सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
म युएई आएको डिसेम्बरमा २ वर्ष पूरा हुन्छ । घरमा हजुरआमा, बुवाआमा र दुई जना बहिनी छन् । घरको जेठो छोरो भएकोले परिवारका लागि कमाउने जिम्मेवारी मलाई आयो । त्यसबेला १९ वर्षको थिएँ । १२ कक्षामा एउटा विषय फेल गरेपछि विदेश जाने सोचें ।
काठमाडौं आएँ । म्यानपावरले वेटरको काममा खाना सुविधासहित १२ सय दिर्हाम हुन्छ भनेपछि एक लाख रुपैयाँ तिरेर दुवई आएँ । दुवईमा कम्पनीले विभिन्न होटलहरुमा ठेक्का लिँदो रहेछ । त्यही अनुसार काममा पठायो । ८ घण्टा भन्दा धेरै काम गरे ओभर टाइम त पान्थ्यो तर साइडमा काम भए मात्रै ।
त्यसैले म्यानपावरले भनेको जस्तो १२ सय दिर्हाम कमाउन गाह्रो थियो । घरमा फोन गर्दा अनि अरु आफ्नो खर्च कटाएर ७–८ सय दिर्हाम बच्थ्यो । मेरो कमाइले घर खर्च चलेको छ । बहिनीहरु पढेका छन् । घरमा पठाउँदा कम्पनीले दिएको कोठा दुवई आउटलेट मल नजिकै भएकाले पायक पर्ने एक्सचेन्जबाट कहिले आमाबुवाको नाममा कहिले बहिनीको नाममा पठाउँथे ।
अघिल्लो महिना साथीहरुसँग धेरै नेपाली जम्मा हुने ठाउँ बरदुवईको नेपाली चोक गएको थिएँ । त्यही बेला घरमा पैसा पठाउनु पर्ने भएकाले अहलिया एक्सचेन्जबाट सात सय दिर्हाम नेपाल पठाएँ ।
म नियमित काममै थिएँ । काममा भएकोले मोबाइल बन्द थियो । काम सकेर साँझ कोठामा आउँदा घरबाट बहिनी र आमाको धेरै पटक फोन आएको रहेछ । त्यो दिन अरु धेरै नयाँ नम्बरबाट पनि फोन आएको रहेछ । फोन खोल्ने बित्तिकै बहिनी अनिसाले फोन गरिन् ।
मैले बहिनीबाटै पैसा पठाउँदा उपहारमा एक किलो सुन परेको थाहा पाएँ । यसले मसँगै परिवार पनि खुशी भयो । उपहार पाएको १५ दिनपछि मैले एक किलो सुन पाएँ । सुन नेपाल लान पाइँदैन । त्यसैले एक्सचेन्जले मलाई दिएको सुनको सट्टा शनिबार मलाई झन्डै एक लाख ५० हजार २ सय ५० दिर्हाम दिँदैछ ।
यसको ४४ लाख ७८ हजार ९ सय ५२ रुपैयाँ हुने रहेछ । त्यो पैसा नेपालको बैकमा खाता खोलेर एक्सचेन्जले नै जम्मा गरिदिने भनेको छ । कमाइ राम्रो नभएकोले कम्पनीमा भिसा सकेर दसैंमा नेपाल फर्किने योजना थियो ।
अब त साथमा पैसा छ । यो भन्दा पहिले नेपाल फर्केर कोरिया जान भाषा सिक्ने योजना बनाएको थिएँ । अब आमाबुवाले नेपालमै केही गर्न सकिन्छ भन्नुभएको छ ।
घरमा गएर परिवारमा सल्लाह गर्छु । अब बिदेश जान्न ।
यत्तिको पैसाले नेपालमै धेरै गर्न सकिन्छ भन्ने लागेको छ । उमेर पनि धेरै भएको छैन । आमाबुवालाई खुशी बनाएर नेपालमै व्यवसाय गर्ने भन्ने योजना बनाएको छु ।
उज्यालोका युएई सहकर्मी उमाकान्त पाण्डेले गरेको कुराकानीमा आधारित