६ वटा देशमा एचआईभी सङ्क्रमण एक सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ — गएको माघ १६ गते सुर्खेत वीरेन्द्रनगरकी ५५ वर्षीया रामकुमारी सुनार न्याय खोज्दै नवलपरासीबाट २३ दिन हिँडेर अरू साथीहरूसँगै काठमाण्डौ आउनुभयो । घरमा आफू र ६५ वर्षीया अशक्त श्रीमान् मात्रै हुनुहुन्छ । छोरा–बुहारी छुट्टै बस्छन् ।
गुजारा चलाउन सहज होला भनेर रामकुमारीले सानो व्यवसाय गर्ने सोच्नुभयो । त्यसकै लागि उहाँले गाउँकै चिनेजानेको एक जना महिलाबाट चार वर्ष पहिले सय कडा १० मा चार लाख रुपैयाँ ऋण लिनुभयो । लिएको ऋण एक वर्षमै तिर्नु पनि भयो । एक दिन ऋण दिने महिलाका श्रीमान् सँगै आएका चार जना मान्छेले रामकुमारीलाई कागजमा सही छाप गराए । पढ्न–लेख्न नजानेकी रामकुमारीले के कागज हो भनेर केही मेसो पाउनुभएन । उनीहरूले ऋण तिरिसकेकाले तपाईँ डराउनु पर्दैन भने । तर केही दिनपछि साहुले ऋण नतिरेको भन्दै मुद्दा हालेछन् । पछि थाहा भयो, साहुले १६ लाख रुपैयाँ ऋण दिएको कागज बनाएर पैसा नतिरेको मुद्दा चलाएछन् ।
त्यसपछि रामकुमारीलाई खोज्दै घरमै प्रहरी आए । अचानक प्रहरीले घेरा हाल्दा रामकुमारी बेहोस हुनुभयो । ‘त्यति बेला मलाई होसमा ल्याउन प्रहरीले चिमोट्ने र कपाल उखेल्ने पनि गरेछन्’, रामकुमारीले सुनाउनुभयो । प्रहरीले जेलमा हाल्छ भन्ने डरले रामकुमारी तीन दिनसम्म शौचालयमै लुकेर बस्नुभयो । ‘श्रीमानले शौचालयमै खाना ल्याइदिनु हुन्थ्यो, शौचालयभित्रै बसेर खाने र त्यहीँ सुत्ने गर्थे’, उहाँले भन्नुभयो ।
केही दिनपछि हिम्मत गरेर साहुकहाँ पुग्नुभयो र मुद्दा फिर्ता लिन अनुरोध गर्नुभयो । तर साहुले मानेनन् । उहाँ न्याय माग्न जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, पालिका र जिल्ला प्रशासन कार्यालय धाउनुभयो तर केही लागेन । सुदखोर र प्रहरीले पटक–पटकको यातना र धम्की दिन थालेपछि आठ मिटरको जग्गा, तिलहरी, औँठी र मङ्गलसूत्र बेचेर साहुलाई पैसा दिनुभयो । अहिलेसम्म उहाँले १७ लाख रुपैयाँ तिरिसक्नुभएको छ ।
मिटरब्याजको पीडा सहन नसकेर रामकुमारी न्याय खोज्दै काठमाण्डौसम्म आउनुभएको हो । बुढेसकालमा दुःखसुख घरमै आराम गरेर बस्नुपर्ने बेला अशक्त श्रीमानलाई एक्लै छाडेर रामकुमारी हिँड्नुपर्याे । ‘खाना पकाएर खान पनि सकिनँ भन्दै श्रीमान् फोनमै रुनुहुन्छ’, उहाँले व्यथा पोख्नुभयो, ‘देख्नेहरूले खाने बेला खायो अहिले छुट गर्दे भन्दै हिँडेका छन् भन्छन्, उता साहुले काठमाण्डौमै समातेर थुनाउन सक्छु भनेर धम्की दिन्छन् । अहिले घर फर्किने अवस्था पनि छैन । भएको जति सबै मिटरब्याजीले लगिसके, अब त दिनलाई पनि केही छैन । साहुकै कारण उठिबास लाग्यो ।’
सुदखोरले गरेको दमन र अत्याचारले रामकुमारीको मनमा कहिल्यै नमेटिने छाप छोडेको छ । त्यही मनको घाउ निको पार्ने औषधि खोज्दै काठमाण्डौ हिँडेर आउँदा रामकुमारीका पैताला फुटे र झन् पीडा थपियो । खुट्टाको घाउ र दुखाइ कम गर्न त औषधि खानुभयो तर मनभित्रको घाउ झन्–झन् बल्झिरहन्छ ।
२३ दिनको पैदल यात्रा गरेरै काठमाण्डौ आउनुका कारण आर्थिक अभाव र सरकारलाई दबाब दिनु थियो । निद्रा लागेको बेला सुत्ने ठाउँ थिएन, थकाइ लाग्दा बस्ने ठाउँ भएन । पाए खायो, नपाए भोको पेट पटुकी कस्दै घामपानी, दिनरात नभनी निरन्तर हिँड्नुभयो । उहाँसँगै अरू पीडितहरू पनि थिए । सबैको ब्यथा उस्तै थियो । रामकुमारीले घर छाडेको ४५ दिनपछि सरकारसँग सम्झौता भयो । सरकारले आफ्नो दुःख बुझ्ने आशा लिएर उहाँ घर फर्कँदै हुनुहुन्छ ।
मिटरब्याज पीडितहरू न्याय खोज्न काठमाण्डौ आएको यो पहिलो पटक होइन । यसअघि काठमाण्डौ आएर धर्ना दिँदा सरकारले पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो । तर सरकारको प्रतिबद्धता कागजमै सीमित रह्यो ।
रामुकमारीको मात्रै होइन यस्तै पीडा छ दाङकाे घोराहीकी पार्वती भुषालको पनि । पार्वतीले घोराहीमा सिलाइकटाइको काम गर्नुहुन्थ्यो । १७ वर्षदेखि एकल महिला भएकाले आफू र एक्लो छोरालाई पुग्नेजति कमाउनुहुन्थ्यो । छोराको पढाइ खर्च र घर खर्च पनि चलेकै थियो । पाँच वर्ष पहिले छोराको वैदेशिक रोजगारीमा जाने भिसा लाग्यो । छोरालाई जापान पठाउन भनेर सयकडा १५ मा २२ लाख रुपैयाँ ऋण लिनुभयो । ऋण सजिलै पाउनुभयो । तर साहुले तमसुक बनाए र आफैँले राखे ।
छोराले पठाएको पैसाले तीन वर्षमा ऋण तिरिसक्नुभयो । तर पनि साहुले अझै पैसा तिर्न बाँकी रहेको कागज बनाए र फेरि पैसा मागे । साहुले धम्की, गाली र मानसिक यातना दिन थालेपछि पार्वतीलाई झन् मानसिक तनाव बढ्दै गयो । त्यसै कारणले सिलाइकटाइको काम पनि तीन वर्ष पहिले नै छोड्नुभयो । डेढ वर्षसम्म छोरालाई मिटरब्याजमा फसेको कुरा भन्न सक्नुभएन । छोरालाई नभनी उसैले पठाएको पैसा हुँदासम्म तिर्नुभयो । त्यो पनि सकिएपछि जग्गा बेचेर अहिलेसम्म ८० लाख रुपैयाँ तिरिसक्नु भएको छ ।
आमा मिटरब्याजमा फसेको छोराले अरूबाटै थाहा पाएपछि जिल्ला प्रहरी कार्यलयमा गएर समस्या सुनाउने सल्लाह दिनुभयो । पार्वतीले पनि त्यसै गर्नुभयो । तर जिल्ला प्रहरी कार्यलयमा पनि समस्याको समाधान भएन । उहाँ जिल्ला प्रशासन कार्यालय जानुभयो, त्यहाँ गएर पनि केही भएन । आफूसँग कुनै प्रमाण नभएकाले सबैतिर उहाँकै गल्ती देखियो र साहुले उल्टै पैसा नतिरेको भन्दै मुद्दासमेत लगायो । अहिले मिटर ब्याजपीडितको आन्दोलन हुँदै गरेको थाहा पाएर केही हुन्छ कि भन्ने आश लिएर उहाँ काठमाण्डौ आउनुभएको हो । ‘साहुले अझै पैसा माग्छन्, नखाएको विष पनि लाग्यो’, पार्वतीको दुखेसो छ ।
रौतहट चन्द्रपुर नगरपालिकाकी बोदकुमारी गिरीले पनि सात वर्ष पहिले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन भनेर तीन लाख रुपैयाँ ऋण लिनुभयो । श्रीमान् वैदेशिक रोजगारीमा भएकाले ऋण सजिलै तिर्नुभयो । तर पनि मिटरब्याजीले १६ लाख रुपैयाँ तिर्न बाँकी रहेको कागज बनाएर मुद्दा हाले । घर पनि रोक्का भएपछि श्रीमानले विदेशबाट पठाएको र अरूसँग सापटी मागेर पनि तिर्नुभयो । आठ कठ्ठा जग्गा पनि श्रीमानलाई थाहा नदिई बेच्नुभयो ।
बाेदकुमारीले अहिलेसम्म २८ लाख रुपैयाँ तिरिसक्नु भएको छ । मिटरब्याजीकै कारण एकातिर बालबच्चाको बिचल्ली भएको छ भने अर्कोतिर श्रीमानसँगको सम्बन्ध पनि बिग्रिएको छ । ‘मिटरब्याजमा फसेपछि श्रीमानले छोडपत्र माग्नु हुन्छ, केटाकेटी घर बस्न मान्दैनन्, गाउँमा समेत मलाई घृणा गर्न थाले’, उहाँ भन्नुहुन्छ ।
सरकारसँग सम्झौतापछि ‘मिटरब्याजविरुद्धकाे आन्दोलन’ ४२ औँ दिनमा स्थगित भएको छ । यसअघि पनि सरकारले पीडितहरूलाई न्याय दिलाउने र दोषीलाई कारबाही गर्ने सम्झौता गरेको थियो । सरकारको विश्वास गरेर पीडितहरू घर फर्के तर समस्या समाधान भएन, फेरि दोहोरियो । यसपालिको सम्झौता पनि कार्यान्वयन हुनेमा पीडितहरू ढुक्क छैनन् । अरू पीडितजस्तै रामकुमारी सुनार, पार्वती भुषाल र बोदकुमारी गिरी पनि निराश हुँदै झिनो आशा लिएर घर फर्कनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।