बैतडी : दैनिक ६ घण्टा हिँडेर विद्यालय

 मंसिर १२, २०७९ सोमबार ८:२४:५४ | रासस
unn.prixa.net

बैतडी - दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ । ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ ।

उहाँलाई आधारभूतसम्म पढ्न केही असजिलो थिएन । जब उहाँले ८ कक्षा उत्तीर्ण गर्नुभयो त्यसपछि उहाँको दौडाइ सुरू भयो । गएकाे वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ । '२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटोमै बिताउनुपर्छ', उहाँले भन्नुभयो, 'रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो । सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ । पढ्ने समय त त्यस्तै हो ।'

गोरङका प्रकाश मात्रै हुनुहुन्न, उहाँजस्तै धेरै विद्यार्थीको दैनिकी एउटै छ । बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ । लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो । छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ । गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्ट भन्नुभयो, 'लामो दिनमा त उज्यालोमै घर पुगिन्छ । छोटा दिनमा भने राति पर्छ । सबै सँगै आउनलाई कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ ।' टाढाको बाटो हुँदा एक्लै हिँड्न नसकिने उहाँ बताउनुभयो । 

उहाँका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन् । ' टाढा भएकै कारण केटा इन्डिया (भारत) जाने त केटीहरू बिहे गरेर जाने सङ्ख्या बढी छ । केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,' उहाँले भन्नुभयो ।

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर, अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन् । 'यसमध्ये पनि दुई/चार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्', उहाँले भन्नुभयो, 'घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ । घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ ।'

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जानुहुन्छ । धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन । गोरङका विद्यार्थीलाई अढाइदेखि तीन घण्टा समय हिँड्नैपर्छ । भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि त्यही विद्यालय पढ्न थाल्नुभएको हो ।

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि त्यही विद्यालय पढ्न गएको उहाँले बताउनुभयो । 'गोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ', उहाँले भन्नुभयो, 'रिम, धामीगाउँ जता गए पनि पाँच/छ घण्टा बाटोमै बिताउनुपर्छ । दिनभरि हिँडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन । घर पुग्दा अँध्यारो हुन्छ । खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ ।'

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन । वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए । 'नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौँ', पूर्वविद्यार्थी सुनिता विष्टले भन्नुभयो, '१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौँ, तर, रिम पढ्न जाने छ जना मात्रै भयौँ । स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए ।'

उहाँका अनुसार उहाँसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे । 'घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अधेरी बन्यो ।' उहाँ सम्झिनुहुन्छ । नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उहाँले बताउनुभयो । 'गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन', उहाँ भन्नुहुन्छ, 'विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन् । अरू नागरिकको त के कुरा ।' गोरङका नागरिक ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उहाँ बताउनुहुन्छ ।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताउनुभयो । 'बालबालिकालाई निकै टाढा छ', उहाँले भन्नुभयो, 'यो सबै भौगोलिक बनावटले हो । गाउँगाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन । गाउँहरू निकै टाढा–टाढा छन् । त्यो ठाउँबाट विद्यार्थीले हिँडेर आउनुपर्छ । ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वाभाविक हो ।'

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, 'अहिले छात्रावास छैन । यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौँ । के–के नमिलेर त्यस्तै भयो ।' उहाँका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन् । 'तिनै विद्यार्थीको सजिलोका लागि अब आउँदो शैक्षिक सत्रदेखि लागि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौँ । नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरू हुन्छ' उहाँले भन्नुभयो । त्यसपछि ‘एसईई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उहाँले बताउनुभयो ।

अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ । गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै सात घण्टा हिँडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ । भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया