इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।
नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला २०६९ साल असोज १६ मा श्रीमती राधा राईका नाममा १६ लाख ३० हजार दुई सय ८६ रुपैयाँ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा २०७४ को पालिका चुनावमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताउनुभयो । राईले दिनुभएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने हुनुुहुन्न । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि सहकारीको ऋण तिर्नुभएको छैन । २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका योगीले २०७६ असार ३१ गते एक लाख ८१ हजार चार सय १६ रुपैयाँ ऋण लिनुभएको थियो ।
योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गर्नुभयो ।
'जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन', उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले २०७२ भदौ १६ गते तीन लाख २० हजार चार सय ९० रुपैयाँ ऋण लिनुभएको थियो । रायमाझी पनि २०७९ को पालिका चुनावमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
ऋण तिर्न रायमाझी, योगी र लामालाई पटक-पटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।
बचत फिर्ता नहुँदा रोकियो मुटुरोगीको शल्यक्रिया
काभ्रेपलाञ्चोकको पाँचखाल स्थायी घर भएकी पार्वती दाहाल विगत दुई दशकदेखि माकालबारीमा पसल चलाउनुहुन्छ । पसलबाट भएको आम्दानी बचत गरे अप्ठ्यारो परेका बेला काम चलाउन सकिन्छ भनी उहाँले सहकारीमा पैसा राख्नुभयो ।
पटक–पटक गरेर दाहालले सहकारीमा छ लाख रुपैयाँ बचत गर्नुभएको छ । दशैँअघि नै मुटुको शल्यक्रिया गर्नका लागि सहकारीमा पैसा फिर्ता माग्न जाँदा उहाँले पैसा पाउनु भएन । उहाँले भन्नुभयो, 'मेरो आफ्नै उपचारका लागि सहकारीमा श्रीमानले बचत गरिदिनुभएको हो, तर मैले अप्ठ्यारो परेका बेला पैसा पाउन सकिन ।'
स्थानीयस्तरमा सहकारीलाई नियमन गर्ने नगरपालिकामा कार्यरत पुष्पबहादुर जिसी र अर्जुन श्रेष्ठले पनि मञ्जुश्री सहकारीबाट ऋण लिनुभएको छ । तर उहाँहरूले पनि अहिलेसम्म ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख तामाङले सुनाउनुभयो ।
यसैगरी सहकारीका पूर्वकर्मचारीहरूले लिएको ऋण पनि अझै फिर्ता गरेका छैनन् । सहकारीका पूर्वव्यवस्थापक लेखनाथ लामाले २०७६ असार ३१ गते ३२ लाख ५३ हजार चार सय पाँच रुपैयाँ ऋण लिनुभएको थियो । उहाँले ऋण तिर्नुपर्ने म्याद २०७६ पुस २८ गते नै समाप्त भए पनि अझै ऋण चुक्ता नगरेको पनि सहकारीले जनाएको छ । चन्दु लामा र रामेश्वर चौलागाईँ पनि सहकारीका पूर्वकर्मचारी हुनुहुन्छ । दुवैले लिएको ऋण नतिरेको अभिलेख सहकारीको कार्यालयमा रहेको छ ।
सहकारीका अध्यक्ष इन्द्र लामा ऋणीसँग पैसा उठाएर बचतकर्तालाई फिर्ता गरिने प्रतिबद्धता जनाउनुभयो । सहकारीका नाममा घर पनि छ । बचतकर्तालाई पैसा फिर्ता गर्न त्यो घर पनि बेच्ने योजना बनाएको उहाँले सुनाउनुभयो । लामाले भन्नुभयो, 'बचतकर्ताले दुःख गरी जम्मा गरेको पैसा हामी खाँदैनौँ, जसरी पनि पैसा फिर्ता गर्न लागेका छौँ, पैसा फिर्ता पाइन्छ भन्नेमा मञ्जुश्रीका बचतकर्ता ढुक्क बन्नुभए हुन्छ ।'
नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नारायणबहादुर सुवेदी जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीले लिएको ऋण फिर्ता गराउन पहल गर्ने प्रतिबद्धता बताउनुभयो ।
'नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको ऋणले मात्र सहकारी डुबेको होइन, बचत पैसाले घर किनेर धेरै मूल्याङ्कन गरेको सुनेको छु, पैसा घरमा लगाएपछि बचत फिर्ता हुन नसकेको हो, बचत फिर्ताका लागि हामी पनि पहल गर्छौँ', उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।