विपक्षीले समेत सम्मान प्रकट गर्ने बौद्धिक नेता र समाजवादी चिन्तक

 भदौ ५, २०७९ आइतबार ६:९:४७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरि यस्तो नाम हो जसमा विपक्षीहरुले समेत श्रद्धाले शिर निहुराउँछन् । अहम् र तिक्ततापूर्ण राजनीति रहेको नेपालमा गिरिको नाममा जोकोहीले पनि सम्मान प्रकट गर्ने गर्छन् । नेपाली कांग्रेसभित्रका कम्युनिस्ट चरित्रको नेताका रुपमा पनि चिनिने गिरिलाई सोच र व्यवहारमा समाजवादी नेता मानिन्छ । उहाँको हिजो शनिवार राति उपचारको क्रममा निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो हप्ता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना गरिएको थियो । पछिल्ला दिनहरुमा निमोनिया फैलिँदै गएर शरीरका अङ्गहरुले काम गर्न छाड्दै गएको थियो । 

नेपाली कांग्रेसको प्रमुख सिद्धान्त मानिने प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण र यस विचारधारालाई अगाडि बढाउने काम वीपीपछि कसैले गरेको छ भने त्यसको एकमात्र श्रेय प्रदीप गिरिलाई जान्छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद छाड्दै गएकोमा उहाँ पछिल्लो समय चिन्तित हुनुहुन्थ्यो । तर, पार्टीभित्र पनि प्रतिपक्षीको भूमिका निभाएर पार्टीमा हुने गरेका विकृति, विसङ्गतिका बारेमा उहाँले सधैँ आवाज उठाइरहनुभयो ।

२००४ सालमा सिरहामा जन्मिनु भएका गिरिले जवाहरलाल नेहरु विश्वविद्यालय, काशी हिन्दु विश्वविद्यालयमा अध्ययन गर्नुभयो । उहाँ स्वयम् खुला विश्वविद्यालय हुनुहुन्थ्यो । कुनै पनि विषयमा लगातार बौद्धिक तर्क, छलफल र चिन्तन गरेर नथाक्ने गिरि आफैँमा इन्साक्लोपेडिया हुनुहुन्थ्यो । 

सिरहामा उहाँको निवास अर्थात आश्रममा पुस्तकालय, सामुदायिक रेडियो, दलित बालबालिकाहरुको लागि पढ्ने व्यवस्था, कम्प्युटर कक्षा आदिको लागि तालिमसमेतको व्यवस्था छ । हरियालीलाई विचार गरेर रुखहरु पनि रोपिएका छन् । 

२०५१ सालको आम निर्वाचनमा सिरहाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका गिरि पहिलो र दोस्रो संविधान सभा चुनावमा नेपाली कांग्रेसकातर्फबाट समानुपातिक सभासदसमेत हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका तर्फबाट वर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुनुहुन्थ्यो । 

२०१७ सालदेखि राजनीतिमा सक्रिय गिरिले राजनीतिक सङ्घर्षको दौरान २०२५ सालमा १८ महिना तथा २०४२ सालमा झण्डै एक वर्ष जेल जीवन बिताउनु भएको थियो । नागरिक हक अधिकारका लागि सधैँ सक्रिय गिरि महिला, जनजाति, दलितको मुद्दामासमेत खरो रुपमा प्रस्तुत हुनुहुन्थ्यो । गिरिले मधेसी नागरिकको उपेक्षा भएको ठानेर संविधानमा हस्ताक्षर गर्नु भएको थिएन । 

वीपीपछि समाजवादको मुख्य खम्बा

किशोर नेपाल, वरिष्ठ पत्रकार

उहाँ एक असाधारण बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले जहिले पनि साना काम गरेर ठूला लक्ष्य पूरा गर्ने उद्देश्य राख्नुभयो । आफूलाई चित्त नबुझेको कुरामा विमति जनाउने तथा पढ्ने, लेख्ने र सैद्धान्तिक कुरामा उहाँ जहिले पनि अगाडि हुनुहुन्थ्यो । 

नेपाली कांग्रेसमा वीपी कोइराला आफैँ प्रजातान्त्रिक समाजवादी हुनहुन्थ्यो । वीपीपछि नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवादको मुख्य खम्बा उहाँ नै हुनुहुन्थ्यो । वीपीपछि कांग्रेसमा समाजवादी लिगेसी बोक्ने गिरि नै हुनुहुन्थ्यो । उहाँ त्यसमा नै टिकेर बसिरहनु भयो । 

उहाँले पछिल्लो संविधानमा सहमत नभएका कारण हस्ताक्षर गर्नुभएन । उहाँ आफूलाई चित्त नबुझेको कुरामा कठोर विमति राख्नुहुन्थ्यो । गिरिपछि कांग्रेसभित्र समाजवादी चिन्तन राख्ने युवा, तन्नेरीहरु बसेर छलफल गरेर एउटा चौतारी जस्तो खडा गरे भने कांग्रेसको समाजवाद जीवित रहला । नत्र अहिले कांग्रेसमा समाजवाद मरिसक्यो । त्यहाँ केवल बजारवाद मात्र हावी छ ।

व्यक्तिगत हिसाबका कुरा गर्दा उहाँ एकदमै शान्त र सरल मानिस हुनुहुन्थ्यो । उहाँबाट माया बाहेक मैले केही पनि पाइनँ ।

विवेकले देखेको कुरा प्रष्टसँग भन्न सक्ने नेता

प्रा. कृष्ण खनाल, विश्लेषक

प्रदीपजीको दुई/तीनवटा कुरा मलाई विशिष्ट लाग्छन् । एउटा नेपाली कांग्रेसमा वीपीपछि समाजवादको चिन्तन गर्ने व्याख्या गर्ने नै प्रदीपजी जस्तो लाग्छ मलाई । त्यति प्रखर रुपमा वीपीपछि समाजवादको व्याख्या गरेको पाइँदैन । जति प्रष्ट र प्रभावकारी रुपबाट उहाँले समाजवादको व्याख्या गर्नुहुन्छ अरुले त्यसो गरेको पाइँदैन । 

नेपाली कांग्रेसमा प्रजातान्त्रिक समाजवादको दाबी गर्ने मानिसहरु त जति पनि छन् । पार्टीको अघोषित नीतिको रुपमा समाजवाद अझ पनि छँदैछ । त्यसको व्याख्या गर्ने मान्छे वीपीपछि प्रदीप गिरि नै हो जस्तो लाग्छ मलाई । 

दोस्रो पछिल्लो चरणमा आउँदाखेरि प्रदीपको भनाइमा देशको समस्या, समसामयिक र राजनीतिक समस्या पार्टीको एउटा दायराभन्दा निकै माथि उठ्न थालेको थियो । पार्टीको दायरामा, पार्टीको नीतिमा सीमित थिएन । एउटा विवेकको बोली, आफूलाई लागेको, आफ्नो अध्ययन, अनुभव र आफ्नो विवेकले देखेको कुरा एकदमै प्रष्टसँग भन्न सक्ने मान्छे हो । संसदमा पनि, संसद् बाहिर पनि र पार्टीभित्र पनि । 

सार्वजनिक खपत, सार्वजनिक लोकप्रियताका लागि नभइ यथार्थ रुपमा आफ्ना दृष्टिकोणहरुलाई पार्टीको सीमित घेराभन्दा माथि उठेर भन्न सक्ने एउटा व्यक्तित्व प्रदीप गिरिमा पाइन्छ । यी भनेको उहाँको टड्कारो देखिने विशेषता हो । 

उहाँले संविधानमा हस्ताक्षर नगर्नु आफ्नो, चेतना, आफ्नो विवेकको व्यवहार हो । यसमा उहाँले प्रष्टरुपमा कहीँ बोलेको अनि मैले यो कारणले हस्ताक्षर गरिनँ भनेर भन्नु भएको मलाई थाहा छैन । तर, हामीले सजिलै बुझ्ने कुरा के हो भने उहाँको दृष्टिले, उहाँको विवेकले संविधान उहाँलाई स्वीकार्य भएन । 

कांग्रेसभित्रको वामपन्थी

युवराज ज्ञवाली, एमाले नेता

नेपालको प्रजातान्त्रिक आन्दोलनमा धेरै महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ प्रदीप गिरि । उहाँ धेरै अध्ययनशील, विद्वान, तर्कशील अनि लोकतान्त्रिक मूल्य मान्यतमा दृढ तथा प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसभित्रका विकृति, विसङ्गति तथा गलत कुराहरुलाई खण्डन गर्ने, सुझाव दिने एउटा प्रजातान्त्रिक समाजवादी विचार भएको मानिस हो । वीपीको प्रजातान्त्रिक समाजवादको जुन मान्यता हो त्यसलाई पछ्याउने नेता तथा बौद्धिक व्यक्तित्वको रुपमा मैले बुझेको छु ।  

हाम्रा कतिपय विषयमा मतान्तर भए पनि उहाँलाई नेपालको राजनीतिमा सम्मानित नेताको रुपमा मान्नुपर्छ । खासगरी वैचारिक रुपमा एकदमै प्रखर र सशक्त व्यक्तिको रुपमा मैले बुझेको छु । उहाँ कम्युनिस्ट होइन, तर नेपाली कांग्रेसभित्र प्रगतिशील विचार राख्ने कांग्रेसभित्रको वामपन्थी हो । वामपन्थी, प्रगतिशील तथा अग्रगामी सोच भएको व्यक्तित्व हो उहाँ । 

यथास्थितिवादी जुन सोच अनि दृष्टिकोणहरु छ र उदार पुँजीवादी मान्यताको विपक्षमा हो उहाँ । अहिलेको समसामयिक विश्व राजनीतिमा जुन पुँजीवादी विचार छ त्यसमा परिमार्जन गर्नुपर्छ, अलिकति परिष्कृत गर्नुपर्छ, बढी जनपक्षीय हुनुपर्छ, साँचो अर्थमा लोकतान्त्रिक हुनुपर्छ र समाजवादी हुनुपर्छ भन्ने उहाँको मान्यता हो । 

उहाँ साम्यवादको विपक्षमा हो तर पनि कयौँ कुराहरु उहाँको कम्युनिस्टसँग मिल्छ । तर, उहाँ आफैँ कम्युनिस्ट होइन । उहाँ कांग्रेस नै हो तर, कांग्रेसमा जुन खालको अलिकति यथास्थितिवादी, कतिपय कुरामा पश्चगामी सोचहरु, विकृति, विसङ्गति अनि भ्रष्ट मनोवृत्ति छ त्यसको उहाँ प्रखर विरोधी हो । उहाँले सदैव पार्टीभित्र यस्ता कुराहरुको आलोचना गर्नुभयो र समाजलाई अगाडि बढाउनुपर्छ, अग्रगामी दिशामा, परिवर्तनको दिशामा जानुपर्छ भन्ने उहाँको मान्यता हो । 

लोकतान्त्रिक आन्दोलनको ठूलो साधक तथा योद्धा 

दमननाथ ढुङ्गाना, पूर्व सभामुख

प्रदीप गिरिको योगदानको बहुआयाम छ । उहाँ विचारक हो । साधक हो । विचारका लागि धेरै नै सङ्घर्ष गरेको व्यक्ति हुनुहुन्छ । उहाँ राजनीतिमा पटक पटक सांसद भए पनि कहिल्यै पनि मन्त्री हुने वा सत्ताको दौडमा लाग्ने आतुरता वा प्यास देखाउनु भएन । यस अर्थमा उहाँ उद्देश्य प्रेरित, गान्धीवादी, समाजवादी हो । तर, त्यो समाजवादको चुरो भनेको उहाँको स्वतन्त्रता हो । व्यक्तिको, समाजको, राष्ट्रको स्वतन्त्रता हो । त्यो स्वतन्त्रताको पक्षले नै उहाँलाई जिन्दगिभरी डोर्याएको हो । 

किशोरावस्थादेखि नै प्रजातान्त्रिक पुनर्स्थापना अभियानमा लाग्नु भएको हो । मैले पनि २०१७ सालमा स्वतन्त्र विद्यार्थी युनियनबाट आफ्नो व्यक्तित्वको प्रारम्भिक जग हालेको व्यक्तित्व हुँ । उहाँले त्यो काम बनारसबाट गर्नुभयो । उहाँ त्यसपछि डीएसवाइएल भन्ने युवाहरुको समाजवादी सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । उहाँको निरन्तरता र योगदान प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोगी अन्तरवस्तु भएर रहेको छ । 

वीपी कोइरालापछि उहाँको विचारक प्रजातान्त्रिक समाजवादको अर्को भएन । यही समाजवाद लागू गर्न भनेर गिरि जुन पार्टीमा लाग्नुभयो नेपाली कांग्रेस जो उहाँको प्रिय पार्टी पनि हो भने समाजवाद लागू गर्न नसकेकोमा उहाँको अप्रियताको विषयवस्तु पनि नेपाली कांग्रेस नै भयो ।

वीपीपछि नेपाली कांग्रेसले समाजवादलाई अगाडि बढाउन सकेन त्यो नै उहाँको चिन्ताको विषय थियो । तर, पनि उहाँले नेपाली कांग्रेस छोड्नु भएन र पार्टीमार्फत नै आफ्नो विचार प्रसार गरिरहनु भयो । पार्टीलाई मार्गनिर्देशन गरिरहनु भयो । समाजवाद पक्ष अल्पसङ्ख्यक विचार भयो । पार्टीले कार्यक्रममा उतार्न सकेन । त्यसमा उहाँलाई दुःख थियो । तर, पनि उहाँ विचलित हुनु भएन । निरन्तर समाजवादी विचारको महत्त्व दर्शाइरहनु भयो । त्यसको पक्षमा बोलिरहनु भयो । पार्टीमा आफ्नो विचार राखिरहनु भयो । त्यस अर्थमा ठूलो लडाकु हो उहाँ । 

२०१७ सालपछिको लोकतान्त्रिक आन्दोलनलाई फर्केर हेर्ने हो भने आन्दोलन जोगाएको, बचाएको, पछि पुनर्स्थापना गरेको लोकतन्त्र पनि युवा विद्यार्थीहरुकै आन्दोलन हो । त्यसको एउटा शीर्ष नायक हुनुहुन्छ प्रदीप गिरि । देशमा लोकतान्त्रिक संस्कृति निर्माण र विकास गर्नेमा उहाँको ठूलो योगदान छ । त्यो दिशाको उहाँ ठूलो साधक तथा योद्धा हो । 

उहाँ पार्टी अनुशासनभन्दा माथि उठेको मान्छे हो । पार्टीले संविधानका बेला सबैले सही गर्नुपर्छ भनेको थियो । उहाँले सही गर्नु भएन । तर पनि उहाँलाई सही किन गरिनस् भनेर कसैले प्रश्न गरेन । त्यो उहाँको मौलिकता हो । आलोचना गर्ने विषय होइन । उहाँ पार्टीमा रहे पनि पार्टी भित्रको स्वतन्त्र व्यक्ति हो । संविधान जुन तरिकाले बनाइयो, जुन किसिमका विषयवस्तुहरु रहे त्यो उहाँलाई स्वीकार्य भएन । यो कदम उहाँको जीवनकै एउटा सशक्त पक्षको रुपमा लिनुपर्छ । यसलाई आलोचनाको विषय बनाउनु हुँदैन । 

प्रखर समाजवादी चिन्तक

महेश आचार्य, नेता नेपाली कांग्रेस 

उहाँ एक अध्ययनशील, पार्टीको विचारक, पार्टीको सैद्धान्तिक पक्षहरुलाई राम्रोसँग जनताका माझमा लैजानसक्ने नेता हुनुहुन्थ्यो । विभिन्न पार्टीको नेता पङ्क्तिसँग कांग्रेसको वैचारिक पक्षको बारेमा छलफल गर्न सक्ने सामर्थ्य भएको एउटा विचारवान नेताको रुपमा प्रदीपजी चिनिनुहुन्छ । 

उहाँ प्रजातान्त्रिक समाजवादको पक्षमा निरन्तर अध्ययन गरिरहनु भएको, त्यो विचारलाई अगाडि सारिरहनु भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँले जहिले पनि पार्टीका फोरमहरुमा बोल्दा, सार्वजनिक मञ्चहरुमा बोल्दा तथा समानताको महान आन्दोलनको प्रेरणा जजस्ले प्रजातान्त्रिक समाजवादको निर्देशित गर्छ त्यसको पक्षमा बोल्ने विचारकको रुपमा उहाँ चिनिनुहुन्छ । उहाँको परिचय प्रदीप गिरि भन्ने बित्तिकै एउटा प्रखर समाजवादी चिन्तकको परिचय प्रकट भएर आउँछ । हामीले त्यसरी नै बुझ्यौँ । त्यसरी नै देख्यौँ । त्यसरी नै उहाँको व्यक्तित्वको निर्माण भएको अनुभव हामीलाई भएको छ । 

संविधानमा हस्ताक्षर नगरेको विषयमा उहाँले संसदमा नै आफ्नो कुरा राख्नु भएको म सम्झन्छु । प्रदीपजी उदार चित्तको नेता हुनुहुन्छ । समानताको एउटा अजस्र श्रोत, एउटा प्रेरणा उहाँ भित्र थियो । त्यसैले उहाँ नेपालको सबै समुदायको, आन्दोलनरत सबै पक्षको चित्त बुझ्ने गरी संविधानको लेखन, प्रयोग, कार्यान्वयन होस् भन्ने चाहना र चेतना उहाँमा भरपूर थियो भन्ने कुरा मैले उहाँका कुराहरु सुन्दा, उहाँसँग छलफल गर्दा, उहाँका विचार सार्वजनिक हुँदा बुझेको सत्य चाहिँ त्यही हो । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया