वैदेशिक रोजगारीले सृजना गरेको आघातजन्य समस्यामा मनोपरामर्शकर्ताको भूमिका

 फागुन १७, २०७८ मंगलबार १४:१८:१५ | दुर्गाप्रसाद भट्टराई
unn.prixa.net

मानिस विदेश किन जान्छ ? सबैको उत्तर प्रायः एउटै हुन्छ, कमाउन र जमाउन । अझ विस्तृतमा भन्दा अहिले आफूले भोगेको जीवनभन्दा राम्रो वा सहज तरिकाले आफू तथा परिवारको दैनिक आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न ।

वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने प्रत्येक नेपालीहरूको सपना यही हुन्छ । परिवारले पनि आफ्नो मान्छे विदेश गएपछि राम्रो हुन्छ भन्ने सपना बुनेका हुन्छन् । तर सबैको योजना र सपना पूरा हुँदैन । कमाउन गएका कतिपयको प्राण परदेशमै निभ्छ । कोही दीर्घ रोगी भएर घर फर्कन्छन् त कोही अङ्गभङ्ग भएर फर्किएका छन् । 

कमाउन गएको मानिसको सास हैन लास बाकसमा आउँदा, जीवनभरिका लागि रोग बोकेर ल्याउँदा अनि कतिपयले शरीरका अङ्ग नै गुमाएर फर्कँदा अथवा भनौँ सोचेभन्दा फरक परिस्थितिको सामना गर्नुपर्दा परदेशी र उनीहरूको परिवारका सदस्यमा देखा पर्ने मनको घाउ नै आघात हो । 

विशेषगरि वैदेशिक रोजगारमा गएका व्यक्ति तथा परिवारमा अकस्मात् आइपर्ने गुमाइको अवस्था सृजना हुँदा आघात जन्य समस्या देखा पर्ने गर्दछ । 

सामान्यतया: आघात भनेको घाउ हो । चिकित्सकीय साथै मनोवैज्ञानिक भाषामा ‘आघात’ भनेको शारीरिक वा मानसिक हानी हो जसका कारण त्यतिको जीवन जोखिममा पर्छ । यी माथिको  घटना  वा परिस्थितिले बिदेसिने व्यक्ति तथा तीनका परिवारमा मानसिक रूपमा वा शारीरिक रूपमा आघात पुर्‍याउँने गर्दछ वा गुमाई महसुस हुन्छ भने त्यसलाई नै ‘आघातजन्य घटना’ भनिन्छ । 

यस्तो घटनाको अनुभव गर्दा परिवारका सदस्यको शरीर र मस्तिष्कको तत्कालीन प्रतिक्रिया भनेको आफूm बाँच्नको लागि गरिने सङ्घर्ष हो । अझ व्यवहारिक रूपमा बुझ्ने गरी भन्नु पर्दा यो ‘लड्ने, भाग्ने वा केही पनि गर्न नसकिने’ अवस्थालाई जनाउँछ । यस्तो बेलामा  मरे तुल्य हुने परिस्थिति सृजना गराउँदछ ।

आघात भोगिरहेको छु भनेर थाहा पाउने आधारहरू

वैदेशिक रोजगारीको कारणले गर्दा अप्रत्याशित घटना वा आघातजन्य घटना भोगी रहेका व्यक्ति तथा परिवारहरूमा देखा पर्ने लक्षणहरूमा सानो सानो कुराहरूले पनि तर्सिने, झस्किने, निन्द्रा नलाग्ने, झर्को महसुस हुने, आफूलाई असहाय तथा असुरक्षित भएको महसुस गर्ने, घटनालाई स्वीकार नगर्ने, नराम्रो सपना बढी देख्ने, आक्रोशको भावना देखाउने, केही कुरामा ध्यान दिन र सम्झन गाह्रो हुने वा महसुस गर्ने गर्दछन् । 

आघातजन्य घटना अनुभव गरेको व्यक्ति तथा परिवारले घटना पश्चात् अलि फरक–रूपमा प्रतिक्रिया जनाउने गर्दछन् । जुन प्रतिक्रियाहरू तीव्र र विघटनकारी हुन सक्छन् ।

साथै घटनाको झझल्को बारम्बार आइरहने, घटनालाई नकार्ने वा अस्वीकार्यता जनाउने हुन्छ  । मनले  विभिन्न भावनाहरू अनुभव गर्ने । जस्तै कहिले उत्तेजित महसुस गर्ने, कहिले सुस्त महसुस गर्ने, आक्रोशित प्रतिक्रियाहरू दिने, मुडमा अचानक परिवर्तन भइरहने हुन्छ । आघातजन्य घटना अनुभव गरेको व्यक्तिले धेरै डर, निराशा र मेरो जिन्दगी बेकारको रहेछ भन्ने भावना महसुस हुने वा अनुभव गर्ने गर्छन् ।

आघातजन्य घटना अनुभव गरेको व्यक्ति तथा परिवारले घटना पश्चात् अलि फरक–रूपमा प्रतिक्रिया जनाउने गर्दछन् । जुन प्रतिक्रियाहरू तीव्र र विघटनकारी हुन सक्छन् । यस्तो आघातजन्य घटना अनुभव गरेको व्यक्ति तथा परिवारले सुरुमा देखाउने प्रतिक्रियाहरू आफू बाँच्नको लागि देखाएको प्रतिक्रियाहरू हुन् जसले कुनै पनि व्यक्ति वा परिवारलाई लामो समयसम्म प्रभाव पार्ने गर्दछ । 

प्रायः यस्तो बेलामा दुई किसिमको प्रतिक्रियाहरू देखिने गर्दछ । जस्तै: लड्ने र भाग्ने । कुनै पनि अकस्मात् घट्ने घटनालाई हामीले फरक तरिकाले लिन्छौ ।

जसले हाम्रो भावनाहरू र त्यस घटनाप्रतिको धारणालाई दिमागको बाहिरी भागमा मात्र नराखी हामीलाई भित्री हृदयमा सोच्न बाध्य बनाउने गर्दछ । यसको कारणले माथि उल्लेख गरिएको जस्तै सुरुमा आफूm बाँच्नका लागि देखाउने प्रतिक्रियाहरू उत्पन्न गराउन सक्छ ।  लड्ने भावनाले दिमागमा केही सोच्नै नपाइकन शारीरिक प्रतिक्रिया दिने गर्दछ भने भाग्ने– भावनाले घटेको घटनालाई स्वीकार गर्न सक्दैन । 

मनोसामाजिक परामर्शकताको भूमिका

मनोसामाजिक परामर्शकर्ताहरुले गर्ने काम भनेकै यस्ता व्यक्ति तथा परिवारका सदस्यहरूको कुराहरू सुन्ने, उनीहरूले बारम्बार एउटै कुराहरू दोहो¥याउने गरे पनि सुन्नलाई झर्को नमान्ने ।

उनीहरूको भावनालाई फर्काउने तथा सहानुभूतिपूर्ण सञ्चार गर्ने हो । उनीहरूलाई गुमाइको कुरा गर्न प्रोत्साहन गर्ने हो तर दबाब चाहिँ दिन हुँदैन । आफ्नो– जीवनमा भइरहेको गुमाइका घटनालाई स्वीकार गर्ने वा नियन्त्रणमा लिन सिक्ने र आफूले अनुभव गरिरहेको समस्याहरूको समाधान गर्न विकल्पहरूको छनौट गर्न परामर्श मार्फत सहजीकरण गर्ने हो । 

तर मनोपरामर्शकर्ताहरुले तपाईँको लागि यही विकल्प सही छ भनेर छनौट गर्न दबाब चाहिँ दिनु हुँदैन । यस्ता घटना भोगिरहेका व्यक्तिसँग मनोपरामर्शको दौरानमा आत्महत्या जोखिमको मापन गर्नु पनि अत्तिनै जरुरी हुन्छ । आत्महत्याको जोखिमको अवस्था हरेर उनीहरूलाई जिउने सम्झौता गराउने, परिवारका सदस्यहरूलाई आत्महत्याको बारेमा मनोशिक्षा दिने र आवश्यकता अनुसार केश रिफर गर्नुपर्ने हुन सक्छ ।

उनीहरूलाई दैनिक जीवनयापनका क्रियाकलापमा संलग्न गराउनको लागि निरन्तर रूपमा प्रोत्साहन र सहयोग गर्ने जस्तै खाना खान, बस्न, सरसफाइ गर्न अर्थात् स्वः हेरचाह गर्न सहयोग गर्ने गर्नुपर्ने हुनसक्छ । यसका साथै, उनीहरूलाई आफ्नो सामाजिक सम्बन्धहरू र विश्वासमा पनि पुनर्स्थापना गर्न सकिने तरिकाले परामर्श गर्ने कार्य अगाडि बढाउनु पर्छ ।

मनको घाउ कम नभएमा उनीहरूको आवश्यकता अनुसार थप मनोसामाजिक सहयोगको लागि सम्बन्धित विशेषज्ञ मनोविद्  तथा मनो चिकित्सककोमा  सिफारिस गर्नुपर्दछ ।

विशेष गरेर आफन्त गुमाउँदा वा अचानक आएको घटनाले व्यक्ति तथा परिवारका सदस्यहरूको सोचाई वर्तमानमा भन्दा विगत र भविष्यतर्फ गइरहेको हुन्छ । उनीहरूको सोचाइलाई वर्तमानतर्फ फर्काउने परामर्शको तरिकाहरू अपनाउनु यस्तो बेलामा  सान्दर्भिक हुन्छ ।

गुमाइको पीडाले गर्दा व्यक्ति तथा परिवारको सदस्यहरूको मस्तिष्कले पहिलेको जस्तै सामान्य अवस्थाको  काम गरिरहेको हुँदैन । त्यसैले उनीहरूको मस्तिष्क चलायमान गर्ने अभ्यास गराउँदा प्रभावकारी रूपमा काम गर्ने गर्दछ । अहिलेको अवस्थामा के भइरहेको छ, अहिले र यहाँ के भइरहेको छ भन्ने कुराहरू महसुस गराउने अभ्यास गर्नुपर्ने हुन्छ ।

जसको लागि हेरेर  सुनेर वा छोएर अनुभव गर्ने अभ्यास अझै प्रभावकारी हुन्छ । साथसाथै सेवाग्राहीहरूलाई सशक्तीकरण गर्ने, आत्मबल बढाउने र समस्यालाई स्वीकार गर्न सक्ने  प्रश्नमार्फत छलफल गर्नु अझै जरुरी हुन जान्छ । यो सबै मनोपरामर्शकर्ताहरुले गरी सकेपछि सेवाग्राहीहरूको अवस्था सामान्यतर्फ फर्कने गर्दछ ।

यदि यी माथिका कार्य गर्दा पनि सेवाग्राहीहरूको मनको घाउ कम नभएमा उनीहरूको आवश्यकता अनुसार थप मनोसामाजिक सहयोगको लागि सम्बन्धित विशेषज्ञ मनोविद्  तथा मनो चिकित्सककोमा  सिफारिस गर्नुपर्दछ ।

दुर्गाप्रसाद भट्टराई

दुर्गाप्रसाद भट्टराई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, फिल्ड अफिस ढल्केवर अन्तर्गत मधेस प्रदेश मनोसामाजिक सुपरभाइजर हुनुहुन्छ ।  उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया