पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
नेपालमा तीन प्रजातिका बाँदर छन् । तीन प्रजातिमा पाइने छ प्रकारका लाखाैँ बाँदरले नेपालको तराईदेखि हिमालसम्म विचरण गर्छन् । तीन प्रजातिमा सबैभन्दा धेरै र जताततै पाइने प्रजाति हो रातो बाँदर । दोस्रो प्रजातिको बाँदरलाई पहरे वा आसामी बाँदर भनिन्छ जुन नेपालको मध्यपहाडको जङ्गली भेगमा पाइन्छ र ध्वाँसे बाँदर भनेर पनि चिनिन्छ । र अर्काे लङ्गुर बाँदर हुन् । रातो बाँदर तराईको उष्ण प्रदेशीय जङ्गलदेखि मन्दिर, स्तूप तथा सहरकासाथै उच्च पहाडी वनजङ्गल र हिमालयको फेदीसम्म पाइएको छ । तेस्रो प्रजातिको लङ्गुरे बाँदर हनुमान बाँदरका नाममा पनि परिचित छ । लङ्गुरे बाँदर तराईदेखि उच्च पहाडी भू–भागसम्म पाइन्छ । तराई, मध्यपहाड, उच्चपहाड र हिमाली क्षेत्रमा लङ्गुरका छुट्टाछुट्टै चार उपजाति पाइने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जानकारी दिने गरेको छ । नेपालको तराईदेखि हिमालको फेदीसम्म पाइने भए पनि मध्यपहाडमा रातो बाँदर आतङ्क बढी छ । मनास्लु संरक्षण क्षेत्रका संरक्षण अधिकृत पशुपति अधिकारीका अनुसार नेपालको झन्डै ४४ प्रतिशत भू–भागमा बाँदरले मानिसलाई दुःख दिइरहेको छ ।
बाँदरको जातै दुःख दिने
जीवनचक्र नियमित चल्नका लागि प्रकृतिले बनाएको प्रणालीअनुसार जीवजन्तुको सङ्ख्या सन्तुलन गर्न कि त एकले अर्कालाई सघाउँछन्, कि त एकले अर्कालाई मारेर खान्छन् । बाघ सकियो भने मृग र बाँदरको सङ्ख्या बढ्छ र ती जङ्गलबाहिर निस्कन्छन् । गड्यौला सकिए भने चराचुरुङ्गीकाेको सङ्ख्या घट्छ । चराचुरुङ्गीकाे सङ्ख्या घट्यो भने किरा फट्याङ्ग्रा बढेर अन्नबाली नाश गर्छन् । प्रकृतिको यही नियमले शाकाहारी र मांसाहारी जनावरबीच सङ्ख्या सन्तुलन गर्छ । तर केही जनावरले प्रकृतिको यो नियमलाई पनि बेला न कुबेला मात गर्छन् । ती जनावर हुन् बाँदर, बँदेल तथा ब्वाँसो । यिनलाई 'पेस्ट एनिमल' पनि भनिन्छ जसलाई उच्च प्रजनन क्षमता भएका र बालीनाली तथा पशुधनको नाश गर्ने जनावर मानिन्छ । वातावरण अनुकूल हुनासाथ यिनीहरूको सङ्ख्या चाँडै बढ्छ र सन्तुलन खलबलिन्छ भन्नुहुन्छ मनास्लु संरक्षण क्षेत्रका संरक्षण अधिकृत पशुपति अधिकारी ।
बाँदरको तथ्याङ्क कसैसित छैन
नेपालमा पाइने बाँदरमध्ये पहरे वा आसामी बाँदरमात्रै संरक्षणको सूचीमा छ । पहिले यसको सङ्ख्या कम भए पनि पछिल्ला वर्षहरूमा पहरेको सङ्ख्या पनि बढ्दै गएको अधिकारी बताउनुहुन्छ । त्यसो त लङ्गुर प्रजातिको बाँदरको सङ्ख्या पनि धेरै छैन तर रातो बाँदरको सङ्ख्या भने बर्सेनि १० प्रतिशतभन्दा धेरै बढिरहेको अनुमान संरक्षणमा लागेकाहरूले गरेका छन् । नेपालको मध्यपहाडमा आतङ्कको पर्याय हुँदै गएको बाँदर रातो बाँदर प्रजातिको हो ।
नेपालमा अहिलेसम्म सरकारीस्तरबाट बाँदरबारेमा विस्तृत अध्ययन भएको छैन । केही ठाउँ विशेष अध्ययन भए पनि यसको सङ्ख्या, प्रजजन दर र वृद्धिकाे वैज्ञानिक अध्ययन र आकलन कसैले गरेको छैन ।
बाँदरमा विद्यावारिधि गरेका डा. मुकेशकुमार चालिसेले व्यक्तिगत प्रयासमा तयार पारेको पाँच बर्ष पहिलेको एक प्रतिवेदनअनुसार नेपालमा त्यो बेला झन्डै एक लाख बाँदर थिए र तिनको सङ्ख्या बर्सेनि १० प्रतिशतका दरले बढिरहेको थियो । यसै आँकडालाई आधार मान्दा पनि नेपालमा अहिले बाँदरको सङ्ख्या एक लाख ६० हजारभन्दा धेरै छ भन्ने अनुमान गर्न सकिन्छ । पाँच वर्षअघि जन्मेका बाँदरले जन्माएका बाँदरको पनि हिसाब गर्ने हो भने यो सङ्ख्या अझ धेरै हुन्छ । त्यसमाथि रातो बाँदरमा पछिल्लो समय विद्यावारिधि गरेकी डा. सविना कोइरालाका अनुसार पछिल्लो समय बाँदरको प्रजनन क्षमता पहिलेभन्दा दोब्बर भएको छ । त्यसैले नेपालमा बाँदरको सङ्ख्या यत्ति नै छ भनेर भन्न सकिने अवस्था छैन ।
चोरी खाने बाँदरको पुरानो बानी
खेतीको अन्नबाली चोरेर खाने बाँदरको समस्या मान्छेका लागि नयाँ होइन किनकि बाँदरले खेती सुरु भएदेखि नै मान्छेलाई सताइरहेको छ । नेपालमा विभिन्न ठाउँमा परापूर्वकालदेखि नै बाँदरले दुःख दिएको पाइन्छ । तर आतङ्क नै सुरु भएको चाहिँ झन्डै ३० वर्ष भएको पीडितहरू बताउँछन् ।
पञ्चायतकालमा पनि बाँदरले बालीनालीमा क्षति पुर्याउँथे । त्यस बेला बन्दुक हानेर बाँदर मार्ने गरिन्थ्यो । बन्दुकको आवाजले तर्सिएका बाँदर महिनौँ बस्तीमा फर्कँदैनथे । समूहको एउटा बाँदरलाई गोली लागेर मर्याे भने त त्यो समूह त्यही ठाउँमा फर्कन वर्षाैँ लाग्थ्यो । सरकारले जङ्गली जनावरको संरक्षण गर्ने नीति लिएपछि बाँदर मार्दा वा तिनलाई दुःख दिँदा मान्छेले सजाय र क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था भयो । बाँदरले सरकारी संरक्षण प्राप्त गरेपछि मान्छेले बाँदर मार्न छाडे ।
मान्छेले मार्न छाडेसँगै बाँदरको सङ्ख्यामा वृद्धि भयो । त्यसपछिका दिनहरूमा बाँदरको सङ्ख्या तीव्र गतिमा बढ्यो भने बाँदर मान्छेका खेतबारीमा आउन थाले । अहिले त मान्छेले धपाउँदा त हैन बन्दुकको जस्तै आवाज निकाल्ने उपकरणबाट पनि डराउन छाडे ।
याे पनि पढ्नुहाेस्
घट्दै चितुवा बढ्दै बाँदरको जगजगी
डा. कोइरालाका अनुसार ‘बाँदरको बिगबिगी बढ्नुको मुख्य कारण प्राकृतिक सन्तुलन अर्थात् पर्यावरणीय सन्तुलन बिग्रनु हो । वनमा बाघ, चितुवा हुँदा तिनको आहारा मृग र बाँदरको सङ्ख्या सन्तुलित थियो । तर अहिले बाँदर भएको वनमा बाँदरको सिकार गर्ने बाघ र चितुवा छैनन् जसले गर्दा बाँदरको सङ्ख्या बढ्न गयो ।’
मनास्लु संरक्षण क्षेत्रका संरक्षण अधिकृत पशुपति अधिकारी पनि बाँदरको सङ्ख्या बढ्नुको मुख्य कारण चितुवाको सङ्ख्या घट्नु हो भन्नुहुन्छ । चोरी सिकारका कारण मध्यपहाडी क्षेत्रमा पाइने ध्वाँसे चितुवाको सङ्ख्या घटेपछि बाँदरको सङ्ख्या ह्वात्तै बढेको छ । अधिकारीका अनुसार ध्वाँसे चितुवाले रुखै चढेर बाँदरको सिकार गर्छ र एउटा ध्वाँसे चितुवाले वर्षमा ५० वटासम्म बाँदरको सिकार गर्ने क्षमता राख्छ ।
वनजङ्गल बढेर बाँदरको वासस्थान बढेको, बाँदरको सिकार गर्ने चितुवा पहाडमा कम हुँदै गएको र पहाडका बस्ती खाली हुँदै गएपछि बारी र घरछेउ रुखहरू बाक्लै भएपछि बाँदरलाई बस्तीमा पस्न थप सजिलो भएको छ ।
बाँदरको मस्तीमा रमिते हुँदै मान्छे !
बाँदरको वास गाउँ नजिक हुन थालेपछि उनीहरूको सङ्ख्या पनि बढ्यो । डा. कोइरालाको अध्ययनअनुसार मान्छेको खानेकुरा चोर्ने बाँदरले जङ्गलमै बस्ने बाँदरले भन्दा धेरै बच्चा जन्माए । उहाँ भन्नुहुन्छ, ‘पहिले बाँदरको धेरै समय खानेकुरा खोज्नमा बित्थ्यो । तर मान्छेको खाना चोरेर खान थालेपछि बचेको समय बाँदरले आराम गर्न, जुम्रा हेर्न र खेल्न प्रशस्त समय पायो । मान्छेको खानेकुरा जङ्गलको भन्दा बढी शक्तिवर्धक हुन्छ । शरीर पनि बलियो भयो । थोरै समयमा धेरै शक्ति पाउँदा दुई वर्षमा सन्तान जन्माउने बाँदरले वर्षैपिच्छे बच्चा पाउन थाले ।’
गाउँमा देखिएको अवस्था पनि यस्तै छ । जबदेखि बाँदरहरू मान्छेलाई जितेर बस्ती नजिक घुम्न र खेतीबाली खान थाले त्यसपछि उनीहरूको समूहमा सदस्य सङ्ख्या वृद्धि तीव्र बनेको छ । आफूहरूको ठूलो समूह, मान्छेले धपाए पनि हत्तपत्त नमार्नु, धेरै समय नजिक बस्दा मान्छेको आनिबानी बुझ्दै जानु, आफूहरूलाई तर्साउन गरिएका उपायहरूबारे जानकारी पाउँदै जानु लगायतका कारण गाउँघरमा बाँदर बलिया र मानिस कमजोर हुँदै गएका छन् । र यो क्रम तत्काल नरोकिने हो भने नेपालमा बाँदरले समाजको आर्थिक, सामाजिक र राजनीतिक संरचनामै हलचल ल्याउन सक्छ ।
याे पनि पढ्नुहाेस्
(‘बाँदरको उपद्रो’ उज्यालोको शृङ्खलाबद्ध कथा हो । यो शृङ्खलामा देशभर भैरहेका बाँदर आतङ्कका अनेक पक्षमा विभिन्न कथाहरु समेटिने छ । चाैथाे कथा वैशाख ३ प्रस्तुत गर्नेछौँ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।