गीतमा ‘भाइरल’ हुने होडले मानसिक समस्याको जोखिम

 माघ १८, २०७९ बुधबार ९:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

हिजोआज सामाजिक सञ्जाल टिकटकमा ‘धोकेबाज हौ तिमी’ बोलको एउटा गीत ‘भाइरल’ भएको छ । गायिकाले महोत्सवमा गीत गाउँदा केही युवतीहरुले क्यामेरातिर फर्केर हाउभाउ देखाएको भिडियो सार्वजनिक भएपछि टिकटकमा त्यसकै नक्कल गर्नेहरुको संख्या थपिएको छ ।  गाउँदा, नाच्दा वा केही फरक गरेर अरुको नजरमा पर्ने र चर्चा हासिल गर्ने उद्देश्यले यसैगरी भाइरल हुने होड बेलाबेला चलेको देखिन्छ । यसरी भाइरल हुने होडमा किशोरकिशोरी बढी देखिन्छन् ।

केही दिनअघि गायक पुष्कल शर्माले कैलाली अत्तरियाको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा प्रस्तुती दिँदै गर्दा एउटी युवती रोएर सँगै गाउँदै गरेको भिडियो भाइरल भएको थियो । ती युवतीलाई त्यसो नगर्न भनेर शर्माले सम्झाउनु भएको थियो । 

त्यसपछि ठाउँठाउँको महोत्सवमा गायिका एलिना चौहानको ‘धोकेबाज हौ तिमी’ भन्ने गीतमा भाइरल हुनका लागि जता जता क्यामरा देखिन्छ त्यतै त्यतै चिच्याउने कराउने गरेको भिडियो देख्न सकिन्छ । 

आफूले गीत गाउँदै गर्दा कोही मिनरल वाटरको बोतलबाट पानी खन्याएर नाच्ने, कोही हँसाउने ढंगले नाच्ने, कोही कार्यक्रमको छेकबार नै भत्काउँला झैँ गर्ने गरेको गायिका चौहान बताउनुहुन्छ ।  आफूले यस्ता गतिविधि नगर्न स्टेजबाटै भन्ने गरेको पनि उहाँले बताउनुभयो । 

‘अरुलाई पानी छ्याप्ने, असर गर्ने, ठेल्ने, लडाउने काम नगर्न तथा रमाइलो गर्न भनिरहेकी हुन्छु,’ उहाँ भन्नुहुन्छ, ‘यस्ता कारणले गीतका शब्दहरु बिर्सिने कता कता पुग्ने हुन्छ । तर, कभर गर्छु ।’ 

यसमा भाइरल हुन खोज्नेभन्दा पनि भाइरल बनाउनेको गल्ती धेरै रहेको उहाँको भनाइ छ । रमाइलो गर्नेले गरे पनि त्यसरी भिडियो खिचेर हालेका कारण व्यक्तिगत जीवनमा असर पर्ने र रमाइलो गर्ने व्यक्तिले पनि यस्ता कुरामा भने सचेत हुनुपर्ने उहाँको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले देखिने भएर यो ठूलो जस्तो भएको हो । अहिले त ट्रेन्ड जस्तो देखिन्छ । अहिले मोबाइल तेस्र्याइदिने अनि विना स्वीकृति भिडियो अपलोड गर्ने गरेका कारण पनि यस्तो भएको हो ।’

भाइरल भएपछि चर्चामा आउने कारणले अहिलेको पुस्तालाई यो सही नभएको र यस्तो ठीक होइन भनेर सम्झाउन गाह्रो परेको भन्नुहुन्छ चाबहिलकी सरस्वती घिमिरे । उहाँ भन्नुहुन्छ, ‘अहिले हाम्रै छोराछोरीलाई पनि सम्झाउन गाह्रो छ । केही भन्यो, सम्झायो भने  हामीलाई थाहा छ भनेजस्तो गर्छन् ।’

छोराछोरीलाई सम्झाउने बुझाउने भन्दा पनि यो एउटा परम्पराकोरुपमा विकास होला भन्नेमा घिमिरेको चिन्ता देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले सबैलाई भाइरल हुने रहर छ । भोलि त यो कल्चरकोरुपमा विकास होला जस्तो पो भयो ।’

अहिले आमाबाबुले पनि आफ्ना साना केटाकेटीलाई पनि भाइरल बनाउने नाममा विभिन्न भिडियोहरु अपलोड गर्ने गर्दा भोलि त्यसले भविष्यमा असर गर्ने घिमिरेको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले बाउआमालाई छोराछोरीलाई सानैदेखि भाइरल बनाउने रहरले भोलि गएर ती केटाकेटीले चर्चा पाएनन् वा कसैले राम्रो व्यवहार गरेनन् भने तिनले समाजमा संघर्ष गरेर बाँच्नै नसक्लान भन्ने डर पनि छ ।’ 

अहिले भाइरल हुने कुराले पछि नकारात्मक असर पर्ने बाल मनोविद् डा. गंगा पाठकको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो एकदमै नराम्रो र समाजमा विकृति ल्याउने कुरा हो । कति लाइक आयो, कति कमेण्ट आयो अनि कति भ्यूज भयो भन्ने कुराले झनै तनाव दिने गरेको छ ।’

एक जना किशोरीले अरुको टिकटक हेरेर आफूले टिकटक बनाउन थालेपछि त्यहाँ आएका नकारात्मक टिप्पणीले किशोरीलाई डिप्रेशन भएर औषधि खुवाउनु परेको र मनोपरामर्श पनि गर्नु परेको उहाँको अनुभव छ । 

विशेषगरी १३/१४ वर्षको उमेर एकदमै संवेदनशील उमेर भएको यस उमेर समूहका किशोरकिशोरीहरुले के राम्रो, के नराम्रो थाहा नपाउने, अरुको नक्कल गर्ने, चाँडै नै उचाइमा पुग्न खोज्ने कारणले अहिले भाइरल हुने प्रवृत्ति बढेको र यसले मानसिक रोगी बनाउने पनि उहाँको भनाइ छ । 

उहाँका अनुसार अहिलेका पुस्ताको आफ्नो विशेष क्षमता, खुबी, सीप प्रस्तुत गरेर स्थापित हुनेभन्दा पनि तुरुन्तै आफूप्रति ध्यान खिच्न खोज्ने प्रवृत्ति बढेको छ । उहाँ भन्नुहुन्छ, ‘सानो बच्चालाई एक्सपोज गरेको होस् वा ठूलालाई यसले एउटा त आनन्द दिने भयो भने अर्को भनेको यस्ले छिटै नै अरुको एटेन्सन खिच्ने काम पनि गर्छ । यो कसैले जानाजान चर्चित हुन् र कोही भने केवल मनोरञ्जनका लागि गरिरहेका हुन्छन् । यसमा कस्ले कसरी प्रयोग ग¥यो भन्ने कुरा मुख्य हो ।’

उहाँका अनुसार कसैले एकदमै सस्तो र सहज तरिकाले लिन्छन् भने यो मनोरञ्जन भयो । यसमा आफूले पनि आनन्द लियो अरुलाई पनि आनन्द दियो । अथवा कोही भने यस्तो गरेर भाइरल बन्छु, धेरैले हेरुन भनेर यसो गर्ने गर्छन् ।

यो सही वा गलत के हो भन्ने नबुझी साथीको वा फलानोको भिडियो भाइरल भएछ अब म पनि बनाउनु पर्‍यो भनेर लहैलहै र देखासिकीमा जाने तर, त्यसको सकारात्मक अनि नकारात्मक पक्ष नहेर्ने तथा के उपलब्धि हुन्छ भनेर भिडियो बनाउने होडबाजी नै चलेको मनोविद पाठक बताउनुहुन्छ । भाइरल हुने नाममा त्यसको सकारात्मक वा नकारात्मक पाटो नहेरी भिडियो बनाउँदा पछि यसले व्यक्तित्व विकासमा पनि ठूलो असर गर्ने भएकाले सचेत हुन उहाँको सुझाव छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया