पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
सुमित्राकुमारी लोप्चन/लालबन्दी, सर्लाही ।
मेरो श्रीमान माल्दिभ्समा हुनुहुन्छ । उहाँलाई बिदाई गर्दा मैले घर व्यवहार म मिलाउँछु चिन्ता नगर्नुस् भनेको थिएँ । सम्बन्ध भनेको विश्वास त हो नि । उहाँलाई मैले घर सम्हाल्छु भनेर विश्वास दिलाएर पठाएपछि त मैले आफ्नो जिम्मेवारी पूरा गर्नै पर्यो ।
घर व्यवहार राम्रोसँग चलाउने तरिका नजान्दासम्म सजिलो चाहिँ नहुँदो रहेछ । श्रीमानले विदेशमा कमाएको त जोगाउनुपर्छ भन्ने थाहा भए पनि जोगाउने तरिका नजान्दा भने जस्तो भएको थिएन ।
चार महिनाअघि गाउँमा विदेशमा हुनेका परिवारलाई वित्तीय साक्षरताका कक्षा सञ्चालन भयो । कक्षामा आम्दानी र खर्चको व्यवस्थापनका साथै बिभिन्न व्यवहारिक ज्ञान सिकाइन्छ भन्ने कुरा सुनें ।
त्यसपछि म पनि यो कक्षामा बसें । यो कक्षामा बसेपछि मैले आम्दानी के हो र खर्च के हो भन्ने कुरा राम्रोसित बुझें । आम्दानी र खर्चलाई व्यवस्थापन गरेर कसरी बचत गर्ने भन्ने कुरा पनि सिकें ।
मसँग आम्दानीको स्रोत त केही थिएन । त्यसपछि मैले आम्दानीको बाटो खोजें । माइतीमा आमा बुवाले टिका लगाएर दक्षिणा दिएको पैसा पनि जोगाउन थालें । श्रीमानले खर्च गर भनेर पठाएको पैसा पनि धेरथोर बचाउन थालें ।
त्यसरी बचाएको पैसाले एउटा बाख्रा किनेको छु । अब विस्तारै बाख्रा थप्दै जाने सोचाई छ । खेतबारीमा तरकारी खेती पनि बढाउन थालेका छौं । परिवारका सबै सदस्य मिलेर तरकारी खेती गर्छौं । सिजनको बेला त राम्रै आम्दानी पनि हुन्छ ।
तरकारी खेतीले घरखर्च पुर्याउन पाए विदेशमा कमाएको बच्थ्यो भन्ने लाग्छ । वित्तीय साक्षरताको कक्षामा बसेपछि त मैले श्रीमानसँग फोनमा बोल्दा हुने खर्च पनि घटाएको छु ।
पहिले महिनाको ७ सय खर्च गरेको रहेछु । अहिले यसलाई घटाएर तीनसयमा झारेको छु । यसको मतलब नबोल्ने भन्ने होइन, तर कसरी व्यवस्थापन गर्ने भन्ने कुरा जान्दा सजिलो हुँदो रहेछ ।
कक्षामा बसेपछि त मलाई खर्च घटाएर बचत चाहिँ कसरी गर्ने भन्ने कुरा मात्र लाग्छ । अनावश्यक खर्च गर्ने बानी छाडेर राम्रो ठाउँमा बचत गर्न सिकेको छु । बालबच्चा ठूला हुँदैछन् ।
उनीहरुलाई पनि पढाउन, बढाउन पर्यो । घर बनाउनु पर्यो । हामीले खर्च गर्दा भविष्यलाई सोचेर गर्नुपर्ने रहेछ । कक्षामा बसेर यस्ता कुरा सिकेपछि मैले आफूलाई सुधारेको छु ।