बैतडीकी माया लुहार हत्या प्रकरण : सशस्त्र प्रहरीका जवानको नाममा किटानी जाहेरी

 मंसिर १६, २०७९ शुक्रबार १२:३८:५३ | रासस
unn.prixa.net

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीको आधारमा ती व्यक्तिको खोजीकार्य तीव्र पारिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मायाको बुधवार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 
 
यस्तै त्यही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमामा रहेकाे बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेकी हुन् । अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको बयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

माया र नेहा मङ्गलवार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधवारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधवार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी हुन् । घटनाको अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो । 

माया हालै सम्पन्न चुनावमा म्यादी प्रहरीसमेत थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायतका सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्ने प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । मायाको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट भने सार्वजनिक गरिएको छैन । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया