पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
यातायात व्यवस्था कार्यालयको नाम सुन्दामै धेरैको दिमागमा अस्तव्यस्त र भिडभाड हुने ठाउँको तस्बिर झल्किन्छ । सेवाग्राहीको लाइन, बिचौलियाको बिगबिगी र कर्मचारीको ढिलासुस्ती लगायतका समस्या समाधान गर्न कार्यालयले धेरै प्रयास पनि गर्याे । अनलाइन प्रविधिमार्फत सेवा दिने घोषणा पनि गर्याे । तर यातायात कार्यालयमा हुने सास्ती र हैरानी उस्तै छ ।
यस्तै सास्ती पाउनेमध्ये एक हुनुहुन्छ, एकान्तकुनाको यातायात व्यवस्था कार्यालयमा एउटा हातमा फाइल च्यापेर राजस्व बुझाउने बैंक भौचर खोज्दै हिँडेका गौरव राई । स्थायी घर भोजपुर भइ अहिले ललितपुरको धापाखेल बस्दै भएका राई एक हप्ता अगाडि गाडीको ट्रायल पास गरेपछि अहिले राजस्व बुझाउनका लागि यातायात कार्यालय आउनुभएको हो ।
ट्रायल पास भएपछि कार्यालयले एउटा पास फर्म दिन्छ जुन एक हप्तापछि दर्ता गराउनुपर्छ । जसको राजस्व एक हजार पाँच सय सय रुपैयाँ तिनुपर्छ । त्यही राजस्व तिर्नका लागि बैंक भौचर खोज्दै भौतारिनुभएका राई भन्नुहुन्छ, ‘भन्नलाई अनलाइन भने पनि अन्तिममा जाने भनेको म्यानुअल नै हो । हाम्रो देशको दुःखलाग्दो कुरो भनेको यही नै हो ।’
यातायात व्यवस्था कार्यालय एकान्तकुनाको गेटबाट छिर्ने बित्तिकै सेवा प्रवाह तालिका तथा सोधपुछ कक्षसमेत छ । तर कार्यालय प्रवेश गर्ने धेरैजसाे सेवाग्राही भने सेवा प्रवाह तालिकामा लेखिएको कोठा र भवन कता छ भनेर अलमलमा पर्छन् । कार्यालयभित्र बिचौलिया निषेधित क्षेत्र भनेर पनि टाँसिएको छ । तर कर्मचारीभन्दा पहिले बिचौलिया नै भेटिन्छन् ।
‘जतिसुकै प्रविधि र जे ल्याए पनि अन्तिममा हुने भनेको बिचौलियाको काम नै हो । कुनै फर्म भर्न अप्ठ्यारो भयो भने पनि बाहिर छ्यापछ्याप्ती पाइन्छ’, राजस्व तिर्ने बैंकको फर्म भर्दै राई भन्नुहुन्छ, ‘चार्ट फ्लो त राखिएको छ तर यहाँ गयो त्यहाँ भन्छन्, त्यहाँ गयो उता भन्छन् । अन्तिममा भने त्यही ठाउँमै हुन्छ । उहाँहरूबीच प्रपर को–अर्डिनेशन छैन ।’
नयाँ लाइसेन्सका लागि अनलाइन फर्म भर्न सकिने भनिए पनि सर्भर बिग्रियो भन्ने, काम गरेन भन्ने यातायात कार्यालयको आम गुनासो हो । सामान्य नागरिकले आफैँ अनलाइन भर्न नसकेको फर्म बिचौलियालाई पैसा दिने हो भने एकैछिनमा भरिन्छ । यसका साथै अन्य फर्म भर्ने र राजस्व बुझाउने काम पनि बिचौलियालाई लगायो भने एकैछिनमा हुने सेवाग्राहीको गुनासो छ ।
जोरपाटी बस्ने सिन्धुलीका विष्णुबहादुर मगर ट्रायल पासपछिको राजस्व तिर्न आउनुभएको हो । तर यसका लागि पनि उहाँलाई तीन/चार घण्टाको समय लाग्यो । राजस्व तिर्ने ठाउँ थाहा नभएर सोध्दै आउनुभएका मगर भन्नुहुन्छ, ‘राजस्व तिर्न आएको यताबाट उता जा भन्छ, उताबाट त्यता भन्छ । यता उता हिँड्दा–हिँड्दा राजस्व तिर्ने ठाउँ पनि थाहा नभएर घुमेको घुम्यै भइयो । के भन्नु ?’
नयाँ मान्छेलाई कहाँ जाने र के गर्ने अन्याेल हुने बताउँदै मगर भन्नुहुन्छ, ‘यति नम्बर कोठा जा र उति नम्बर कोठा जा भन्छ । हामीलाई त्यो भवन नै थाहा हुँदैन । कुन भवनमा जाने । कति नम्बरमा कता हेरेर जाने हो ? कता कसरी जाने बताइदिने हो भने अलि सहज होला ।’
कार्यालयले सेवा लिने कसरी भनेर ठूलो अक्षरमा लेखेर राखेको पनि छ । तर कुन भवन अनि कति नम्बर कोठा भनेर थाहा नहुँदा फेरि अरूहरूलाई सोध्दै जानुपर्ने बाध्यता उस्तै छ । अझ कतै कर्मचारी नहुने अनि चिया खाजाको समयमा सेवाग्राही आइपुगे भने उसले पाउने सास्ती बेग्लै छ ।
लाइसेन्स नवीकरणका लागि आउनुभएका काठमाण्डौ ओमबहालका राजेन्द्ररत्न बज्राचार्य पनि राजस्व तिर्नका लागि बैंकको भौचर खोजिरहनुभएको छ । लाइन सजिलै अगाडि बढे पनि कहाँ कसरी जाने भने अन्याेल रहेको भन्दै बज्राचार्य गुनासो गर्नुहुन्छ, ‘कोठाअनुसार एक नम्बर, दुई नम्बरमा जाने भन्ने छ । तर कोठा पत्ता लगाउन भने गाह्रो छ । लाइन पनि निकै लामो छ ।’
सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालयले अनलाइन प्रणाली पनि अपनाएको छ । सेवाग्राहीलाई सजिलो होस् भनेर सेवा प्रवाह तालिका पनि टाँस गरिएको छ । बिचौलिया निषेधित क्षेत्र भनेर पनि लेखेर टाँसिएको छ । तर कार्यालय पुग्ने जो कोहीले बिचौलिया कम नभएको अनि सेवा प्रवाह छिटो र सहज नभएको महसुस गर्छन् ।
स्वयम्भूबाट लाइसेन्स नवीकरण गर्न आउनुभएका जयबहादुर तामाङको कागजमा कार्यालयका कर्मचारीले विभागबाट पुरानो लाइसेन्सको नम्बर लिएर आउने भनेर लेखिएको छ । अब नवीकरण गर्न आएको मान्छे पुरानो नम्बर त त्यहीँ छ, यो के लेखिएको भनेर अन्याेलमा पर्नुभएका तामाङ कागज देखाउँदै भन्नुहुन्छ, ‘के–के चाहिने, कहाँ जाने थाहा नभएर होला हामीलाई त एकदमै अप्ठ्यारो भएको छ । एकबाट दुईमा जाँदा नै लाइन बस्नुपर्ने भएर समस्या झेल्दै छु । अहिलेसम्म काम बनेको छैन ।’
तामाङले कार्यालयमा रहेको परामर्श कक्षमा पनि नसोधेको होइन । तर परामर्शदाताले यही लाइन हो यसैमा जानुस् भनेर भनेको दुई घण्टामा पनि काम नसकिएपछि तामाङको गुनासो छ, ‘टोकन नम्बर लेखेर दिनुपर्छ रे । अनि यो नम्बर पनि मिलेन भन्छन् । काम हुने हो कि नहुने हो शङ्का छ ।’
सुधारका लागि उहाँको आफ्नै सुझाव छ, ‘नजानेकाहरूलाई यो–यो कागजपत्र चाहिन्छ, यसरी जाने भनेर भन्ने । भित्रभित्रै काम भएर होला आफ्नो पालोमा काम नै बन्दैन । १२ बजे आएको मान्छे, अहिले ३ बजिसक्यो, आज काम बन्दैन होला ।’
सेवाग्राही विभिन्न सेवाका लागि तथा राजस्व तिर्न घाममा लाइन बसेर ठेलमठेल गरिरहेछन् । तर यातायात कार्यालयले सेवाग्राहीलाई सहज होस् भनेर केवल देखाउनका लागि मात्रै प्रविधि प्रयोग गरिरहको जस्तो देखिन्छ । अन्यथा प्रविधिको प्रयोगले कस्ता जटिल कुरा सरल बनेको छ भने यति पैसा तिर्ने, फर्म भर्ने, बुझाउने जस्तो सामान्य कुरामा सेवाग्राहीलाई फेरि घाम/पानीमा लाइन राखेर कार्यालयले कष्ट दिने काम गरिरहेको छ ।
यातायात कार्यालयमा दैनिक दुई हजारको हाराहारीमा सेवाग्राही आउँछन् । सेवाग्राहीलाई सहज होस् भन्नका लागि कार्यालयले गेटबाट छिर्ने बित्तिकै सेवा प्रवाह तालिका राखेको छ । जसमा कुन सेवाका लागि कुन भवन तथा कुन कोठामा जाने भनेर लेखिएको छ । तर यति हुँदाहुँदै पनि धेरै सेवाग्राही अलमल भएको पाइन्छ ।
धेरै सेवाग्राहीलाई सीमित कर्मचारीले सेवा दिनुपर्ने कारणले सेवा चुस्त नभएको तथा अलमल भएको हुनसक्ने रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सेवाग्राही धेरै तथा जनशक्ति कम छ । यस कारण नै हामीले सेवालाई सहजीकरण गर्नका लागि केही सङ्केत चिह्नहरू राख्ने, तरिका, विधि र सम्पर्क गर्ने कोठा भनेर राखेका छौँ । सायद हेर्ने बानी नपरेका कारण पनि केही समस्या भएको होला ।’
कुनै पनि कार्यालयले सेवा छिटो र सहज ढङ्गले दिनका लागि कार्यालयको बनोट पनि मिलेको हुनुपर्छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको हकमा त्यो देखिँदैन । अपाङ्ग्ता भएका र अशक्त व्यक्ति यदि कार्यालयमा सेवा लिन आएमा भर्याङ चढेर कोठा–कोठा पुग्नु सम्भव देखिँदैन ।
यस कुरालाई कार्यालय प्रमुख रेग्मी स्वीकार्दै भन्नुहुन्छ, ‘यहाँ एउटा काम गर्न तीन तलामाथि अनि अर्को काम गर्न एक तलामुनि झर्नुपर्ने स्थिति छ । यो भनेको कार्यालयको बनोटका कारण भएको हो ।’
सेवाग्राहीको चाप धेरै भएका कारण कार्यालयको सेवालाई नयाँ ढङ्गले विकास गर्नुपर्ने तर्क छ रेग्मीको । उहाँ भन्नुहुन्छ, ‘कार्यालयले दिने सेवाका बारेमा अब नयाँ ढङ्गले सोच्ने बेला भएको छ । कार्यालय समय बढाएर, कर्मचारी थपेर, प्रविधिमा नयाँ प्रयोग गरेर के गरेर हुन्छ सेवा छिटो र सहज ढङ्गले दिन सकिन्छ भनेर प्रयोग गरेर हेर्नुपर्छ । त्यसका लागि मैले प्रस्ताव पनि गरेको छु ।’
यातायात व्यवस्था कार्यालयमा ट्याक्सी चलाउनेदेखि महँगा गाडी चढ्नेहरू चालक अनुमति पत्र लिन, नवीकरण गर्न, सवारी दर्ता गर्न आउँछन् । तर उनीहरूको गाडी पार्किङ ठाउँसमेत छैन कार्यालयमा ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।