यूएईमा पदमले जिते ७० करोडको चिट्ठा, भन्छन् : अझै विश्वास लागेको छैन

 वैशाख ६, २०८० बुधबार १७:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : खाजिल टाइम्स

काठमाण्डौ – यूएईमा कार्यरत एक नेपालीले झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।

यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार ७१ करोड ७७ लाख ८२ हजार ४९६ रुपैयाँ बराबरको चिट्ठा जित्नुभएको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ । खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाउनुभएको छ ।

उहाँले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठुलो चिट्ठा जित्ने पदम  पहिलो सहभागी हुनुभएको छ । बुधवार आफूले जितेको रकम बुझ्दै पदमले भन्नुभएको छ ‘मलाई अझै विश्वास लागिरहेको छैन ।’ 

पदमले यूएईमा गाडी चलाएर ५७ सय दिर्हाम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आउनुभएको छ । उहाँ २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहनुभएको छ ।

उहाँले आफूले यसअघि पनि केही मात्रामा यस्तो चिट्ठा रकम जितेको बताउनुभएको छ ।

तर आफूले यति ठुलो रकम जित्छु भन्ने सपनामा समेत नदेखेको पदमको भनाई छ । उहाँले पहिलो लक्की नम्बर आफ्नो श्रीमती र छोरीसँग सोधेर राखेको र त्यसपछिको अर्को नम्बर आफाले राखेको बताउनुभएको छ ।

पदमले आफूले मेहनत गरेर कमाएको रकमबाट पनि विभिन्न सहाय र पीडित व्यक्तिहरूलाई सहयोग गरेको भन्दै अब झन् सहयोग गर्न आफूसँग पैसा भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।

‘मैले दृष्टि विहीन व्यक्तिहरूलाई पनि सहयोग गरेँ, बुढाबुढी मानिसहरू जो रोडमा हिँडिरहेका हुन्छन् उनीहरूलाई पनि मैले सकेको सहयोग गरेँ’ पदमले भन्नुभएको छ ‘अब त मसँग ठुलो रूपमा अरूलाई सहयोग गर्न पनि पैसा भएको छ ।’ 

खबरमा नेपाली नागरिक पदमले चिट्ठा जितेको उल्लेख गरे पनि नेपालको ठेगाना र थर भने उल्लेख गरिएको छैन ।

यसअघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्रमार्फत झण्डै ३५ करोड रुपैयाँको चिट्ठा जित्नुभएको थियो । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया