६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
दोलखाको बिगु गाउँपालिका–५ का राजन थामीले ललितपुरको ग्वार्कोमा खाजाघर चलाउन थालेको झण्डै तीन वर्ष भयो । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदा चक्रपथको बायाँपट्टी ‘सर्भिस लेन’ सँगै रहेको उहाँको दिव्यतारा फास्टफुड एण्ड खाजाघरमा दुई वर्ष अघिसम्म व्यापार राम्रैै थियो । तर, एक वर्षदेखि भने उहाँको व्यापार खासै राम्रो चलेको छैन ।
खाजा पसलको भाडा महिनाको २० हजार रुपैयाँ तिर्नुपर्छ । गएको एक वर्षदेखि भाडा तिर्न पनि मुश्किल छ । अहिले महिना मर्दा कसरी भाडा तिर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । ग्वार्कोमा बन्न लागेको फ्लाइओभर यसको कारण भएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘झण्डै डेढ वर्षदेखि व्यपार कम हुँदै आएको थियो । तर, जब यहाँ फ्लाइओभर बनाउन शुरु भयो त्यसबेलादेखि भने भाडा नै तिर्न नपुग्ने भएको छ ।’
आठ लेनको चक्रपथमा बीचको मुख्य चार लेनमा फ्लाइओभर निर्माण गर्न लागिएको हो । बीचको मुख्य चार लेन फ्लाइओभर निर्माणका लागि बन्द गरिएपछि सहायक लेनबाट गाडी चलाउने गरिएको छ ।
उसै त बीचको मुख्य चार लेनमा गाडी चल्दा त जाम हुने ग्वार्कोमा झन त्यो चार लेनमा गाडी चलाउन नपाउँदा यसको असर सहायक लेन तथा सर्भिस लेनमा पर्ने गरेको छ । जसका कारण लामो जाम हुने गरेको छ । अनि यसको असर आफ्नो खाजाघरमा पनि परेको बताउनुहुन्छ थामी ।
‘उताको बाटो बन्द भएपछि धेरै गाडी तथा बाइक यताबाट आउँछ । अनि घण्टौँ जाम हुने । कहिले त मान्छे पनि कहाँबाट हिँड्ने जस्तो हुन्छ । अनि यस्तो भएपछि मान्छे कहाँबाट आउँछन् र पसल चल्नु,’ उहाँ भन्नुहुन्छ, ‘बाइक लिएर आउने मान्छे यसो अडिएर खाजा खान्थे अहिले त त्यो अवस्थै छैन । जामले मान्छे आउने भन्ने नै भएन ।’
ग्वार्को काठमाण्डौ उपत्यकाकै गाडीको चाप धेरै हुने क्षेत्रमा पर्छ । यसकारण नै यहाँ जाम घटाउन भनेर फ्लाइओभर निर्माण गर्न लागिएको हो । २०७८ साल माघमा सम्झौता भएर दुई वर्ष भित्र निर्माण गरिसक्नुपर्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीले ठेक्का पाएका थिए । ठेक्काको अवधि आउँदो फागुनसम्म छ ।
गएको मंसिरमा निर्माण कार्य शुरु गरे पनि डिजाइनमा समस्या देखिएपछि अहिले निर्माण कार्य रोकिएको छ । निर्माण कार्यको लागि मुख्य लेन खनेर भत्काइएको छ । अरु कुनै काम हुन सकेको छैन । यसले गर्दा छिटो निर्माण सकिएर जाममुक्त हुने आशामा रहेका नागरिकले दैनिक सास्ती भोग्नु परेको छ ।
ग्वार्को हुँदै मोटरसाइकलमा कोटेश्वर जाँदै गरेका इमाडोलका रवीन्द्र केसी भन्नुहुन्छ, ‘यो फ्लाइओभर भनेको त हामीलाई अनौठो चिज पो भएको छ । कहिले बन्ने, के बन्ने केही थाहा छैन । त्यसै बाटो बन्द गरेको छ । मान्छेलाई दुःख दिएको छ, के गर्न खोजेको नै थाहा छैन । उसै त जाम हुने ठाउँमा अहिले आधा घण्टा बस्नुपर्छ ।’
त्यस्तै ग्वार्कोमा किराना पसल सञ्चालन गर्ने रौतहटको गौर नगरपालिका–३ का रामबाबु साह पनि फ्लाइओभर निर्माणको कामले अब पसल नै छोड्ने मनस्थितिमा पुगेको बताउनुहुन्छ । उहाँले ग्वार्कोमा पसल राखेको करिब दुई वर्ष भयो । तर, यसै अवधिमा फ्लाइओभरको काम शुरु भएपछि जामका कारण उहाँको व्यापार हुन छोड्यो ।
उहाँ भन्नुहुन्छ, ‘यो फ्लाइओभर कि के भन्छ त्यसले गर्दा हाम्रो व्यापारै हुन छोड्यो । अब त भाडा तिर्न पनि सक्दैन । पसल बेच्न खोजिरहेको । कोही किन्न पनि आउँदैन ।’
२०७८ साल माघमा सम्झौता भएर दुई वर्ष भित्र निर्माण गरिसक्नुपर्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीले ठेक्का पाएको फ्लाइओभरको काम मंसिरमा शुरु पनि भएको थियो ।
तर, निर्माण व्यवसायीले काम गर्दै जाँदा डिजाइन अनुसार काम गर्ने मेशिन छिमेकी देश भारतमा पनि नपाइने बुझेपछि डिजाइन नै फेर्नुपर्ने भयो । डिजाइनमा रुमलिँदैमा १८ महिनाको समय त्यसै गयो ।
ठेकेदारले डिजाइन परिवर्तनका लागि सडक विभागलाई अनुरोध गरेका छन् । अध्ययनपछि अब छिटै नयाँ डिजाइन अनुसार काम हुने बताउनुहुन्छ सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जन ।
अहिले पनि व्यवसायीले पेस गरेको डिजाइन स्वीकृत भइसकेको अवस्था भने होइन । त्यसमा सडक विभागले अध्ययन गरिरहेको छ ।
महर्जनका अनुसार पहिलेको डिजाइन पनि नहुने भन्ने त होइन तर, त्यो डिजाइन अनुसार काम गर्ने मेशिन नेपालमा उपलब्ध नभएका कारण डिजाइन परिवर्तन गर्नुपरेको हो ।
पहिलेको डिजाइन अनुसार काम गर्ने मेशिन भारतमा नपाइएको र युरोपबाट झिकाउनुपर्ने कारण धेरै नै महँगो पर्ने कारणले व्यवसायीले डिजाइन परिवर्तन गरेका हुन् । भारतमा पनि त्यो खालको प्रविधि नयाँ भएका कारण पनि मेशिन पाउन गाह्रो परेको हो ।
महर्जनका अनुसार अहिले भारतमा पाइएको मेशिन अनुसार व्यवसायीले डिजाइन परिवर्तन गरेका हुन् । मेशिन अहिले भन्सारमा अड्किएको र ठेकेदारले छुटाउन पहल गरिरहेका छन् ।
अहिले बन्न लागेको फ्लाइओभर इन्जिनियर प्रोकरमेन्ट एण्ड कन्स्ट्रक्सन अर्थात इपीसी मोडलमा आधारित छ । त्यो मोडलमा ठेकेदारले नै आफ्नो डिजाइन गर्ने, त्यसलाई आवश्यक परेमा पूनरावलोकन गर्न सक्ने अधिकार हुन्छ ।
महर्जन भन्नुहुन्छ, ‘ईपीसी अन्तर्गत ठेकेदारले जे पेस गर्यो त्यसलाई विभागले अनुमति दिने मात्र हो । यसमा विभागको केही हुँदैन ।’
ठेकेदारले पेश गरेको डिजाइन अनुसारको मेशिन नपाउँदा समस्या भएको महर्जनको तर्क छ । ‘ठेकेदारले मोडल पेश गर्यो । त्यही अनुसार काम गर्न सकिन्छ भन्ने पनि थियो होला । तर, नर्माणको क्रममा सजिलै इक्वीपमेन्ट पाएन । त्यसले समस्या भयो,’ उहाँ भन्नुहुन्छ, ‘अहिले बल्ल इक्वीपमेन्ट पाएर अहिले त्यसको क्षमता अनुसारको डिजाइन पेश गरेको छ । अब काम हुन्छ ।’
महर्जनका अनुसार काम गर्ने मेशिन नपाएका कारण पहिले पिल्लरको गहिराइ ३४ मिटर हुनेमा अहिले भने त्यसलाई परिवर्तन गरेर ३० मिटर कायम गरिएको छ । त्यस्तै पिल्लरको संख्या पहिले चार वटा हुने भनिएकोमा अहिले भने १२ वटा बनाइएको छ ।
यसले गुणस्तरमा र क्षमतामा केही असर नपर्ने बताउनुहुन्छ महर्जन । उहाँ भन्नुहुन्छ, ‘यसमा पहिलाको भन्दा फाउण्डेशनको क्षमता अझ बढी छ । गुणस्तर कमजोर हुने कम मजबुत हुने भन्ने हुँदैन ।’
ईपीसी मोडल भएका कारण यसमा म्याद तथा लागत भने निर्माण व्यवसायीले बढाउन पाउने छैनन् । अब काम गर्न केवल सात÷आठ महिना मात्र बाँकी रहेको हुनाले काम सजिलै हुनेमा भने आशंका गर्न सकिन्छ।
तर, यसमा एउटा काम सकिएर अर्को काम गर्छु भनेर कुरिरहनु नपर्ने भएकोले काम तोकिएको अवधिमा हुनसक्ने बताउनुहुन्छ महर्जन ।
उहाँ भन्नुहुन्छ, ‘एप्रोच सडक र पुलको काम एकैपटक गर्दै जान सकिने भएकोले निर्माण व्यवसायीले अहिले जुन तदारुकता देखाएको छ त्यसै अनुसार भयो भने समयमै भ्याउने सम्भावना छ । यदि बीचमा कुनै अवरोध भएन भने ।’
ईपीसी मोडल भएका कारण काम समयमै भएन भने यसमा भने ठेकेदारले हर्जाना तिर्नुपर्ने हुन्छ ।
फ्लाइओभर निर्माण भएर सहज आवागमन गर्ने नागरिकको चाहना भने डिजाइन परिवर्तनका कारण केही लम्बिन सक्ने देखिन्छ । अहिले बन्ने फ्लाइओभरमा ग्वार्को चोकमाथि चार लेनको ३५ मिटरको समतल पुल हुन्छ ।
पुलमा उक्लिनका लागि बिएण्डबी अस्पताल नजिक तथा बालकुमारीमा र्याम बनाइन्छ । बालकुमारीतर्फको र्याम तीन सय २० मिटर तथा सातदोबाटोतर्फको र्याम भने एक सय ८५ मिटरको हुन्छ । पुलमुनिबाट ग्वार्को–इमाडोल–ग्वार्को गाडी आवतजावत गर्ने गर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।