महत्त्व र चर्चा बढ्दै गएको छ  । १० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।’ ६७ वर्षीय न्यौपानेको खटाइ र इमानदारिताको साथै धार्मिक स्थलको विकासका कारणले दातृ संस्था, भक्तजन र अन्य सहयोगी हातहरूले आर्थिक सहयोग गरिरहेका छन् । 

अहिलेसम्म ७ करोड रुपैयाँभन्दा बढी त्रिवेणीधाम निर्माणमा खर्च भइसकेको न्यौपानेले बताउनुभयो । ‘इमानदारीपूर्वक लगनशील भएर कुनै पनि काम गरेपछि सफल भइन्छ भन्ने ईश्वरी न्यौपानेबाट प्रेरणा लिनुपर्छ’, उपमहानगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण भण्डारीले भन्नुभयो, ‘उहाँको खटाइकै कारण बगरलाई सुन्दर धार्मिक एवम् पर्यटकीय स्थलका रूपमा परिणत भएको छ ।’ 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया