५४ करोड खर्च गरिएकाे गौतमबुद्ध रङ्गशाला अलपत्र : चौरमा झाडी, फलाममा खिया

 साउन १९, २०७९ बिहीबार १३:३६:५८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको छ । रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सङ्कटका कारण काम गर्न नसकेको बताउँदै निर्माणबाट अलग भएपछि रङ्गशाला अलपत्र बनेको हो ।

जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको ११ महिना भएको छ । अलपत्र अवस्थामा पुग्दा बनेको संरचना पनि बिग्रन थालेका छन् । 

हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रङ्गशाला बनाउने घोषणा गर्नुभएको थियो । उहाँहरूले २०७५ साल माघ १६ देखि रङ्गशाला निर्माणको काम सुरू गर्नुभएको थियो । 

रङ्गशालाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको थियो । ३० हजार जनाको क्षमताको हुने रङ्गशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्यारापिटको पहिलो चरणको काम सकिएको थियो  । प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’ को पिलर उठाइ सकेर बिम ढलान भएको छ । आठ वटा पिच बन्न बाँकी थिए । दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणको चरणबाट बाहिरिएको हो । 

फाउन्डेसनले हात झिकेपछि महानगरले त्यसको औपचारिक स्वामित्व लिएको छैन । सरकारले रङ्गशाला निर्माणको लागि बजेट छुट्याएको भए पनि कसकाे नेतृत्वमा कसले कसरी काम गर्ने भन्ने टुङ्गो लागेको छैन।

लाखौँ रुपैयाँ खर्चिएर ल्याइएका दुबो काम नलाग्ने भएको छ । मैदानमा झाडी पलाएको छ । बनेको संरचनाका पिलरका फलाममा खिया लाग्न सुरु भएको छ । रङ्गशाला निर्माणस्थलमा बनाइएका संरचनाहरू निरन्तरको वर्षाले केही बिग्रिसकेका छन् भने केही बिग्रँदो अवस्थामा छन् । 

प्यारापिट बनाउनका लागि ल्याएर भुइँमा राखिएका रड कामै नलाग्ने भएका छन् भने पिलरका रड खिया लागेर बिग्रँदै गएका छन् । 

रङ्गशालाको अहिले तीन सुरक्षाकर्मीसहित ६ जनाले रेखदेख गर्दै आएका छन् । महानगरले रङ्गशालाको स्वतन्त्र लेखा परीक्षण गरिसकेको छ । नेपाल सरकारले यस आर्थिक वर्षको बजेटमा रङ्गशाला निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याएको छ ।

उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको थियो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार आर्थिक सङ्कट बढेका कारण रङ्गशाला निर्माणको काम रोक्नुपरेको हो । जनस्तरबाट रकम उठ्ने सम्भावना कम भएको र सरकारले आवश्यकता अनुसारको रकम उपलब्ध नगराएको कारण निर्माणका लागि आर्थिक सङ्कट भएको बताइएको छ ।

रङ्गशाला बनाउन तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । रङ्गशालामा अहिलेसम्म ५४ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भइसकेको फाउन्डेसनका अध्यक्ष कट्टेलको दाबी छ । १७ करोडजति त ऋण नै रहेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाले गराएको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा भने रङ्गशाला निर्माणमा अहिलेसम्म ५० करोड २० लाख ७९ हजार ७ सय ४६ रूपैयाँ भएको उल्लेख छ । रङ्गशाला १८ करोड १२ लाख ४७ हजार १ सय ५० रूपैयाँ ऋणमा रहेको महानगरको स्वतन्त्र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

रङ्गशाला निर्माणका लागि ३९ करोड ८० लाख ३८ हजार ५ सय ८८ रुपैयाँ सङ्कलन भएको प्रतिवेदनमा देखाइएको छ । रङ्गशाला निर्माणका लागि सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार ८ सय १४ रुपैयाँ भएको थियो । अन्य कोषबाट २ करोड १४ लाख ७ हजार ५ सय ३९, धनधान्याञ्चलबाट ९ करोड ४१ लाख ५८ हजार ३ सय ६७ सङ्कलन भएको देखाइएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया