पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
बसाइँसराइका कारण धेरै छन् । मान्छेले मुख्यतयाः सुविधाको खोजीमा थातथलो छाड्छ । शिक्षा र स्वास्थ्य जस्ता सुविधा र काम र कमाइका सजिला अवसरको खोजीमा नेपालको पहाडबाट तराईमा बसाइँ सर्ने प्रवृत्तिलाई जनसङ्ख्याविद्हरु स्वाभाविक मान्छन् । तर पछिल्लो समय पहाडका बस्ती रित्तिनमा अरु दुई कारण थपिएका छन् । ती दुई कारण हुन् पानीको बढ्दो सङ्कट र खपिनसक्ने गरी बढेको बाँदरको उपद्रो ।
अहिलेलाई बाँदरको उपद्रोको कुरा गरौँ
भोजपुरको रामप्रसाद राई गाउँपालिकाका–६ मानेभञ्ज्याङका हस्तबहादुर थापाको परिवार सुनसरीको इटहरी सरेको एक वर्ष भयो । आफ्नै खेतबारीमा वर्षमा ५० मुरीभन्दा धेरै धान, कोदो, मकै, तरकारी फल्थ्यो, जुन परिवारका लागि मनग्य थियो । तर अन्न बाँदरले खान थालेपछि गाउँमा टिक्न नसकि थापाको परिवार पुर्ख्याैली थलो छाड्न बाध्य भयो । थापा भन्नुहुन्छ ‘गाउँ सम्झँदा अहिले पनि मन चसक्क हुन्छ, के गर्नु बाँदरले बसिखान दिएन ।’ बाँदरबाट बाली जोगाउने सबै उपाय असफल साबित भएपछि घरमा ताल्चा झुण्ड्याएको उहाँको भनाइ छ ।
बाँदरको उपद्रोले थापा जस्ता धेरै थातथलोबाट विस्थापित भइसकेका छन् । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जगतबहादुर चौहानले दिएको जानकारी अनुसार, पालिकाको वडा नम्बर ४, ५ र ६ बाट बितेका १० वर्षमा ९४ परिवार विस्थापित भए । अहिले पनि बर्सेनि ८–१० परिवारले घर छाडिरहेका छन् । चौहानलाई अब गाउँ रित्तिने चिन्ताले सताउन थालेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–८ धौल्यालीमा ६८ परिवारको बसोबास थियो । अहिले ४० परिवारको घर ताल्चाले रुँग्दैछ । दशरथचन्द–५ को तल्लीआयत गाउँका ५१ मध्ये ३७ परिवारले घर छाडिसके । चिटिक्क परेका घर, सिँचाइ सुविधा भएको मलिलो जमिन, त्यो जमिनको उत्पादनले पाउने बजार सबैथोक छ । वडा नम्बर ५ कालाल सिंह भन्नुहुन्छ 'तर, बाँदरको उपद्रो खप्न नसकेर गाउँ खाली हुँदै गएकोे छ ।'
बैतडी छाडेर महेन्द्रनगरको भासीमा स–परिवार बस्न थालेका सिंहले टेलिफोनमा भन्नुभयो ‘घर सम्झिँदा अहिल्यै जाउँ जस्तो लाग्छ, तर के गर्नु गाउँमा बाँदरकै रजाइँ छ ।’
भोजपुर र बैतडीजस्ता बाँदरको उपद्रो सहेका पहाडी गाउँका समस्या अध्ययन गरेका नेपाल कृषि अनुसन्धान परिषद्, बाली प्रजनन तथा अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत, डा. उज्जवलकुमार सिंह कुशवाह भन्नुहुन्छ ‘पहाडमा बढ्दै गएको बाँदरको उपद्रो नरोक्ने हो भने केही वर्षमै मध्यपहाडका धेरै गाउँ र बस्ती रित्तिन्छन्, जमिन बाँझो बन्छ ।’
बसाइँसराइ कि उठीबास ?
सरकारले बाँदरका कारण थातथलो छाड्नेहरुलाई स्वाभाविक बसाइँसराइ मान्दै आएको छ । तर डा. सिंह यो बसाइँसराइ नभएर थातथलोबाट भएको उठीबास भन्नुहुन्छ । सुविधाको खोजीमा जानेहरु म अर्को ठाउँमा जान्छु, त्यहाँ स्थापित हुन यो काम गर्छु, स्थापित नहुञ्जेल यसरी खर्च चलाउँछु भन्ने योजनामा हुन्छन् । पहाडबाट यसरी बसाइँ सर्नेहरु धेरै छन् । तर योजनाबद्ध बसाइँसराइ गर्न नसकेकाहरुलाई बाँदरले जबरजस्ती धपाइदिएको छ ।
जीविकामा आधारित खेती गर्दै आएकाहरुको लागि आम्दानीको अरु स्रोत छैनन् । पसिना बगाएको बालीनाली बाँदरले नष्ट गरिदिएपछि छाक टार्ने अरु उपाय हुँदैन । खानेकुराकै अभाव भएपछि मान्छे जे त पर्ला भनेर रुँदै हिँडेका छन् । यो कमजोर वर्गको जबरजस्ती बसाइँसराइ भएकोले उनीहरुलाई विस्थापन वा उठीबास मान्नुपर्ने कुशवाहको तर्क छ ।
तीन दशकमा बढेको समस्या
आजभन्दा तीस वर्षअघि, पचासको दशकसम्म बाँदर पहाडको चर्को समस्या थिएन । बाँदर र मान्छे दुवै आ–आफ्नै ठाउँमा थिए । जङ्गलबाट बेला बेला आउने बाँदरलाई मान्छेले सजिलै धपाउँथे । बाँदरका कारण विस्थापित भोजपुरका हस्तबहादुर थापा भन्नुहुन्छ ‘पहिले बस्तीमा आएका बाँदरलाई एकपटक भरुवा बन्दुक पड्काएर खेदायो भने महिनौँ आउँदैनथे । गोली लागेर एउटा बाँदर मर्यो भने बाँदरको हुल फर्कन निकै समय लाग्थ्यो ।’
तर जब सरकारले वन्यजन्तु संरक्षणको नीति कार्यान्वयनमा कडाइ गर्यो, त्यसपछि बन्दुक पड्काएर बाँदर मार्ने क्रम रोकियो । त्यही बेला सशस्त्र युद्ध सुरु भयो र पहाडबाट बसाइँसराइ गर्नेहरु बढे । बस्ती पातलिए । मान्छे कम भए । बाँदरको मनमौजी बढ्यो । मनमौजीसँगै बाँदरको सङ्ख्या पनि बढ्यो ।
बाँदरको सङ्ख्या बढेसँगै उसको उपद्रो पनि अचाक्ली बढेर गयो । बाँदर खेदाउँदा लडेर मानिसको ज्यानै गयो । बाँदरको उपद्रोबाट आजित भएका, दुःख गरेर लगाएको खेती बाँदरले नष्ट गरेर भोकै पर्ने बाध्यता सिर्जना भएपछि बाँदर पीडित बासिन्दाको उठीबास लाग्ने क्रम तीव्र बनेको छ ।
भारतीय बाँदरले पनि दुःख दिए !
खुल्ला सीमाका कारण वारिका वन्यजन्तुले पारि र पारिका वन्यजन्तुले वारि दुःख दिइरहेका घटना पनि बाक्लिन थालेका छन् । मानिसका लागि सीमा भए पनि जनावरले जिल्ला, प्रदेश, देश र अन्तर्राष्ट्रिय सिमाना चिन्दैन । उस्का लागि आफूले कुद्ने भूगोल प्राकृतिक घर हो र भारत र नेपाल पनि एउटै घर हो ।
तर बैतडीको दशरथचन्द नगरपालिकामा बढेको बाँदर आतङ्कलाई स्थानीयले प्राकृतिकभन्दा पनि मानवसिर्जित मानेका छन् । सीमा क्षेत्रमा ल्याएर मानिसले छाडेका बाँदर नेपाल पसेर यस पालिकामा बाँदरले दुःख दिएको धेरै वर्ष भएको छैन । पहिले फाट्टफुट्ट बाँदर भए पनि पछिल्लो पाँच–सात वर्षमा सङ्ख्या बढेको र तिनीहरु निकै आक्रामक रहेका पीडित लाल सिंहले बताउनुभयो ।
स्थानीयवासी चार वर्षअघि पिथौरागढ–झुलाघाट सडकको खरक्यौडा भन्ने ठाउँमा भारतीयहरुले दुई ट्रक बाँदर ल्याएर छाडेका दाबी गर्छन् । स्थानीयको दाबी जस्तै भारतीय पत्रिका द टाइम्स अफ इन्डियामा १९ फेब्रु अरी २०२२ मा प्रकाशित एक रिपोर्टमा पनि हरिद्वारबाट बाँदरहरू समातेर सीमा क्षेत्रमा छोड्ने गरिएको उल्लेख छ ।
बाँदरकै कारण विद्यालय बन्द !
बाँदरका कारण गाउँ रित्तिँदै गएपछि विद्यालयमा विद्यार्थी घटेर अहिले पहाडका धेरै विद्यालय विद्यार्थी अभावमा बन्द भएका छन्, कि त अरु विद्यालयसँग गाभिएका छन् । यसरी गाभिएका विद्यालयमा आवतजावत गर्न पनि बालबालिकालाई बाँदरकै डर छ । विद्यार्थी डराएर विद्यालय जानआउन नसक्ने भएकाकारण एकातिर विद्यालय बन्द हुन थालेका छन्, भने अर्कातिर निरक्षरता बढ्ने जोखिम बढेको छ, जसको असर केही वर्षपछि भयावह रुपमा देखिन सक्छ ।
बाँदरले बस्ती खाली भएको बैतडीको दशरथचन्द नगरपालिकाका चारवटा विद्यालय बन्द भएका छन् भने केही विद्यालयमा ५–६ जनामात्रै विद्यार्थी छन् । विद्यार्थी सङ्ख्या कम भएर वरपरका विद्यालय बन्द भएपछि साङडी गाउँका १५ जना विद्यार्थी भारतका विद्यालयमा जाने गरेको स्थानीयले बताएका छन् ।
मध्यपहाडमा बाँदरका कारण उठीबास लागेका र विस्थापित भएका परिवार र गाउँको कथा सुन्दा नौलो लागे पनि यसको सामाजिक, आर्थिक र सांस्कृतिक असर गहिरो छ । तर, यस विषयमा कसैले अध्ययन गरेको छैन, मानौँ बाँदर सरकारका लागि कुनै समस्या नै होइन ।
सरकारले यसलाई समस्या नमान्नुको मुख्य कारण बाँदरले गर्ने क्षतिप्रति नेपाल सरकारको कानुनी दायित्व नहुनु नै हो । विभिन्न १४ खालका जनावरले मानिस र अन्नबालीमा हानिनोक्सानी गर्दा सरकारले त्यसको क्षतिपूर्ति दिने नियम/कानुन छ, तर क्षतिपूर्ति दिनुपर्ने यी १४ वटा जनावरमा बाँदर चाहिँ पर्दैन । अथवा बाँदरलाई कानुनले नै उपद्रो गर्ने छुट दिएको छ ।
किसानले गर्ने उजुरीमा बाँदरले गरेको हानि र हैरानीका उजुरी धेरै भए पनि पालिका, प्रदेश र सङ्घीय सरकार बाँदरका अगाडि निरीह हुँदा किसानहरु पनि “नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार !” भन्दै थातथलो छाड्न बाध्य छन् ।
(‘बाँदरको उपद्रो’ उज्यालोको शृङ्खलाबद्ध कथा हो । यो शृङ्खलामा देशभर भैरहेका बाँदर आतङ्कका अनेक पक्षमा विभिन्न कथाहरु समेटिने छ। दोस्रो कथा भोलि चैत २८ गते प्रस्तुत गर्नेछौँ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
विजय तिमिल्सीना पर्वत
April 10, 2023, 12:54 p.m.बाँदरको उपद्रो त नेपालको सारा ग्रामिण बस्तिको समस्या हो ।यसको समाधान नेपाल सरकारले बेलैमा उचित निति मार्फत गर्नु पर्दछ ।हैन भने भविष्यमा धेरै कृषकहरु पलायन हुन्छन र हामिले खाने अन्न फलफुलको अभाव भई भोकमरी समेत लाग्न बेर लाग्दैन ।।