काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
लमजुङ – झुस्स दारी । केही पातलो ज्यान । देख्दै मिजासिला, इमान्दार लाग्ने । निकै मेहनती पनि हुनुहुन्छ, उहाँ । दिनरात, साँझबिहान आफ्नै कर्ममा जुट्नुहुन्छ, सुभाष अधिकारी । उहाँले आफ्नै लगानीमा व्यवसाय चलाउनुभएको छ ।
उहाँले ‘सप्तरंगी आर्ट पब्लिसिटी’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँको यस व्यवसाय लमजुङको प्रमुख व्यापारिक केन्द्र बेसीशहर र सुन्दरबजारमा सञ्चालनमा छ ।
उहाँको जन्म लमजुङको भलायखर्कमा भयो । उहाँको पढाई, बढाई, हुर्काई भने तनहुँमै भयो । अहिले पनि उहाँको स्थायी ठेगाना भानु नगरपालिका–२, तनहुँ नै हो । उहाँले तनहुँकै केशवटारमा रहेको केशवटार माविबाट एसलएसी पास गर्नुभएको छ । ‘
स्कुल पढ्दादेखि नै चित्रकलामा उहाँको औधी रुची । भविष्यमै ‘आर्टस्’ सम्बन्धी नै काम गर्ने उहाँको सोच थियो । ‘स्कुल पढ्दा म चित्र कोर्न ‘तगाडा’ थिएँ । चित्र कोर्न, साइन बोर्ड लेख्न मन लाग्थ्यो । भविष्यमै यसै सम्बन्धी काम गर्छु भन्ने सोच थियो । त्यसैले होला, अहिले यसै पेशामा छु,’ ब्यानर लेख्दै गरेका अधिकारीले मुस्कुराउँदै उहाँले भन्नुभयो ।
बेसीशहरमा मात्रै उहाँको ४० लाख बढी लगानी भएको छ । सुन्दरबजारमा २० लाखको लागनी छ । बेसीशहरमा ८ जनाले रोजगारी पाएका छन् । सुन्दरबजारमा ३ जनाले रोजगारी पाएका छन् ।
बेसीशहरको व्यवसाय सुभाषकी श्रीमति कोपिला अधिकारी र आफ्नै भाइ जनक अधिकारीले सम्हाल्नुभएको छ । सुन्दरबजारको व्यवसाय उहाँ आफैले सम्हाल्नुभएको छ । व्यवसाय सुरु गर्नुअघि उहाँले डुम्रे, दमौली लगायतका ठाउँमा पुगी ब्यानर, बोर्ड का साथै हस्तलखेन सम्बन्धी सीप सिक्नुभयो ।
अरुकोमा काम पनि गर्नुभयो । हातमा सीप छ, आफ्नै लगानीमा व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोच पलायो, उहाँमा । तर व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न साथमा पैसा थिएन । साथमा भएको मोवाइल फोन बेच्नुभयो, २५ सय रुपैयाँमा । त्यही पैसा खर्चेर उहाँले बेसीशहरको शेरामा २०६२ सालमा ‘प्रिन्टस्’ व्यवसाय सुरु गर्नुभयो । सुन्दरबजारमा भने गएको वैशाखबाट व्यवसाय सुरु गर्नुभएको हो ।
‘आर्टस्’ सम्बन्धी काम गरेको वर्षौको अनुभव छ, उहाँसँग । ‘२५ सय रुपैयाँमा व्यवसाय सुरु गरेको हुँ । अहिले व्यवसायमा ६० लाखभन्दा बढीको लगानी छ । केहीले रोजगारी समेत पाएका छन्,’ उहाँले हौसिँदै भन्नुभयो ।
खट्न सके यसै व्यवसायबाट मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । ‘सीप सिक्नुपर्यो । दत्तचित्त भई खट्न सकेमा यहीँ मनग्य कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो । सुन्दरबजार र बेसीशहरमा रहेको उहाँको ‘सप्तरंगी आर्ट पब्लिसिटी’मा फ्लेक्स प्रिन्ट, शिलालेख, ताम्रापत्र, मायाको चिनो तयार पार्नुका साथै छाप, स्ट्याम्प बनाउने लगायतका काम हुन्छ ।
अहिले उहाँसंग आधुनिक फ्लेक्स प्रिन्ट मेशिन, स्ट्याम्प बनाउने मेशिनका साथै स्टीकर कटिङ मेशिन समेत रहेका छन् ।
दैनिक कारोबार १० हजारसम्म हुन्छ । खर्च बटाएर मासिक झण्डै १ लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले ब्यानर प्रिन्ट गर्दा स्क्वायर फिटको आधारमा पैसा लिनुहुन्छ । ‘प्रति स्क्यार फिट ४० रुपैयाँ लिन्छु,’ उहाँले थप्नुभयो ।
‘प्रिन्टस्’ सम्बन्धी सेवा लिन आफू कहाँ लमजुङसहित मनाङ, गोरखा र तनहुँका मानिसहरु आउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार केही समयअघि कपडा, जस्तामा रंगले ‘ब्यानर’ लेखिन्थ्यो । तर पछिल्लो समय ‘प्रिन्ट’प्रति नै मानिसहरुको आकर्षण बढेको छ ।
‘छिटो, छरितोका साथै पैसा पनि कम पर्ने, काम पनि राम्रो हुने भएकाले मानिसहरु प्रिन्टप्रति नै तानिएका छन्,’ उहाँले थप्नुभयो, ‘आधुनिक मेशिनबाट ब्यानर निर्माण गर्दा कम्प्युटरमा डिजाइनिङ पनि गर्न पाइयो ।’
विशेषगरी : मंसिरदेखि वैशाखसम्म आफूलाई भ्याइनभ्याई हुने उहाँ बताउनुहुन्छ । बिहेवारी, भ्रमण, विभिन्न पर्व अवसरमा हुने औपचारिक कार्यक्रमका लागि ‘ब्यानर’ बनाउन आउनेहरुको भीड हुन्छ । ‘चुनावका बेला चुनाव सामग्री छाप्ने कामले पनि भ्याइनभ्याई हुन्छ,’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।