परदेशी र परिवारमा ‘मुड स्वीङ’को समस्या र समाधानमा मनोपरामर्शकर्ताको भूमिका

 चैत १०, २०७८ बिहीबार १६:५:२२ | दुर्गाप्रसाद भट्टराई
unn.prixa.net

धनुषा - धनुषाकी ललिता देवी दास (नाम थर परिवर्तन ) ले  दुई वर्षको प्रेम सम्बन्धपछि अन्तरजातीय विवाह भागेर गरिन । विवाह पछि श्रीमान् श्रीमती एक वर्ष सँगै बसे । एक छोरा जन्मियो । खाने मुख बढेपछि श्रीमान् कमाउनको लागि मलेसिया लागे । सल्लाहमै ललिताले श्रीमानलाई विदेश पठाएकी थिइन । 

सानो काखे छोरा, घर परिवार र कामको जिम्मेवारी सबै एक्लै धान्न पर्दा ललितालाई श्रीमानसँग रिस उठ्न थाल्यो । फोनमा कुराकानी गर्दा पनि श्रीमानसँग रिसाउन थालिन् । 

कुराकानी सकिदा हाम्रै लागि विदेश गएको हो भन्ने कुरा मनमा लाग्थ्यो । त्यसपछि ललिताको मन एकाएक खुसी हुन्थ्याे । तर ललिताको खुसी फोन राखेको दुई घण्टासम्म पनि टिक्दैन थियाे । फेरि श्रीमानसँग रिस उठ्न थाल्यो । अहिले ललितालाई दिक्क लाग्न थालेको छ । ललिता आफू अचानक खुसी र छिनमै दुःखी हुने भन्दै यस्तो किन भएको होला भन्ने प्रश्न मनोपरामर्शकर्तासँग गर्छिन् । 

सिराहाका राजेश सरदार (नाम थर परिवर्तन ) दुई वर्ष कतार बसेर २०७७ सालमा नेपाल फर्के । राजेशको नेपाल फर्कनुको एउटै उद्देश्य  कतारमा दुई वर्ष कमाएको पैसाले नेपालमै गाई पालन व्यवसाय गर्ने । कतारबाट नेपाल फर्केपछि राजेशले के गर्ने भनेर धेरै सोचे तर राजेशको दिमागले केही देखेन ।

कतारमा हुँदा देखेको गाई पाल्ने सपना नेपालमा आएपछि पूरा गर्न मन डरायो । त्यसपछि उनिले फेरि विदेश जाने मन बनाएर स्थानीय एजेण्टकोमा पुगे । एजेण्टले पैसा र पासपोर्ट लिएर राजेशलाई झुलाई रहेका छन् । जसले गर्दा अहिले राजेश तनावमा छन् । आफ्नो दिमागले सही निर्णय गर्न नसक्दा र मुड परिवर्तन भइरहँदा  राजेशलाई आफैँदेखि रिस उठ्न थालेको छ । 

सप्तरीकी सीमा नेपाली (नाम थर परिवर्तन ) को श्रीमान् २०७६ सालमा परिवारको सल्लाहमै रोजगारीको लागि साउदी गए । साउदी जानु भन्दा अगाडि सीमाको श्रीमानले आफ्नो आमा बुवासँग बुहारी र नाति नातिनाको ख्याल राख्न अनुरोध गर्दा उनीहरूले त ढुक्क भएर जा हामी छौ भनेका थिए । सबै कुरा एक वर्षसम्म सीमाको जीवनमा सहयोगी नै थियो । घर व्यवहार र छोराछोरीको रेखदेखमा सासू ससुराले सहयोग गरिरहेका थिए ।

एक दिन सीमाले खेतबारीको काम गर्दा गाउँका पुरुषको सहयोग लिइन् । त्यसपछि सीमालाई सासू ससुराले मेरो छोरा नभएको बेलामा त पर परुषसँग हिँडेन भनेर लाञ्छना लगाउन थाले । घर व्यवहार दैनिक काम र छोरो छोरिको रेखदेखमा असहयोग गर्न सुरु गरे । अझै छोरालाई तेरी श्रीमतीको चाला ठिक छैन भनेर फोन गरी दिए ।

सासू ससुराको असहयोगी र नभएको कुराको बारेमा लाञ्छना लगाउने व्यवहारले गर्दा  सीमाको काम गर्ने जोस जाँगर हराउँदै गएको छ । अचेल सीमालाई पहिला रमाइलो लाग्ने कुराहरू नरमाइलो लाग्न थालेको छ । कहिले काहीँ सीमालाई आत्महत्याको सोचसमेत आउँछ । 

तर फेरि अरूको व्यवहारले म किन दुखी हुनु भनेर सीमा खुसी हुन कोसिस गर्दछिन् । अहिले सीमाको मुड कहिले खुसी त कहिले दुःखी भइनै रहेको छ । 

वैदेशिक रोजगारीमा गएकाका परिवारका सदस्यहरूले भोगेका यी प्रतिनिधि घटना मात्र हुन् । यी तीन फरक अवस्थाको घटनालाई हामीले गहिरिएर वा ध्यान दिएर हेर्ने हो भने यसमा यौटा कुरा समान देखिन्छ । त्यो कुरा हो ‘मुड परिवर्तन’ । 

के हो मुड परिवर्तन

सामान्य अर्थमा मुड भन्नाले मनको भाव सोचाई र बिचार भन्ने बुझिन्छ भने परिवर्तनको अर्थ अचानक दिशा बदल्नु हुन्छ । मनमा अचानक वा एक्कासि र अत्यधिक परिवर्तन हुनु नै मुड स्वीङ हो । मानिस एकाएक खुसी भएको अवस्थाबाट अचानक दुःख वा निराशाको भावनामा आउने गर्दछन् भने यो अवस्था मुड परिवर्तनको हो ।

मनोचिकित्सकहरूका अनुसार मुड परिवर्तन एक प्रकारको बायोलोजिकल डिसअर्डर हो । जससँग जुध्न वा मुकाबिला गर्न  व्यक्तिलाई परिवार साथीभाइ र समाजको आवश्यकता पर्छ । 

अस्त व्यस्त जीवनशैली, कामको बोझ, एकल पारिवारिक संरचना, न्यून सामाजिक सक्रियता, एक्लोपना, परिवारको सदस्यसँगको बिछोड, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरूलाई हेर्ने पारिवारिक, सामाजिक तथा समुदायको दृष्टिकोण, अत्यधिक समय सामाजिक सञ्जालमा बिताउँदा र आफूले सोचेको जस्तो अवस्था वा माहौल नहुँदा आप्रवासी कामदार र तीनका परिवारका सदस्यहरूमा मुड परिवर्तनको समस्याले विकराल रूप लिँदै गएको जिल्लामा मनोपरामर्श सेवा लिएका सेवाग्राहीसित कुराकानी गर्दा सहजै थाहा पाउन सकिन्छ  । 

केही अवस्थामा मुड परिवर्तन तपाई हाम्रो वरिपरिको वातावरण र दैनिक जीवनमा घटने घटनाको र त्यसमा परिवार समाज र समुदायले सोच्ने र त्यसमा देखाउने प्रतिक्रियामा भर पर्ने गर्दछ । विशेषतः वैदेशिक रोजगारमा गएकाको परिवारका सदस्यहरूको दैनिक जीवनमा उनीहरूले सोचेकोभन्दा फरक किसिमले घटनाहरू घटिरहेका हुन्छन् । 

जुन घटना र परिस्थितिले उनीहरूलाई असहयोग पु¥याइरहेको हुन्छ । मनोचिकित्सकहरूका अनुसार मुड परिवर्तन एक प्रकारको बायोलोजिकल डिसअर्डर हो । जससँग जुध्न वा मुकाबिला गर्न  व्यक्तिलाई परिवार साथीभाइ र समाजको आवश्यकता पर्छ । 

वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरूलाई परिवार साथीभाइ र समाजको असहयोगी व्यवहारले गर्दा र घटनालाई सामान्य रूपमा लिनुको साटो झनै जटिल बनाइदिँदा मुड परिवर्तन हुन मलजल गरेको पाइन्छ  । 

मुड परिवर्तन हुँदा

वैदेशिक रोजगारमा गएका र फर्केर आएका परिवारका सदस्यहरूको मुड परिवर्तन हुँदा देखिने लक्षणहरूमा विना कारण दुःखी हुने, काम गर्ने जोस जाँगर हराउने, सक्रिय रहन मन नलाग्ने, पहिला रमाइलो लाग्ने कुराहरू मा नरमाइलो लाग्ने, आत्मबलमा कमी आउने, स्वभावमा चिडचिडेपन देखिने, जतिखेर पनि थकानको महसुस भइरहने, खाना खान मन नलाग्ने, निन्द्रा नलाग्ने, शरीर मा तागत हराउँदै जाने , दिक्क लाग्ने, रिस उठ्ने, डराउने, बिर्सने, ध्यान केन्द्रित गर्न नसक्ने र कहिले काहीँ आत्महत्याको सोच पनि आउने गर्दछ । 

वैदेशिक रोजगारमा गएका र फर्केर आएका परिवारका सदस्यहरूले मुड परिवर्तनलाई कम गर्न वा व्यवस्थापन गर्न आफूले गर्ने व्यवहार र जीवनशैलीमा परिवर्तन गरेको खण्डमा मुड परिवर्तन हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । जसको लागि निम्न तरिका मनोपरामर्शकर्ताहरुले परामर्शको दौरानमा सेवाग्राहीहरूलाई सिकाउन उपयोगी हुन सक्छ । 

यो समयमा विश्वास गर्न सकिने, नजिकको, मन मिल्ने र गोपनीयता कायम राखिदिने व्यक्तिसँग कुराकानी गर्दा मुड परिवर्तन लाई कम गर्न सकिन्छ । 

आफूलाई व्यस्त राख्ने तथा नियमित शारीरिक कसरत गर्ने जसले गर्दा हाम्रो शरीरमा सहयोगी र सकारात्मक सोच्ने हर्मोनहरुको विकास हुन्छ फलस्वरूप मुड परिवर्तन हुँदैन र तनाव कम हुन्छ । 

तनावलाई व्यवस्थापन गर्ने । चिन्ता र बेचैनीले तनावलाई अभिवृद्धि गर्ने गर्दछ । तनाव बढेमा मुड परिवर्तन हुन्छ । त्यसैले तनाव कम गर्नतर्फ हामी अगाडि बढ्नु पर्दछ । यसो गरेको खण्डमा मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

वैदेशिक रोजगारीको कारण कुनै परिस्थिति, घटना वा दुर्घटना आदिका कारण भावनामा तीव्र उतारचढाव भएमा यस्तो बेलामा बढिनै मुड परिवर्तन हुने गर्दछ । त्यसैले यो समयमा विश्वास गर्न सकिने, नजिकको, मन मिल्ने र गोपनीयता कायम राखिदिने व्यक्तिसँग कुराकानी गर्दा मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

मानिसको शरीर र मनबिच अन्योन्याश्रित सम्बन्ध हुने भएकोले हाम्रो शरीरलाई स्वस्थ राख्न चाहिने आधारभूत आवश्यकताहरू जस्तै समयमा भोजन, पर्याप्त निन्द्रा र पर्याप्त आराम मिलेको खण्डमा हाम्रो मनमा स्फूर्ति पैदा भई स्वस्थ अनुभव हुन्छ । जसले गर्दा मुड परिवर्तन लाई कम गर्न सकिन्छ । 

विदेशमा काम गरिरहेता पनि  समय समयमा कामबाट फुर्सद निकाल्ने, परिवार र मन मिल्ने साथीभाइसँग छुट्टी बिताउने र बेलाबेलामा आफूलाई मनोरञ्जन हुने क्रियाकलापहरू जस्तै गीतसङ्गीत सुन्ने, मन पर्ने साहित्य वा प्रेरणा दिने किताब पढ्ने, आफ्ना भावनाहरू चित्रका माध्यमबाट व्यक्त गर्ने, प्राकृतिक वातावरण,  वा बगैँचामा समय बिताउने गर्दा शरीर र मनमा ऊर्जा मिल्न सक्छ । जसले गर्दा मुड परिवर्तन लाई कम गर्न सकिन्छ । 

आफ्नो धार्मिक आस्था अनुसार आध्यात्मिक ग्रन्थ सामग्रीहरूको अध्ययन गरेर, पूजापाठ गरेर, मन्दिर, मस्जिद, गुम्बा वा चर्च गएर वा धार्मिक र आध्यात्मिक परम्परा विश्वास अनुसार धामी झाँक्री कहाँ गएर पनि मनमा शान्ति मिल्न सक्छ । जसले गर्दा मुड परिवर्तन लाई कम गर्न सकिन्छ । 

कामको जिम्मेवारी बाँडफाँड गर्दै सबै काम मै गर्छु भन्ने भावना त्यागेर सहयोगका लागि परिवारको सदस्यहरूसँग आग्रह गर्दा कामको बोझले उत्पन्न हुने मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

आफूलाई मुड परिवर्तनले गर्दा असहज भएको कुराहरू परिवारका सदस्यहरूसँग साटासाट गर्ने, विदेशमा रहेका व्यक्तिसँग सामाजिक सञ्जालको माध्यमबाट अडियो वा भिडियो कुराकानी गर्दा पनि मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

तपाईँ  हामी हल्का पेट दुख्यो भने वा शरीरमा असहज हुने बित्तिकै दौडेर डक्टरकोमा  पुग्ने गर्दछौ तर मुड परिवर्तनको अवस्थाले मनमा गाह्रो बनाउँदा तपाई हामी केही पनि ख्याल गर्ने गर्दैनौँ ।

आफ्नो मुड परिवर्तन हुँदा मनको भावनालाई पहिचान गर्ने, त्यो भावना यथार्थमा तपाई हाम्रो नियन्त्रणमा छ छैन । यो सहयोगी हो होइन बिचार गर्ने । यदि असहयोगी र नियन्त्रणमा  छैन भने त्यसतर्फ सोचाई नलग्ने गर्दा पनि मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

कहिले काहीँ परिवारको सदस्यको र छर छिमेकको बोली व्यवहारको कारणले गर्दा पनि वैदेशिक रोजगारमा गएको व्यक्ति तथा तिनको परिवारका सदस्यहरूको  मुड परिवर्तन भइरहने गर्दछ । यस्तो बेलामा प्राय हुँदै नभएको लाञ्छनाका कुराहरूले झनै तनावमा पारेका हुन्छन् । जसबाट बच्नको लागि आफूले गरेको कार्य प्रति विश्वासिलो बनेको खण्डमा अचानक हुने मुड परिवर्तनलाई कम गर्न सकिन्छ । 

आफूमा भइरहेको मुड परिवर्तन स्वाभाविक हो होइन त्यसले कतिको मनमा असर पारेको छ भनेर ख्याल गर्न जरुरी हुन जान्छ । यसो गर्दा यदि असर गरेको खण्डमा सहयोग लिने मार्ग पहिचान हुने गर्दछ । जसले गर्दा मुड परिवर्तन लाई कम गर्न सकिन्छ । 

तपाईँ  हामी हल्का पेट दुख्यो भने वा शरीरमा असहज हुने बित्तिकै दौडेर डक्टरकोमा  पुग्ने गर्दछौ तर मुड परिवर्तनको अवस्थाले मनमा गाह्रो बनाउँदा तपाई हामी केही पनि ख्याल गर्ने गर्दैनौँ ।

जसरी शरीरको समस्या उपचार गरेपछि ठिक हुन्छ त्यस्तै मनको समस्या वा मुड परिवर्तनको समस्या पनि उपचार वा परामर्शले ठिक हुन्छ । मुड परिवर्तन पहिचान गर्ने मुख्य  आधार भनेको  निन्द्रा, दैनिक काम , आराम ,व्यवहार  सम्बन्ध  र सोचाइमा सन्तुलन नहुनु हो । 

यसरी मुड परिवर्तनको अवस्था लाई सही समयमा सम्बोधन गरिएन, ख्याल गरिएन  र यसलाई नजरअन्दाज गरी बेवास्ता गर्दै गएको खण्डमा यसले गम्भीर मनोसामाजिक समस्या निम्त्याउन सक्छ । अझै भन्नु पर्दा व्यक्तिलाई दिक्दारीपनको सिकार बनाउन सक्छ र आफ्नो जीवन अन्त्य गर्ने अवस्थासम्मको सोचाइहरू सृजना हुने वा विकसित गर्ने परिस्थिति निर्माण गरिदिन्छ  । 

मनोपरामर्शकर्ताको भूमिका       

मनोपरामर्शकर्ताहरुले परामर्शको सत्रको दौरानमा सेवाग्राही सित कुराकानी तथा छलफल गर्दा मुड परिवर्तनको बारेमा अनिवार्य खुलेर कुराकानी गर्न जरुरी देखिन्छ । यसो गर्दा सेवाग्राहीलाई अचानक हुने मनको हानी र जीवनको नोक्सानी कम गर्न मनोपरामर्शकर्ताहरुले प्रत्यक्ष रूपमा सहयोग पुर्याएर मद्दत गर्न सक्छन् ।

मुड परिवर्तनको अवस्था पहिचान गर्दै सेवाग्राहीको दैनिकी सामान्य बनाउन मनोपरामर्शकर्ताहरुले मन दुखेको वा मुड परिवर्तनको उपचार गर्ने परामर्शका सीप र विधिको प्रयोग गर्नु अनिवार्य हुन्छ । 

मनोपरामर्शकर्ताहरुले परामर्शको सत्रको दौरानमा सेवाग्राहीसँग माथि बताएको अनुसार काम गर्दा सेवाग्राहीको मनमा र सोचाइमा के चलिरहेको छ र त्यसले कस्तो असर पारेको छ भन्ने कुरा सहजै पहिचान गर्न सकिन्छ । 

जसले गर्दा परामर्शमार्फत सेवाग्राहीको आफ्नो मन र सोचाइलाई पहिचान गर्न सहयोगी वातावरण निर्माण गर्न सकिन्छ । परामर्शकर्ताले मनोपरामर्शमार्फत  सेवाग्राहीको मुड परिवर्तनले मनको स्वास्थ्यमा के कस्तो भएको छ त्यसप्रति बफादार हुन प्रोत्साहन गर्ने गरी छलफल गर्नु पर्छ ।

मुड परिवर्तनको अवस्था पहिचान गर्दै सेवाग्राहीको दैनिकी सामान्य बनाउन मनोपरामर्शकर्ताहरुले मन दुखेको वा मुड परिवर्तनको उपचार गर्ने परामर्शका सीप र विधिको प्रयोग गर्नु अनिवार्य हुन्छ । 

दुर्गाप्रसाद भट्टराई

दुर्गाप्रसाद भट्टराई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, फिल्ड अफिस ढल्केवर अन्तर्गत मधेस प्रदेश मनोसामाजिक सुपरभाइजर हुनुहुन्छ ।  उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया